सहकारीसम्बन्धी संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ । बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।
यदी सहमति जुट्न नसके कार्यादेश टुंगो लाग्ने छैन । कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत हुन नसक्दा सहमति जुट्न सकेको छैन ।
सत्तापक्ष र कांग्रेस दुवै आफ्नो अडानबाट ब्याक हुने मुडमा छैनन् । बैठकमा सत्तापक्ष अझै सहमतिको लागि लचिलो नभएको कांग्रेस निकट स्रोतले बतायो ।