सदनमा सत्तारूढ दलले असंसदीय व्यवहार देखाएको नेविसंघको आरोप
काठमाडौं । नेविसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको छ ।
हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेपछि नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै बिहीबार संसद्मा सत्तारुढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको बताएका हुन् ।
संसद्मा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनु भएका कांग्रेस उपसभापति धनराज गुरुङले संसदभित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वाभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ ।
कांग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टीस्टेटसँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।