मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: घटाइयो सवारीसाधन कर्जाको जोखिमभार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ । यसले सवारीसाधन कर्जामा सहज हुने बताइएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था पनि गरेको छ ।
समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्था पनि घटाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ लाई घटाएर १.२० प्रतिशत बनाइएको छ ।
घरजग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपात कर चुक्ता प्रमाण पेश गरेका आधारमा ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिएको छ । चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताइएको छ ।