परिवार तथा आफन्त सम्पर्कमा नआएपछि मृतकको शव अस्पतालमै – Nepal Press

परिवार तथा आफन्त सम्पर्कमा नआएपछि मृतकको शव अस्पतालमै

रुपन्देही । उपचारमा क्रममा बिरामीको मृत्यु भएको एक साताभन्दा बढी बित्दासमेत परिवार तथा आफन्त सम्पर्कमा नआएपछि अस्पतालमा शव रहेको छ । शव अस्पतालमै भएपछि सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले मृतकको आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गत २०८० वैशाख २६ गते राती ८ः२७ बजे सिद्धार्थनगर नगरपालिका–९ का ४२ वर्षीय विक्रम पौडेल उपाध्यलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइएको निर्देशक डा. अमित चर्तुेवेदीले बताए ।

‘बिरामीलाई लिएर आउनुभएकी अमृता पौडेल केही समयपछि घरबाट केही सामान लिएर आउँछु भन्नुभयो तर, त्यसपछि फर्कनुभएन’, उनले भने ।

डा. चर्तुवेदीका अनुसार अस्पतालमा आएका बिरामीमा स्वासप्रस्वासको समस्या र शरीरमा अक्सिजनको कमी रहेको थियो ।

अमृताले बिरामीलाई तीन महिनादेखि ज्वरो आएको बताएको डा. चर्तुवेदीले बताए ।

उनले भने, ‘बिरामी आफ्नै घरमा कुर्सीबाट लडेर घाइते भएपछि उनको टाउकोमा रक्तश्राव भएको थियो । मधुमेह, टाइफाइड, छातीमा निमोनिया रहेको पाइएपछि बिरामीलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।’

गम्भीर बिरामी परेका विक्रमको उपचारको क्रममा वैशाख २८ गते बिहान २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. चतुवेर्दीले अमृता पौडेलले बिरामी आफ्नो दाइ भएको बताएको जानकारी दिए । अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले मृतकको आफन्त सम्पर्कमा नआउँदा शव अस्पतालमै रहेको र शव जिम्मामा लगाउन नसकिएको बताए ।

उनले भने, ‘अस्पतालमा आउने बिरामीलाई उपचार गर्नु हाम्रो दायित्व हो । उपचारका क्रममा बिरामीको निधन भयो । तर, हालसम्म पनि बिरामीसँगै आएकी अन्दाजी ५५ वर्षीय अमृता पौडेल सम्पर्कमा नआउँदा मृतकको शव बुझाउन सकेका छैनौ । अमृताज्यूको मोबाइल नम्बरमा फोन गर्दा फोन उठेको छैन ।’

प्रबन्ध निर्देशक पौडेलले पवित्रालाई फेला पार्नुहुने व्यक्तिलाई टोल फ्रि नम्बर १६६०७१५२००६ वा ०७१–५७६३७५, ९७४६४०२४९० सम्पर्क गर्न आग्रह गरे । अस्पतालले बिरामीको परिवार तथा आफन्तजनलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर