एमाले सुनसरी अधिवेशन : खेमराज र निलमको प्यानल भिडन्त, २८१ जनाको मनोनयन दर्ता – Nepal Press

एमाले सुनसरी अधिवेशन : खेमराज र निलमको प्यानल भिडन्त, २८१ जनाको मनोनयन दर्ता

विराटनगर । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा २८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत रूपमा नेतृत्व छनौटमा समस्या भएपछि नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो । चुनावी प्रक्रियामा विभिन्न पदका लागि २८१ जनाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षका लागि २ जनाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत गोविन्द मिश्राका अनुसार अध्यक्षका पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेलले मनोनयन दर्ता गराएका छन् ।

यस्तै उपाध्यक्षमा नन्द बस्नेत र परशुराम यादवले मनोनयन दर्ता गराएका छन् । सचिवमा पनि दुई जनाको मात्रै मनोनयन परेको छ । सचिवमा राम कोइराला र पदम लिम्बुले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले दुई दिन अघि उद्घाटन गरेको अधिवेशनमा सर्व सम्मत नेतृत्व छान्ने प्रयास भएको थियो । सर्वसम्मत नेतृत्व छान्न नसके प्रतिस्पर्धाका आधारमा नयाँ नेतृत्व छान्न सुझाव दिएका थिए ।

उनीलगायत थिए नेताहरूले प्यानल बनाएर र गुट बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिए पनि सुनसरीको जिल्ला अधिवेशनमा प्यानल भिडन्त हुने गरी मनोनयन दर्ता भएको छ ।

निलम प्यानलको उपाध्यक्षमा परशुराम र सचिवमा राम कोइराला छन् । खेमराज प्यानलमा भने उपाध्यक्षमा नन्द बस्नेत र सचिवमा पदम लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

उप सचिवमा भने ६ जनाको मनोनयन दर्ता भएको छ । दुई जना उप सचिव पदका लागि इन्द्रकला राई, कमला थापा मगर,याम सुब्बा, कृष्णप्रसाद भट्टराई, भीम पोख्रेल र देवानन्द मेहताको मनोनयन दर्ता भएको छ । लेखा आयोगमा नौ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भए पनि मतदानको समय भने अझै तोकिएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर