विपद्को बेला सामुदायिक रेडियोको भूमिका अतुलनीय रहेको सरोकारवालाको भनाइ
काठमाडौं । विपद्का समयमा सूचनाका लागि सामुदायिक रेडियो भरपर्दो माध्यम भएको सरोकारवालाले बताएका छन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘विपद्मा सामुदायिक रेडियो’ विषयक अन्तरक्रियाका सहभागीले रेडियो सूचना र जानकारी प्राप्त गर्नका लागि मात्रै नभएर विपद्का बेलाको मनोसामाजिक परामर्शका लागि समेत अति उपयोगी रहेको पाइएको बताएका हुन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद्का समयमा सञ्चारमाध्यमको भूमिका अति नै महत्त्वपूर्ण हुने र त्यसमा पनि सामुदायिक रेडियो अझै प्रभावकारी रहेको पाइएको बताए ।
प्राधिकरणले हरेक वडासम्म नै संरचना निर्माणको योजना बनाइरहेको जानकारी दिँदै उनले यस पटकको विपद्को पूर्व तयारी र विपद्का समयको तयारीका लागि गृह मन्त्रालयले सबै निकाय समेटेर टास्क फोर्स बनाउने निर्णय नै गरिसकेको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन शाखा प्रमुख सागर श्रेष्ठले पछिल्लो समय रेडियोका श्रोता घटेको भन्ने गरिए पनि अहिले पनि बहुसंख्यक नेपाली र नेपालको अधिकांश क्षेत्रमा सूचनाको पहिलो स्रोत रेडियो नै रहेको बताए । देशका सबै भागमा इन्टरनेटको पहुँच पुगिसकेकाले समुदायको साथी रेडियो नै भएको श्रेष्ठको भनाइ छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेकाले यसको न्यूनीकरणका लागि रेडियोले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का अध्यक्ष अर्जुन गिरीले विपद्का समयमा सामुदायिक रेडियोले नागरिकलाई सूचना, सञ्चार, शिक्षा र मनोवैज्ञानिक सहजीकरणमा अतुलनीय योगदान गरेका कारण जापान लगायत देशमा राज्यले नै सामुदायिक रेडियोलाई जगेर्ना गरेर राखेको उल्लेख गरे । नेपालका सामुदायिक रेडियोको दिगोपनाका लागि सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई थियो ।
अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडाले २०७८ को जनगणनाअनुसार ३४ प्रतिशत नागरिक र दैनिक एक करोड नेपालीले रेडियो नियमित सुन्ने देखाएकाले पनि रेडियोले आम नागरिकलाई कति प्रभाव पार्छ भन्ने प्रमाणित हुने बताए । रेडियाले बितेका दिनको भूमिकालाई गर्व गर्दै समुदायको आवाजलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सीआईएनका व्यवस्थापक दीपक आचार्यले विपद्का बेला सामुदायिक रेडियो सूचना प्रवाहका लागि अग्रसर भएका उदाहरण प्रस्तुत गर्दै सामुदायिक रेडियोको महत्त्वमाथि प्रकाश पारेका थिए ।