सगरमाथा चढ्ने डोरी काटिएको भन्ने पुर्जामाथि छानबिन, केही समस्या नरहेको पर्यटन विभागको भनाइ – Nepal Press

सगरमाथा चढ्ने डोरी काटिएको भन्ने पुर्जामाथि छानबिन, केही समस्या नरहेको पर्यटन विभागको भनाइ

काठमाडौं । पर्यटन विभागले मंगलबार पर्वतारोही निर्मल पुर्जाले वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनाको खण्डन गरेको छ ।

विभागले बुधबार विज्ञप्ति जारी गर्दै पुर्जाले पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । उक्त स्थानमा त्यस्तो केही पनि नभएको विभागले जानकारी दिएको छ ।

‘निज आरोही पुर्जाले लगाएको उक्त आरोपपछि पनि पायोनियर एडभेन्चर प्रा. लि. को टोलीले आज बिहान १२ः४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रुपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यस सम्बन्धमा पर्वतारोहण सञ्चालक संघ नेपालको पनि आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ’, विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तै, विभागले त्यस्तो केही नभएको विश्वस्त गराएको छ ।

‘यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेषित गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरुमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौं ।’

भ्रामक सूचना फैल्याएको भन्दै पुर्जा र उनको टीममाथि छानबिन सुरु गरिएको पनि विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *