सडकको अल्टिमेटम सकिँदै गर्दा बालेनको प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा साँघुरो कसरी ? – Nepal Press

सडकको अल्टिमेटम सकिँदै गर्दा बालेनको प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा साँघुरो कसरी ?

काठमाडौं । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अर्को ‘फायर’ खोलेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, उनको प्रश्न छ ।

दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै उनले त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरेका छन् ।

यो पनि पढ्नुहोस् : न्यूरोडमा भत्काएको सडक दुई दिनभित्र पुनःस्थापन गर्न बालेनलाई सडक डिभिजनको अल्टिमेटम

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ’, उनले लेखेका छन् ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउन एकजुट बन्नसमेत उनले आग्रह गरेका छन् ।

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *