देउवा ज्यू, देश दाऊमा नराखी राजनीति गर्न मिल्दैन ?
आदरणीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्यू,
मलाई नेपालको नागरिक हुनुमा गर्व छ । प्राकृतिक छँटाले सुसज्जित, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक धरोहरले सुसम्पन्न, विभिन्न, जात, भाषा, धर्म, सँस्कृति र मौलिक परम्पराले भरिपूर्ण देशको नागरिक गौरव महसुस नहुने कुरै भएन । हाम्रा पुर्खाको वीरताको गाथाले मन गद्गद् हुन्छ । बलभद्र कुँवर र भक्ति थापाले देशको रक्षार्थ लौरो टेकेर लडेको वीरताले छाती चौडा भएको महसुस हुन्छ । तर, देशको अहिलेको परिस्थिति, राजनीतिक दाउपेचले उठेको शीर निहुरिन्छ, छाती खुम्चन्छ ।
अझ देशमा बढ्दो विदेशी हस्तक्षेप र परनिर्भर नेताका कारण भोग्नु परेको सास्तीले मन चस्किन्छ । मुटु भकानिन्छ ।
कहिलेकाहीं हरेक राष्ट्रको जीवनमा अप्ठयारो आइलाग्छ । महासंकट आइलाग्छ, महासंकटबाट बँचेको समाजले नवीन सपना बुन्छ । संकटबाट पाठ सिक्दै देश बनाउने र बचाउने अर्जुनदृष्टि असल राजनेतामा हुनुपर्छ । राज्यको रुपान्तरण गर्नु, राज्यका नागरिकको सुखभोग, उन्नति, प्रगति, समुन्नती र समृद्धिको खाका कोर्नु असल राजनेताको पहिचान हो ।
हामी संगैका राष्ट्रहरुले उन्नतिको शिखर चुमिसकेका छन् । नेपाली कांग्रेसका सभापति तपाईंको उमेर समूहका नेताले विश्वका धेरै देशमा धेरै प्रगति गरिसके । उनीहरु हाइहाइ भएका छन् । तर तपाईंलगायत हाम्रा शीर्ष नेता विदेशीको इसारामा नाच्नाले देश अहिले पनि यो गतिमा छ ।
पछिल्लो समय खुब चर्चामा छ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय । यसबारे केही प्रश्न छन्, जुन म तपाईंलाई गर्न चाहन्छु ।
के हाम्रो देश एमसीसी नआएकै कारण पछि परेको हो ? हामीसंग यसबाकेह अरु विकल्प छैनन् ? हाम्रो प्राकृतिक स्रोतसाधनको प्रयोगबाट हामी समृद्ध हुन सक्दैनौं । हाम्रो देश मरुभूमी हो ? मरुभूमीमा भएका देशहरुले त कति हो कति प्रगति गरिसके, हामी चाहिँ अमेरिक सहयोगबिना केही गर्नै नसक्ने भएका हौं ?
कुनैबेला चीन, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो । तर, पछिल्लो आधा सताब्दीमै अरु देशहरुले विकास र समृद्धिको नयाँ उचाइ प्राप्त गरे । उनीहरुले चमत्कार गरे । तर, हामी अभावान फसिरह्यौं । किन यस्तो भयो ? यो सब हुनुमा कसको दोष छ ? कि भन्नुप¥यो –हाम्रो जमिनै खराब छ । या त हामी गरिब हुनका लागि श्रापित छौं । अन्यथा गडबडी कहाँ छ ?
मैले देखेको गडबडी राजनीतिमा छ । राजनीतिक दर्शन, राजनीतिक कार्यक्रम, राजनीतिक संरचनामा र राजनीतिक नेतृत्वमा छ ।
शीर्ष नेताले एमसीसी लागू गर्न मरिहत्ते गरेको देखेर या त हामीसंग कुनै अन्य विकल्प नै छैन या त त्यहाँ नेताहरुको स्वार्थ लुकेको छ भन्नेमा शंका छैन । आफ्नै देशमा भएको बजेटको सदुपयोग गर्न नसक्ने, बजेटमाथि कुदृष्टि लाउने, भ्रष्टाचार गरेर काठमाण्डौंमा आलिशान महल बनाएर भारदारहरुलाईसम्म भ्याउने गरी नवउदीयमान धनाड्यका रुपमा उदाउनु पर्ने, आफ्नो देशको आर्थिक मितव्यीता र अनुशासन कायम गर्न नसक्ने अहिले आएर एमसीसी नभए ज्यानै फाल्नुपर्छ ?
एमसीसी संसदबाट पास गराउने पराधीन मानसिकताले कांग्रेसको आर्दश वाक्य ‘राष्ट्रियता’माथि नै प्रहार भएको छ । र, नेपाली कांग्रेस समग्र राष्ट्रको अहित हुने काममा लागिरहेकोप्रति गम्भीर चिन्ता लागिरहेको छ । एमसीसी सम्झौता गरी समृद्धिको सपना बुनेका थुप्रै राष्ट्रहरुको कहालीलाग्दो अवस्था हामीले देखिसकेका छौं । यो हाम्रो राष्ट्रको सर्वपक्षीय हितका लागि छैन, यो ठूलो धोका हो ।
संयुक्त राष्ट्रसंघमा १९३ देश सदस्य छन्, जसमध्ये ४८ देश गरिबको सूचीमा पर्छन् । हामी पनि त्यही सूचीमा छौं, जसले नेपाललाई अल्पविकसित राष्ट्रको परिचय दिएको छ । सन् १९७१ को प्रकाशित सूचीमा रहेका थुप्रै राष्ट्रहरुले विकास र समृद्धिको उचाइ चढिसके तर हामी गरिबीको कुवामा फसेका छौं ।
विकसित राष्ट्रहरुले सिकाएको एउटै कुरा छ– विकासका लागि असाधारण प्रयत्न गर । सचेत मिसन र त्यसलाई सफल गर्ने परिणाममुखी लिडरसिप विकासका आधारस्तम्भ हुन् । ए.पी.जे. अब्दुल कलामका आशयमा देश बनाउने यस्तो सपना चाहिन्छ, जसले न नेताहरुलाई निदाउन दिनेछ, न त जनतालाई नै ।
नेता र जनताको सपना जुन दिन एउटै हुन्छ, त्यो दिन समृद्धिको यात्रालाई कसैले रोक्न सक्दैन । अहिले ठीकविपरीत भैरहेकोछ । नेता उत्तर, दक्षिण र युरोपको गहिरो प्रभावमा फसिरहँदा जनता निरीह बनेका छन् । जनतालाई नेपाली माटो सुहाउँदो विकास र समृद्धि चाहेको छ, नेता आफूलाई शक्ति राष्ट्रहरुबाट बच्ने ओखती चाहेको छ ।
जबसम्म विकास र समृद्धिको शिखर टेक्न राजनीतिक सुधार, रणनीतिक क्षेत्रमा लगानी र आधारभूत सेवासुविधाको न्यायपूर्ण वितरण हुनैपर्छ । यस्तो स्थितिमा ५६ अर्बको मिलेनियम च्यालेन्स कर्पोरेसनको अनुदान आएपनि देश समृद्ध बन्न सक्दैन ।
विकासको नियम हुन्छ, यो नियम अग्लो सिंढी जस्तै हो, टेक्ने ठाउँमा समात्यो भनेपनि लडिन्छ, समात्ने ठाउँमा टेके पनि लडिन्छ । त्यसैले ठीक ठाउँमा टेक्ने र ठीक ठाउँमा समात्ने अभ्यास तपाईंले गर्नुपर्छ । अहिले नेपाली काँग्रेसले समात्ने ठाउँ भनेको एमसीसी अनुदान होइन । अहिले समात्ने ठाँउ भनेको नेपालको जल, जमिन र जंगलबाटै समृद्धिको खाका कोर्नु हाम्रो उत्तम बाटो हो ।
हामीसंग थुप्रै सम्भावनाहरु छन् । जस्तो फिजी जस्तो सानो देशले उच्च कोटीको ‘फिजी वाटर’ उत्पादन गरेर उच्च मूल्यमा बिक्री गरिरहेको छ । फिजी राष्ट्रले आफ्नो समृद्धि फिजी वाटरमा देख्यो । हामीले हाम्रा हिमालहरुबाट बग्ने कञ्चन पानीको बान्डिङ ‘सागरमाथा वाटर’ गर्न सक्यो भने पनि समृद्धि आउनसक्थ्यो ।
सागरमाथाले हाम्रो देशको पहिचान उच्च बनाइरहँदा विश्व बजारमा ‘सगरमाथा वाटर’ उच्चमूल्यमा बिक्रि गर्न लाग्दा हाम्रो शान पनि उँचो हुने थियो ।
यस्तै हामीसंग लुकेका स–साना कुराले देशले समृद्धिको उचाइ समात्न सक्छ । पर्यापर्यटन, उत्पादनशील उद्योगको पुनर्जागरण, कृषिमा आधुनिकीकरण गर्न सक्यौं भने मुलुक समृद्ध बन्न धेरै समय लाग्दैन । मुख्य कुरा स्रोत परिचालन, सुशासन र सामाजिक न्यायको हो ।
बेलायत र फ्रान्सबीच भएका युद्धले युरोप तहसनहस पारेको थियो । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयङ्कर थियो । आफ्ना कयौं प्रियजनहरु गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो र समृद्धि खोज्यो । युरोपको समृद्धि रगत र आसुको पोखरीमा फुलेको कमल जस्तै हो ।
इतिहासमा हामीले पनि निकै रगत र आँशु बगायौं तर हाम्रो पोखरीमा कमल किन फुल्न सकेन ? किन समृद्धिको चाहना पूरा हुन सकेन ? यी तमाम प्रश्नहरु नेपाली राजनीतिका शीर्ष नेतृत्वहरुसंग रहिआएको छ ।
एसीयामा जपान सवैभन्दा कमजोर प्राकृतिक स्रोतसाधन भएको देश हो तर जापानले उच्च समृद्धि हासिल गरिसयो । हामीसंग एसीयामा सवैभन्दा बढी स्रोत र साधनहरु छन् तर हामी गरिब छौं । कुनै बेला हाम्रो निर्यात अब्बल थियो । तर, अहिले कमजोर छ । यो सवथोक गर्न असल राजनीति चाहिन्छ, मानवस्रोत र असल व्यवस्थापन चाहिन्छ । यो सबै परिचालन गर्न असल नेता चाहिन्छ । किन यति गर्न सक्ने नेता तपाईं हुनु भएन ? कांग्रेसमा भएनन् ? अहिले किन एससीसीको साहना खोज्नुपर्यो ? निर्मम समीक्षा जरुरी छ ।
आदरणीय सभापति ज्यू,
कम्युनिष्ट नेतृत्वको सरकारले चौतर्फी निराशा छाएको छ, देशमा अन्याय अत्याचार बढेको छ, देशमा न्याय मरेको छ, जताततै भ्रष्टाचारले जरा गाडेको छ, आर्थिक रुपमा संकट चुलिएको छ, आम नागरिकमा निराशा छाएको छ ।
देशमा हरेक प्रकारले संकट होइन महासंकट चुलिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरुमा आएको उतारचढावले महासंकट चुलिएको छ । यो महासंकटका बेला नवीनतम सपना बुनेर समग्र राष्ट्रहितको लागि तपाईको दृढ संकल्प, चट्टानी अडान, राजनैतिक रुपमा निष्ठा र इमान्दारीताको खाँचो छ । त्यसैले राष्ट्रघाती एमसीसीको पक्षमा होइन, नेपाल र नेपालीको हितमा सोच्न आग्रह गर्दछु ।
(लेखक नेपाल तरुण दल बैतडीका उपाध्यक्ष हुन्)