बागमतीको सुरक्षा समितिको बैठक आजबाट
हेटौँडा । बागमती प्रदेशको सुरक्षा समन्वय समितिको बैठक आजबाट हेटौँडामा हुने भएको छ । बैठकमा सहभागी हुन चार वटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडामा भेला भएका छन् ।
आज दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकको उद्घाटन गर्न गृहमन्त्री रवि लामिछाने आउने भनिएको भए पनि कार्यव्यस्तताको कारण उनी बुधबारमात्र हेटौँडामा आउने भएका छन् ।
बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदैछन् ।
जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए ।
बैठकमा आज मुख्यमन्त्री सहित आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ, गृह सचिव एक नारायण अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ ।