लुम्बिनीमा काम गर्न धेरै बाधा रहेछन्, तर जति सक्छु मेहनत गर्छु: डा.ल्हारक्याल लामा – Nepal Press
नेपाल टक

लुम्बिनीमा काम गर्न धेरै बाधा रहेछन्, तर जति सक्छु मेहनत गर्छु: डा.ल्हारक्याल लामा

रुपन्देही । पूर्वराज्यमन्त्री, दुई पटक संविधानसभा सदस्य बनेका डा. ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा प्रस्तावितदेखि नियुक्ति र त्यसपछि उनले गरेका केही कामले चर्चामा रहे ।

गत साउनमा जिम्मेवारीमा आएका लामाले थालेका केही महत्वपूर्ण काममा पनि ब्रेक लागेको छ । आर्थिक रुपमा सम्पन्न र नेटवर्कका हिसाबले धेरै बौद्ध सम्बद्ध समुदायसँग पहुँचमा रहेका उनले लुम्बिनी विकास कोष रोज्नुको कारण, आठ महिनामा भएका उपलब्धि, लुम्बिनी गुरुयोजना कार्यान्वयनका तगारो र अबका योजनाका विषयमा उपाध्यक्ष डा.ल्हारक्याल लामासँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी ।

– लुम्बिनी विकास कोष किन रोज्नुभयो ?

म बौद्ध समुदायको मान्छे हुँ । यसका संस्थापक गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो । म यहाँ नआउँदा, यहाँको जिम्मेवारीमा नरहँदा पनि यहाँको विकासको लागि ध्यान दिइरहन्थें, योजना बनाइरहन्थें । मलाई काम गर्ने धेरै क्षेत्र थिए, राजनीतिमा पनि खुला थिएँ, तर मेलै विश्व शान्तिको केन्द्र रहेको लुम्बिनीलाई बनाउनुपर्छ, जति सकिन्छ गर्नुपर्छ भन्ने अठोट लिएर लुम्बिनी रोजेको हुँ । विश्व समुदायमा चिनाउन त्यहीअनुसारको अभियान थालेको हुँ ।

– तपाईंले सोचेको लुम्बिनी र वास्तविक लुम्बिनीमा के फरक पाउनुभयो ?

लुम्बिनीमा काम गर्न धेरै सहज छ, धेरै गर्न सकिन्छ भन्ने लागेको थियो, तर धेरै बाधा रहेछन् । धेरै महत्वपूर्ण काम गर्न थाले पनि रोक्न खोजियो, भाँजो हाल्न खोजियो, किन यसो गरिन्छ ? मैले बुझ्न सकेको छैन, तर जति दिन यहाँ बस्छु, जति सक्छु लुम्बिनीका लागि बनाउन मेहनत गर्छु । मलाई अरु कुनै चाहना छैन ।

– तपाईंको नियुक्तिदेखि केही मुख्य योजनासम्ममा किन विवाद आयो ?

हो, म यहाँ आउने बेलादेखि नै केही व्यक्तिको असन्तुष्टि आयो, तर त्यो सबै चिर्न सकियो भन्ने लाग्छ । म केही योजनासहित यहाँ आएको हुँ । केही योजना पनि अगाडि बढाएँ, तर अनावश्यक रुपमा विवाद बनाउन खोजियो । जहाँसम्म रामग्रामको विषय छ, अघिल्लो उपाध्यक्षको पालामा सुरु भएको थियो ।

मैले काममात्रै अगाडि बढाएको थिएँ, तर त्यो गलत थिएन । खै किन हो, विरोध भयो, लुम्बिनीभित्रका पनि केही संरचनाहरु बनाउन थालियो, त्यसमा पनि अनावश्यक लम्ब्याउन खोजियो, कपिलवस्तुमा पनि कति धेरै बजेटका योजना आइरहेका थिए र छन्, तर यस्तो भाँजो हाल्न थालेपछि कसरी अगाडि बढाउने ? कसरी संयोजन गर्ने भन्ने समस्या पो आयो !

– बृहत्तर लुम्बिनीमा कपिलवस्तु र नवलपरासी नसमेटिएको गुनासो किन आउँछ ?

हिजो के भयो त्यो समीक्षाको विषय हो । अहिले त्यसमा कुनै समस्या छैन । हामीले लुम्बिनी गुरुयोजनासँगै कपिलवस्तु र नवलपरासीको विकासका लागि योजना बनाएका छौं । त्यहाँ पनि धेरै काम गर्न बाँकी छ । केही अहिले थालिएका छन् । अब यहाँको गुरुयोजना सक्नेमात्रै होइन, ती दुई जिल्लाको योजनासमेत समेटेर बृहत्तर लुम्बिनी गुरुयोजनालाई अघि बढाउने हो । त्यो योजनामा समेटिएको छ ।

– तपाईंको ८ महिनाको मुख्य उपलब्धि के के हुन् ?

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ । आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गुरुयोजनामा विनियोजित सरकारी बजेटविना करोडौंको काम गर्न सकिएको छ । अशोक स्तम्भ नजिकबाट दीप प्रज्ज्वलन क्षेत्र सारिएको, ७ पटकभन्दा बढी अन्तर्राष्ट्रिय स्तरको पाठ परायण र पूजा सम्पन्न गरिएको, राष्ट्रसंघका महासचिवका आगमनबाट संसारभरका धार्मिक पर्यटकको ध्यान लुम्बिनीमा खिच्न सकिएको र पछिल्लो समय आन्तरिक पर्यटकबाटै करोडौंको आम्दानी गरेर सरकारी बजेट खर्च नगरी लुम्बिनी परिसरमा भौतिक निर्माण गर्न सकिएको छ । देशभित्र र देश बाहिर रहेका साथीभाइसँग सहयोग मागेर पनि धेरै काम गर्न सकिँदो रहेछ, संसारभरका दातृ निकायबाट पनि सहयोगको आश्वासन पाएको छु, छिट्टै त्यसले मूर्त रुप लिनेछ ।

– बुद्ध जयन्तीको तयारी के कसरी हुँदैछ ?

लुम्बिनीसहित कपिलवस्तु, नवलपरासीमा तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाउने हो । स्थानीयलाई अपनत्व बनाउने हो । प्रधानमन्त्रीसहित विभिन्न देशका उच्चपदस्थ कूटनीतिक क्षेत्रका व्यक्तिहरुलाई यहाँ ल्याउने कार्यक्रम तय भएको छ । यसकारणले पनि यो दिवस विशेष रहन्छ, तर सरकारले अनावश्यक रुपमा बजेट कटौती गरेर निकै समस्या भयो । आउने बजेटमा त्यसो नगर्न ग्यारेन्टीसहितको व्यवस्था गराएका छौं ।

– लुम्बिनी गुरुयोजना कहिले पूरा हुन्छ ?

यही अवस्थामा तत्काल गुरुयोजना पूरा हुन सम्भव छैन । यसअघिका अर्थमन्त्रीले यसलाई ध्यानै नदिएको देखियो । यहाँको विकासका लागि बजेट व्यवस्थापन गर्न त्यसअघिका अर्थमन्त्री विष्णु पौडेलले बजेट सुनिश्चितता गरिदिनु भएको थियो । उहाँलाई हार्दिक सम्मान छ, तर त्यसपछि त्यसको निरन्तरता नभएर समस्या भयो । राष्ट्रिय गौरवको आयोजनालाई यसरी अलपत्र पारेर त यो तत्काल पूरा हुने सम्भावना देखिँदैन । २ वर्ष अगाडि नै गुरुयोजनाअन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सनबाहेकका काम सम्पन्न भएको भनिए पनि धेरै योजना बहुवर्षीय ठेक्का लागि सकेकाले निर्माणाधीन रहेको छ ।

बजेट सुनिश्चितताको अभावमा यसअघि अलपत्र परेका योजनाहरु म आएपछि सुचारु हुने चरणमा छन् । यसअघिको नेतृत्वले योजना कार्यान्वयनमा गरेको लापरबाहीलाई सुधार गर्ने काम भइरहेको छ । बजेटको सुनिश्चितता भए १ वर्षमा गुरुयोजनाको काम सकिन्छ, तर माथि बस्नेहरुको चिन्तन यसमा छैन । आउने बजेटमा यसको लागि हामी निरन्तर लागिरहेका छौं, मन्त्रालय धाएका छौं । गुरुयोजना बनेको ४६ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरिका बौद्धमार्गीहरुका लागि लज्जाको विषय हो ।

राज्यले बजेट सुनिश्चित गर्न गरेको विलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा पनि भएको विलम्बका कारण गुरुयोजना सम्पन्न नभएको हो । बजेट विनियोजन भएर ठेक्का लागेको काममा पनि ढिलासुस्तीले अस्तब्यस्त जस्तो थियो, तर मैले ठेकेदार कम्पनी र सम्बन्धित सरोकारवालालाई विशेष आग्रह गरेर काममा तीब्रता दिएको छु ।

– गुरुयोजना कार्यान्वयनमा किन ढिलाइ भयो ? के हो आन्तरिक समस्या ?

म आउँदा गुरुयोजनाअन्तर्गतका ठेक्का लागेका योजनाहरुको १०-१२ प्रतिशतमात्रै काम भएको थियो, जसमा ठेकेदारका कर्मचारी, इन्जिनियर र सरकारी कर्मचारीलाई हारगुहार गरेर ८०-९० प्रतिशत सम्पन्न गराउन सकेको छु । सरसफाइ र डुबानलाई विशेष ध्यान पुर्‍याइएको छ । ७-८ अर्बको बजेटमा ३ देखि ४ वर्षमा गुरुयोजनाअन्तर्गतका सबै काम सक्नेगरी योजना बनाइएको छ । फोहर व्यवस्थापन र नदी डाइभर्सनको ठेक्काको प्रक्रियामा गइसकेको छ । ५ वटा भवन र पूर्ववत बनेका तर गुरुयोजनाको मापदण्ड नपुगेका केही योजनाका कामहरु गर्न बाँकी छ ।

गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणको निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुइटा विशेष डिजाइन भएको पानी ट्याङ्की तथा करिब २५ किलोमिटर क्षेत्रमा जीआई पाइपसहितको पानी वितरण प्रणाली सम्पन्न भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीलगायत भगवान बुद्धसँग सम्बन्धित क्षेत्रमा आवतजावत गर्न पाँच वटा विद्युतीय बस, १४ वटा विद्युतीय ट्याक्सी लुम्बिनीमा आए पनि कानूनी उल्झनका कारण सञ्चालन हुन सकेका छैनन् । लुम्बिनीमा ३५० किलोवाट क्षमताको सोलार पावरप्लान्ट जडान भएको छ । यस्तै पाँच हजार जना अटाउने अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन तथा ध्यान केन्द्र पनि सञ्चालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर