बजेट आउनुअघि किन बढ्छ विद्युतीय गाडीको आयात ? कर छल्न ढाँटिन्छ किलोवाट – Nepal Press

बजेट आउनुअघि किन बढ्छ विद्युतीय गाडीको आयात ? कर छल्न ढाँटिन्छ किलोवाट

काठमाडौं । नयाँ बजेट अन्तिम चरणमा छ । नयाँ बजेट आउनुभन्दा केही समय पहिले नेपालमा विद्युतीय गाडी आयात एक्कासि वृद्धि हुने गरेको छ । यस वर्ष पनि यसले निरन्तरता पाएको छ ।

नेपालमा विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुले धेरै किलोवाटलाई कम किलोवाटको भनेर आयात गर्ने गरेको उजुरी पनि परेका छन् । किलोवाट छली गरेर गाडी आयात गर्ने गरेको उजुरी बढेपछि भन्सार विभागले विषयमा अध्ययन थालेको छ ।

नेपालमा किलोवाटअनुसार विद्युतीय गाडीको भन्सारदर फरक फरक छ । कम किलोवाटको गाडीको कम र धेरै किलोवाटको गाडीको धेरै भन्सार शुल्क लाग्ने व्यवस्था छ । त्यसैले कम भन्सार शुल्क तिर्न कम किलोवाटको काजगपत्र देखाएर गाडी आयात भइरहेको बताइन्छ ।

भन्सार स्रोतका अनुसार पहिले १५० किलोवाट भनेर आयात भइरहेको एउटा कम्पनीको त्यही मोडलको गाडी अहिले १०० किलोवाटभन्दा कम क्षमताको भनेर आयात भइरहेको छ । कर घटाउन नेपालमा प्रायः सबै विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुले किलोवाट घटाइरहेका छन् । १०० किलोवाटभन्दा कम भएको गाडीको २० प्रतिशत मूल्य घटाउन सकिने भएकाले आयातकर्ताहरुले कर छलिरहेका छन् ।

‘नेपालमा र विदेशमा भएका एउटै गाडीको किलोवाट क्षमता पनि फरक फरक रहेको देखिन्छ । यसले पनि क्षमता कम देखाएर कर छलिररहेको प्रस्ट हुन्छ’, स्रोतले भन्यो ।

भन्सार विभागका अनुसार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्ने व्यवस्था छ । त्यसैले धेरै किलोवाटको गाडीको पनि १०० भन्दा कम किलोवाट देखाएर भन्सार जाँचपास भइरहेको भन्सार विभाग नै स्वीकार गर्छ ।

भन्सार विभाग महानिर्देशक ढुण्डीप्रसाद निरौलाले विद्युतीय गाडीको किलोवाट क्षमताको विषयमा अध्ययन भइरहेको बताए । उनले नेपालप्रेसँग भने, ‘विद्युतीय गाडीको किलोवाटको विषयमा अध्ययन भइरहेको छ । किलोवाट घटाइएको विषयमा त्यससँग सम्बन्धित अधिकारीहरुलाई के भएको हो भनेर अध्ययन गर्न भनेका छौं । त्यो अध्ययनपछि किलोवाट घटाइएको विषयमा प्रस्ट हुनेछ ।’

नेपालमा कसरी परीक्षण गरिन्छ विद्युतीय गाडीको किलोवाट ?

सवारी परिक्षण कार्यालय टेकुका कार्यालय प्रमुख मणिराम भुसाल विद्युतीय गाडीको मोटर क्षमता नाप्ने २ वटा विधि रहेको बताउँछन् । चेसिस डाइनामो मिटर र इन्जिन डाइनामो मिटरबाट विद्युतीय गाडीको क्षमता मापन गर्न सकिन्छ ।

सवारी परीक्षण कार्यालय टेकुसँग चेसिस डाइनामो मिटरमात्रै छ । चेसिस डाइनामो मिटरले गाडीको टायर घुमेको आधारमा मात्रै क्षमता मापन गर्छ । अहिले नेपालमा टायरबाट मात्रै गाडीको क्षमता चेक भइरहेको छ । यसरी टायरबाट मात्रै गाडीको क्षमता चेक गर्दा यथार्थ क्षमता नदेखाउने भुसाल बताउँछन् ।

विद्युतीय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) प्रणाली जडान गरिएको हुन्छ । यो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन पनि सक्छ । यसो गर्दा सजिलै क्षमता कम देखाउने बताइन्छ । बीएमएसमा सेट गरेअनुसार नै गाडीको किलोवाट क्षमता देखाइने हुन्छ ।

भुसालले भने, ‘इन्जिन डाइनामो मिटरले विद्युतीय गाडीको यथार्थ क्षमता चेक गर्न सकिन्छ । यो प्रविधिबाट क्षमता चेक गर्न ब्याट्री र मोटरलाई छुट्याउनुपर्छ । यसको मूल्य करिब ६ करोड पर्छ ।’

अहिलेसम्म भन्सार कार्यालयले आयातकर्ताले स्वघोषणा गरेअनुसार नै गाडीको क्षमता तोक्दै आएको छ ।

गाडीको किलोवाट कम गरेर भन्सार जाँचपास गराउने ओमोडा, एमजी र डीपललगायतका ब्राण्डका गाडीहरुमाथि अध्ययन भइरहेको भन्सार विभागले बताएको छ ।

कति भित्रियाे विद्युतीय गाडी ?

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिनामा कुल ८ हजार ४९७ विद्युतीय कार, भ्यान र जीप आयात भएका छन् । जसअनुसार वैशाखमा मात्रै १ हजार ४०४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । जुन चैतको तुलनामा दोब्बरभन्दा बढी हो । चैतमा ६५८ वटामात्रै विद्युतीय गाडी भित्रिएको थियो । अझ फागुनमा चैतभन्दा कम जम्मा २९१ वटा चार पांग्रे विद्युतीय गाडी आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्म २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएको छ । जसमा ५० किलोवाटसम्मका ३ हजार ४७२ वटा कार, भ्यान र जीप छन् ।

त्यस्तै ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ९६, १०१ देखि २०० किलोवाटसम्मका १०५ र २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडीको आयातबापत सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर