पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन : विद्यार्थीले बनाए वातावरण सुधार योजना – Nepal Press

पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन : विद्यार्थीले बनाए वातावरण सुधार योजना

काठमाडौं । पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन सम्पन्न भएको छ । देशका ९ जिल्लाका विद्यालय क्लबका विद्यार्थीहरु काभ्रेको धुलिखेलमा जम्मा भएर वातावरण सुधारका लागि दीर्घकालीन योजना तयार पार्दै पाँचौ एक्का सम्मेलन सम्पन्न भएको हो ।

वातावरण संरक्षण शिविर (एक्का नेपाल) ले जेठ ८ देखि ११ गतेसम्म ‘अबको भविष्य, दिगो विकासको लागी शिक्षा’ भन्ने विषय वस्तुमा केन्द्रित भई पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन आयोजना गरेको थियो ।

विद्यालय क्लबहरु बीचमा विद्यालय क्लबका गतिविधिहरूको जानकारी आदान प्रदान गर्नु, विद्यालय क्लबको दिगोपना र आत्मनिर्भरता बढाउनु तथा जलवायु परिवर्तन, बालबालिकाको अधिकार, विद्यालयको वातावरण, पानी, स्वास्थ्य, सरसफाई सम्बन्धी ज्ञान प्रदान गर्नु र सामुदायिक विकासका प्रयासहरूमा बालबालिकाको सहभागितालाई बढावा दिनु मूख्य उद्देश्य रहेको एक्का नेपालका प्रबन्ध निर्देशक योगेन्द्र चित्रकारको भनाइ छ ।

सम्मेलनले विद्यालय क्लबको ‘मेरो क्लब र यसको दिगोपन’ शीर्षकमा प्रस्तुतीकरणमा विज्ञहहरुद्वारा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको लागि विषयगत सत्रहरू सञ्चालन गरेका थिए । यस्तै, विज्ञान प्रविधि तथा गणितमा आधारित ग्लोब कार्यक्रम र ज्ञान बजार कार्यक्रम सञ्चालन गरिएको थियो ।

ज्ञान बजारको उत्कृष्ट ६ प्रस्तावनालाई प्रति विद्यालय नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ । उत्कृष्ट प्रस्तावना बनाउनेहरुमा हरि आधारभूत विद्यालय झापाले ‘वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम’, थानी आधारभूत विद्यालय धनकुटा ‘जडिबुटी बगैंचा र विश्राम स्थल निमार्ण’ गणेश माध्यमिक विद्यालय चितवन ‘विद्यालय तथा सामुदायिक सरसफाई कार्यक्रम’ कान्देश्वरी आधारभूत विद्यालय चितवन ‘विद्यालय बगैंचा र दैनिक सरसफाई कार्यक्रम’ र विलियम पब्लिक स्कूल ललितपुर ‘शून्य प्लास्टिक पहल (इको–ईट्टा)’ र महेन्द्र माèयमिक विद्यालय काभ्रेले ‘फोहोर व्यवस्थापन र कम्पोस्ट मलको उत्पादन’ सम्बन्धी प्रस्तावना बनाएका थिए ।

यस्तै, प्लास्टिकबाट हुने प्रदुषण र व्यवस्थापनमा विद्यालय क्लबको भूमिका बारे चित्रकला र मेरो विद्यालय क्लब उत्कृष्ट र क्रियाशिल छ किनभने भन्ने शिर्षकमा भिडियो प्रतियोगिता गरिएको थियो । विजेताहरुलाई पनि पुरस्कार दिइएको छ ।

सम्मेलनले विज्ञान, प्रविधि ,शिक्षा र गणित शिक्षा र भावनात्मक बौद्धिकतालाई विद्यालयहरुमा शिक्षण सिकाइ प्रक्रियामा जोडिने, वातावरण र वन्यजन्तु संरक्षणमा स्थानीय सम्पदा संरक्षण र स्थानीय ज्ञानको पूर्ण उपयोग गरिने, समावेशी र अपाङ्गमैत्री विद्यालय वातावरणको लागि प्रयास गरिने, विद्यालयहरुले सुरक्षित पिउने पानीसँगै ल्याण्डफिलहरुमा जाने फोहोरलाई कम गर्न फोहोर व्यवस्थापन कार्यक्रमलाई प्रवर्द्धन गर्ने र सकरात्मक सिकाइ वातावरण सिर्जना गर्न विद्यालय क्लबहरुलाइृ समर्थन र सशक्त गरिने निष्कर्ष समेत निकालेको निर्देशक विपिन श्रेष्ठको भनाइ छ ।

सम्मेलनमा ९ जिल्ला काठमाडौं,ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, चितवन, रुपन्देही, धनकुटा, झापा र मोरङबाट विद्यार्थीहरु सहभागि भएका थिए। यस्तै सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरबाट थाइल्याण्ड र ताइवानबाट समेत गरी विद्यालय क्लबका सदस्यहरु १४७ जना सहभागी थिए । यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षकहरुको समेत सहभागिता थियो ।

त्यसका अतिरिक्त आयोजकको तर्फबाट २६ जना, आईयुसीएन, युनेस्को, जर्मन नेपाल सहयोग संस्था, फिनल्याण्ड दुतावास, लुम्बिनी बौद्ध विश्वविद्यालय, रोटरी क्लब र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्मेलनको उद्धघाटन बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले गरेका थिए । सम्मेलनमा सहभागीहरुलाई वृत्तचित्र प्रदर्शन, सास्कृतिक प्रदर्शन, वातावरणीय खेल, योग तथा ध्यान सत्र र इसीमोड पर्यावरण पार्क र चिडियाखानासँगै भुक्तपुर विश्व सम्पदा स्थलको अवलोकन समेत गराइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *