एमाले बाँकेको अध्यक्षमा तीन जनाको उम्मेदवारी, आइतबार मतदान
रुपन्देही । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार सुरु भएको नवौं अधिवेशनअन्तर्गत शनिबार साँझ उम्मेदवारी दर्ता भएको हो ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, निवर्तमान उपाध्यक्ष डिल्ली बीसीले उम्मेदवारी दिएका छन् । गुरुङ नेकपाकालमा अध्यक्ष बनेका थिए ।
स्थानीय नेताहरुका अनुसार अझै सहमतिको प्रयास जारी रहेको र अन्तिम समयमा निर्वाचनमा भने कक्षपति फिर्ता भएर गुरुङ र बीसीबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।
त्यसैगरी उपाध्यक्षमा रत्न खत्री, रवीन्द्र लम्साल, सुमन मल्ल, इन्द्रबहादुर थापाको उम्मेदवारी परेको छ । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालले उम्मेदवारी दिएका छन् । उपसचिवमा भने ९ जनाको उम्मेदवारी परेको छ ।
आइतबार राति १० बजेसम्म उम्मेदवारको दाबी विरोध र आइतबार बिहान ९ बजेदेखि निर्वाचन गर्ने तयारी रहेको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिए । उम्मेदवारी परेकाहरुबाटै नेतृत्वलाई सर्वसम्मत बनाउन नेताहरु लागे पनि आकांक्षीहरु धेरै भएकाले त्यो सम्भावना कम रहेको छ ।
४५८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ ।