विश्वप्रकाशकाे आराेप- भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराधको प्रवृत्ति भयो (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रस्तुत हुन थालेको बताएका छन् ।
आइतबार कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताए । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए ।
उनले ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवि, नागरिकको चिन्ताको बारेमा नभइ सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको बताए ।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सहकारीबन्धु गठबन्धन भएको बताए ।
‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति प्रश्तुत हुन थालेको छ । सम्माननीय पूर्वप्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा बोकेर देखिनुभएको छ । तपाईहरु सबैले सुनिरहनुभएको छ, कमरेड केपी ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न भनेको देश, श्रमजीवि, नागरिकको चिन्ताको बारेमा छैन’, उनले भने, ‘उहाँलाई केवल सहकारी प्रकरणमा गृहमन्त्रीजीको रक्षा कसरी गर्ने । एकातर्फ पूर्वप्रधानमन्त्रीको त्यो भुमिका देखिन्छ भने अर्कोतर्फ गृहमन्त्रीको भुमिका देखिन्छ की एमालेको अध्यक्षलाई गिरिबन्धु प्रकरणमा जोगाउन मज्जाले साथ दिएर जाने । एउटाले सहकारीमा ड्याम्मै काँध हाल्ने र अर्कोले गिरीबन्धुमा काँध हाल्ने । त्यसैले आज हामीले नामाकरण गरेका छौँ । यो गठबन्धनको एउटाले सहकारी र गिरिबन्धु भन्ने । मिलाएर यो सहकारीबन्धु गठबन्धन हो ।’
महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालयले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै गर्नु नपर्ने भनेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय रास्वापको हो ? भन्दै प्रश्नसमेत गरे । उनले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री सहकारी ठगीमा दोषी हुनुहुन्न र दुई वटा राहदानी भए पनि मुद्दा चलाउनु नहुने भनेर बोलिरहेको भन्दै आपत्ति जनाए ।
ढाकछोप त तिमीहरूले गरेका रैछौ । घडी चोर साँसद रहेछन् । रातो पासपोर्ट काण्डवाला, बाख्रा चोर, सूचना बेच्ने देश द्रोही बल्ल थाहा पाईयो ।