मदनको मृत्यु र शोकको लहरको साक्षी बन्दाको क्षण – Nepal Press
सन्दर्भ: मदन-आश्रित स्मृति दिवस

मदनको मृत्यु र शोकको लहरको साक्षी बन्दाको क्षण

जेठ ३- मदन आश्रित स्मृति दिवस ! यस दिवसको अवसर पारेर उहाँहरूको मृत्यु कसरी रहस्यपूर्ण र षड्यन्त्रपूर्ण थियो भन्ने कुरामा प्रकाश पार्न केही तथ्य र विवरण प्रस्तुत गरिएको हो । त्यस मृत्युसित गाँसिएर कसरी मुलुकको राजनीति सम्बन्धित बन्न पुगेको थियो (र, छ) र अहिले पनि आन्दोलनमा र परिवर्तनको अभियानमा संलग्न रही भूमिका खेलिरहेकाहरूका लागि यो अत्यन्त अहम् विषय हो भनेर बुझ्न सहयोग पुगोस् भनेर यहाँ केही प्रासंगिक कुराहरू प्रस्तुत गरिएको छ ।

आफ्ना घनिष्ठ सहयोद्धा जीवराज ‘आश्रित’ सँगै मदन भण्डारीको मृत्युको खवरले नेकपा एमालेको पंक्तिमा मात्र होइन, आमजनतामा समेत शोकको लहर छायो । पार्टी पंक्तिमा कति शोक र चिन्ता छाएको थियो भन्ने कुरा अध्यक्ष मनमोहन अधिकारीले नारायणीको बगरमा मदनको शव खोजी गर्दै नभेटेपछि डाँको छोडेर रूनुभएको प्रसंगले मदनप्रति सम्मान र समर्पण भाव कति उत्कर्षमा थियो भन्ने कुरालाई दर्शाउँछ । वास्तवमा अध्यक्ष मनमोहनमा देखिएको र प्रकट भएको त्यो भाव मदनको मृत्युप्रति पार्टी पंक्तिको प्रतिनिधि भाव थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

दुर्घटनाको समाचार आएदेखि मुलुकभरिकै जनता चिन्तामा परेका थिए । गाडी नभेटिएको, मदन-आश्रितको कुनै सुइको-संकेत नमिलिरहेको, अझ पछि मदनका बारेमा केही थाहा नपाइरहेको, पछि अस्वाभाविक अवस्थामा उहाँको शव भेटिएको, उहाँको शव भरतपुर हुँदै काठमाडौंमा ल्याइपुर्‍याएपछि शोकाकुल जनसमुदायको उपस्थिति, ५ देखि ८ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा उहाँहरूको शवमा श्रद्धाञ्जली व्यक्त गर्दै उपस्थित लाखौं जनसमुदायले उहाँहरूप्रति व्यक्त गरेको सम्मान भाव र अर्पण गरिएको श्रद्धाञ्जली, झण्डै पाँच लाख जनताको अश्रुपुरित शोकाकुल उपस्थितिमा भएको शवयात्रा आदिले मदन-आश्रितप्रति जनताको अपार माया र सम्मानलाई प्रकट गरेको थियो ।

मदन भण्डारी र जीवराज आश्रितले आफूहरू जीवित रहुञ्जेल आफ्नो स्पष्ट विचार, उल्लेखनीय क्रियाशीलता, पार्टी र आन्दोलनप्रति आफ्नो निष्ठा र त्यसको निरन्तरतालाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनु भयो । सही विचारको ओजस्वी, त्यसमा रहेको दृढता र प्रखरता, प्रस्तुतिमा स्पष्टता, व्यवहारमा लचकता- उहाँहरूमा रहेका गुण वा विशेषताहरू थिए ।

कसैले कल्पनासम्म पनि गरेका थिएनन् होला, कसैको मृत्युमा यस किसिमको जनआन्दोलन पैदा हुनेछ, तर भयो त्यस्तै । शवयात्रामा शोकाकुल भएर उपस्थित लाखौं जनतासित शोकका लागि ऐक्यबद्धता जनाउँदै घरघरबाट असंख्य नागरिक निक्लिएका थिए शोकका लागि, तर अत्यन्त अभूतपूर्व स्थिति ! यस किसिमको स्वःस्फूर्त उपस्थिति जहाँ राजदरवारका प्रतिनिधि, सबै राजनीतिक पार्टी, विभिन्न संगठन-संस्थाहरूका नेता वा तिनका प्रतिनिधिहरूदेखि सामान्य श्रमजीवी नागरिकसम्मको अभूतपूर्व उपस्थिति ! यस्तो के कुराले सम्भव भयो, कसरी सम्भव भयो ? न भूतो, न भविष्यति ! वास्तवमा मदन साँच्चै आमनेपाली जनजनका हृदयमा बास बनाइसकेको एउटा विशिष्ट प्रतिभावान राजनेता बनिसक्नु भएको थियो ।

मदन-आश्रितको दुःखद निधनप्रति शोक मनाउन र श्रद्धाञ्जली व्यक्त गर्न नेकपा एमालेको केन्द्रीय कमिटीले पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गर्‍यो, पार्टी कार्यालयहरूमा राखिएका झण्डाहरू झुकाइए । तेह्रौं दिनमा पार्टीव्यापी र जनस्तरमा श्रद्धाञ्जली कार्यक्रमहरूको आयोजना गरिए । पचहत्तरै जिल्लाका सदरमुकाममा सभाहरू गरिए, विशेष किसिमका कलशहरू बनाएर दिवंगत नेताहरूको अस्तु ती सबै ठाउँहरूमा पुर्‍याइयो र देशभरिका नदीनालाहरू, सर्वोच्च ठाउँमा रहेको मनाङको तिलिचो तालदेखि देशभरिका तलाउ पोखरीहरूमा अस्तु लगेर सेलाउने काम गरियो । यी कार्यक्रमहरूमा केन्द्रीय तहका नेताहरूको सहभागिता रह्यो । सबै ठाउँमा आयोजना गरिएका ती कार्यक्रमहरूमा जनताको उल्लेखनीय सहभागिता रह्यो । सिंगो पार्टी पंक्तिद्वारा शोकलाई शक्तिमा बदल्ने अठोट व्यक्त गरियो ।

मदन भण्डारी र जीवराज आश्रितले आफूहरू जीवित रहुञ्जेल आफ्नो स्पष्ट विचार, उल्लेखनीय क्रियाशीलता, पार्टी र आन्दोलनप्रति आफ्नो निष्ठा र त्यसको निरन्तरतालाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनु भयो । सही विचारको ओजस्वी, त्यसमा रहेको दृढता र प्रखरता, प्रस्तुतिमा स्पष्टता, व्यवहारमा लचकता- उहाँहरूमा रहेका गुण वा विशेषताहरू थिए । उहाँहरूका यी विशेषता तथा विचार र योगदानहरूलाई चीर स्थायी बनाउन तत्काल बसेको केन्द्रीय कमिटीको बैठकले उहाँहरूका नाममा ‘मदन-आश्रित स्मृति प्रतिष्ठान’ गठन गर्ने निर्णय गर्‍यो । पार्टी केन्द्रले विशेष प्रकाशन ‘श्रद्धाञ्जली स्मारिका’ प्रकाशन गर्ने निर्णय गर्‍यो ।

अहिले पनि म सम्झन्छु- नेकपा एमालेले चलाएको त्यो आन्दोलनले मदन भण्डारी, नेपालको कम्युनिष्ट आन्दोलन, नेकपा एमाले, जनताको बहुदलीय जनवाद आदि विषयहरू देश विदेशमा विशेष चर्चाका विषय बने ।

श्रद्धाञ्जली कार्यक्रमहरू औपचारिक रूपमा सम्पन्न भएपछि रहस्यमय र षड्यन्त्र तरिकाले मदन-आश्रितको हत्या भएको विरोधमा देशव्यापी विरोधका कार्यक्रमहरू सञ्चालन गरिए । षड्यन्त्रपूर्ण हत्याको विरोध, त्यसको छानबिन तथा अपराधीमाथि कारबाहीको माग गर्दै सिंगो देश जुरूक्क उठेको थियो । आफ्ना प्रिय नेताप्रतिको अगाढ श्रद्धा र सम्मान तथा न्यायिक छानबिनका लागि उठाइएको आवाजलाई कांग्रेसको गिरिजा सरकारले भीषण दमन गरेर दबाउने प्रयत्न गर्‍यो, तर सम्भव भएन, हुने कुरै थिएन । पछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज ‘अनिल’को एकल आयोग बनाएर छानबिनको कामलाई अघि बढाउने निर्णय गर्न बाध्य भयो ।

पछि त्यो आयोगले तथ्यविपरीत वा तथ्यलाई बिलकुल बेवास्ता गरी बुझाएको प्रतिवेदनका कारण एमाले फेरि आन्दोलनमा उत्रन बाध्य बन्यो । सिंगै मुलुक आन्दोलनमय बन्यो, एमालेले अगुवाइ गरेको आन्दोलनमा राज्यको गैरजिम्मेवार र दमनकारी रवैयाका कारण ठूलो धनजनको क्षति भयो । आन्दोलनका क्रममा पुलिसको गोलीबाट नागरिकहरू मारिए । नेपाली कांग्रेस, त्यसमा पनि त्यसका सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दम्भ र अधिनायकत्वादी-सर्वसत्तावादी चिन्तन, आचरण र शैलीका कारण त्यो मुठभेडको स्थिति बनेको थियो ।

पछि आन्दोलनले ठूलो क्षति पुर्‍याएपछि मदन-आश्रितको रहस्यमय हत्याको न्यायिक छानबिन आयोग बनाउन गिरिजा नेतृत्वको सरकार तयार भयो । रहस्यमय तरिकाले भएको हत्याको तथ्यसत्य पत्ता लगाउन अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्नेलगायतका आन्दोलनसित गाँसिएका विभिन्न मागहरू पूरा गर्न सरकार बाध्य भएको थियो । यसरी आफ्ना प्रिय तथा आदरणीय नेताको रहस्यमय तथा दुःखद मृत्युको परिणाम नेकपा एमालेको पंक्ति सशक्त आन्दोलनमा होमिएको थियो, आफ्ना जायज र न्यायोचित मागहरू पूरा गराउने कुरामा सफल बन्यो र साँचो अर्थमा शोकलाई एक हदसम्म शक्तिमा बदल्न सफल पनि बन्यो । अहिले पनि म सम्झन्छु- नेकपा एमालेले चलाएको त्यो आन्दोलनले मदन भण्डारी, नेपालको कम्युनिष्ट आन्दोलन, नेकपा एमाले, जनताको बहुदलीय जनवाद आदि विषयहरू देश विदेशमा विशेष चर्चाका विषय बने ।

मदन आफू जीवित हुँदा एउटा सशक्त विचारका अगुवा र प्रवक्ता बन्नुभो, त्यही विचारका आधारमा सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन र गति दिने प्रमुख बाहक बन्नुभो । समाज, राज्य र स्वयम् कम्युनिष्ट आन्दोलनलाई समेत लोकतान्त्रीकरण गर्नैपर्ने अपरिहार्यताको साहसपूर्ण र सगौरव उद्घोष गर्नुभयो ।

मदन-आश्रितको मृत्युपछि शोकलाई शक्तिमा बदल्ने अठोट देशव्यापी रूपमा गरियो । यो संकल्प एउटा अभियानका रूपमा चल्यो । यो अभियान आफैंमा एमालेको संगठित शक्ति परिचालित हुने एउटा महत्वपूर्ण अवसर पनि बन्यो । मदन आफू जीवित हुँदा एउटा सशक्त विचारका अगुवा र प्रवक्ता बन्नुभो, त्यही विचारका आधारमा सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन र गति दिने प्रमुख बाहक बन्नुभो । समाज, राज्य र स्वयम् कम्युनिष्ट आन्दोलनलाई समेत लोकतान्त्रीकरण गर्नैपर्ने अपरिहार्यताको साहसपूर्ण र सगौरव उद्घोष गर्नुभयो । त्यसै आधारमा आन्दोलनमा नयाँ साहस, शक्ति र ऊर्जा प्रदान गर्नुभएको थियो भने मृत्युपछि शोकाकुल पंक्तिलाई थप शक्तिशाली बन्ने प्रेरणा प्रदान गर्नुभएको थियो ।

मदन-आश्रितको असामयिक निधनमा सिंगो मुलुकले एउटै स्वरमा उहाँहरूप्रति आदर, सम्मान र श्रद्धाञ्जली व्यक्त गरेको थियो । तीमध्ये केही श्रद्धाञ्जली तथा शोक वक्तव्यलाई जस्ताको तस्तै साभार गरिएको छ । यिनलाई प्रतिनिधि वक्तव्यको रूपमा यहाँ साभार गरिएको हो । महत्वपूर्ण भनाइहरू विशेष अर्थपूर्ण र महत्वपूर्ण थिए भन्ने लाग्छ, मलाई अहिले पनि ।

१) हाम्रो पार्टीले आफ्नो प्यारो र योग्य नेता, देशको कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनले एउटा कुशल चिन्तक र प्रजातान्त्रिक योद्धा एवं राष्ट्रले महान देशभक्त सपूत गुमाएको छ ।

– केन्द्रीय कमिटी, नेकपा एमाले
२०५०/२/५

२) नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदनकुमार भण्डारीको मोटर दुर्घटनामा परी असामयिक निधन भएकोमा ……..दुःख लागेको …. उहाँको निधनमा देशले एक समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञलाई गुमाएको छ ……. । ….. समवेदना ……. !

– तात्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेव
२०५०/२/१३

३) स्व. भण्डारी एक सच्चा देशभक्त तथा कर्मठ राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । …….. प्रजातन्त्रको पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा श्री भण्डारीले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । ……. राष्ट्रले एक सशक्त युवा राजनीतिक प्रतिभा र मैले एक प्रजातन्त्रवादी मित्रबाट सदाका लागि विमुख हुनुपरेको छ । …….. ।

– गिरिजाप्रसाद कोइराला (प्रधानमन्त्री)
२०५०/२/५

४) प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको देहावसानबाट एक खुलस्त देशभक्त र विधायिकाले एक प्रखर सांसद गुमाएको छ । ……… यसबाट नेपालको राजनैतिक क्षति र संसदमा आउने रिक्तता फेरि कहिल्यै पनि पूर्ति हुने छैन ।

– दमननाथ ढुंगाना (सभामुख, प्रतिनिधिसभा)
२०५०/२/५

५) मदन भण्डारीको निधनले ….. मुख्य प्रतिपक्ष एमालेलाई मात्र होइन, राष्ट्रले दिशाबोध गरेको प्रजातान्त्रिक राजनीतिको प्रगतिमाथि नै ठूलो धक्का पुर्‍याएको छ । उहाँको निधनबाट प्रजातान्त्रिक प्रक्रियालाई अग्रगामी दिशामा गतिवान तुल्याउने प्रयासमा अपूरणीय क्षति पुगेको छ । यो यथार्थमा राष्ट्रिय राजनीतिको निम्ति ठूलो दुर्घटना सावित भएको छ । प्रजातन्त्रको पुनःस्थापनाको संघर्ष, जनआन्दोलन र प्रजातन्त्रको संस्थागत विकासक्रममा उहाँको योगदान नेपालको इतिहासले सम्मानपूर्वक याद गर्नेछ । …… उहाँको दुःखद निधनबाट राष्ट्रले एक सशक्त नेता र मैले एक ठूला सहयोगी मित्र गुमाएको छु । …… म प्रखर मित्रको सहयोगबाट वञ्चित भएको छु ।

– गणेशमान सिंह (सर्वोच्च नेता, नेपाली कांग्रेस)
२०५०/२/५

६) मदन भण्डारी एक महान मान्छे हुनुहुन्थ्यो । राजनीतिक नेतामा हुनुपर्ने सबै गुण उहाँमा थियो । भर्खरै कलकत्तामा भएको कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय भेलामा उहाँले कम्युनिष्टहरूले अपनाउनु पर्ने उदार नीतिका बारेमा र विश्व समाजमा कम्युनिजम कसरी फस्टाउन सक्छ भन्नेबारे दिनुभएको विचारोत्तेजक भाषणलाई विश्वकै मार्क्सवादीहरूले ध्यान दिएर सुनेका थिए । यस्तो व्यक्तित्वलाई गुमाउनुपर्दा मलाई धेरै दुःख लागेको छ । भण्डारीको मृत्यु यो राष्ट्रकै निम्ति ठूलो र अपूरणीय क्षति हो ।

– कृष्णप्रसाद भट्टराई (अध्यक्ष, नेपाली कांग्रेस)
२०५०/२/५

७) …….नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष तथा समसामयिक राष्ट्रिय राजनीतिका युवा पुस्ताका प्रभावशाली नेता श्री भण्डारी देशभक्त, उदार, प्रखर वक्ता र बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । ….. साम्यवादी राजनीतिलाई संसदीय व्यवस्थाअन्तर्गत अहिंसात्मक र प्रजातान्त्रिक ढंगले विकसित गराउँदै लग्नुपर्ने विचार व्यक्त गरी नेपालको साम्यवादी आन्दोलनलाई उहाँले दिनुभएको मार्गदर्शन अत्यन्त प्रशंसनीय र समसामयिक छ ।

– नेपाली कांग्रेस (केन्द्रीय कार्यालय, काठमाडौं)
२०५०/२/५

८) क. मदन भण्डारीको आकस्मिक दुर्घटनामा भएको निधनबाट नेपालको राष्ट्रियता र वामपन्थी आन्दोलनको ठूलो क्षति भएको छ । …..उहाँ कर्मठ, कर्तव्यनिष्ठ, लगनशील कार्यकर्ता एवम् स्पष्टवादी राजनेता हुनुहुन्थ्यो । क. भण्डारीको सबल एवं सक्षम नेतृत्वको अभाव नेकपा एमालेलाई खट्कने त छँदैछ, राष्ट्रियता, जनतन्त्र र वामपन्थी आदर्श स्थापनाका लागि चल्दै आएको आन्दोलनमा उहाँको अनुपस्थितिको रिक्तताबोध नेपालको राजनीतिक जगतले लामो समयसम्म गर्नेछ …… ।

– डा. बाबुराम भट्टराई (संयोजक, संयुक्त जनमोर्चा, के.त.स.)
२०५०/२/७

९) मदन भण्डारी तथा जीवराज आश्रित दुई जनाको दुःखद निधनमा गम्भीर दुःख व्यक्त गर्दछु । उहाँहरूको यो दुःखद दुर्घटनाबारे उठिरहेका कैयौं प्रश्न र शंकाहरूबाट उहाँ दुवैको मृत्यु रहस्यमय हुन गएको छ । यो विषयमा पनि निष्पक्ष, उच्चस्तरीय छानबिन र अनुसन्धानको लागि हाम्रो पार्टीले जोड दिन्छ ।

– मोहनविक्रम सिंह (नेकपा मसाल)
२०५०/२/६

१०) श्री भण्डारी अत्यन्त प्रतिभाशाली, कुशल राजनीतिज्ञ र प्रखर वक्ता हुनुहुन्थ्यो । नेपाल आमाका सच्चा सपूत र आफ्ना जनताको सच्चा सेवक, प्रजातन्त्रका हिमायती र आफूले अंगालेको सिद्धान्तप्रति निष्ठावान श्री भण्डारीको निधनबाट सारा राष्ट्र शोकाकुल छ । देशले एक महान राष्ट्रप्रेमी गुमायो । यो क्षति एमालेको निम्ति मात्र नभएर सम्पूर्ण नेपाली जनताको क्षति हो । र, यो अपूरणीय क्षति हो । कम्युनिष्ट आन्दोलनलाई एक नयाँ मोड दिन संलग्न भण्डारीको निधनबाट समग्र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो आघात पुगेको छ । यसवेला हामीलाई श्री भण्डारी जस्ता व्यक्तित्वको खाँचो छ । …… भण्डारी र आश्रित जस्ता व्यक्तिहरू कुनै पनि देशमा कम संख्यामा पैदा हुने यस्ता व्यक्तिहरूको नाम इतिहासको पानामा स्वर्णाक्षरले लेखिन्छ । …… यी दुवै महान व्यक्तिलाई नेपाली जनताले स्मरण गरिरहनेछन् ।

– डा. डिल्लीरमण रेग्मी (अध्यक्ष, नेपाली राष्ट्रिय कांग्रेस )
२०५०/२/६

यो प्रस्तुति मदन-आश्रित मृत्युमा शोकको लहरको विवरणमात्र होइन, नेपालको राजनीतिभित्रको चुनौतीपूर्ण परिदृश्यको विवरण पनि हो । नेपाली समाज र नेपालको राजनीतिलाई परिवर्तन गर्ने अभियानमा जुटेकाहरू र यसमा रूचि राख्नेहरूका लागि समेत यस किसिमका घटना प्रसंगहरूले धेरै कुरालाई बुझ्न सघाउ पुर्‍याउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *