जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ – Nepal Press

जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’

धनुषा ।  जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो । मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहने छन् । कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनले बताए ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन् ।

कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन् । मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह थपिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

युवाहरुलाई उद्योगमा रोजगारी दिन उद्योगीसँग मन्त्री अर्यालको आग्रह

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन् ।

मधेश प्रदेशको जनकपुरधाममा श्रमाधान रोजगार मेला उद्घाटन् गर्दै मन्त्री अर्यालले बेरोजगारी समस्या समाधान गर्न उद्योगीहरुको सहयोग आवश्यक रहेको बताए । उनले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि ‍औंल्याए ।

उनले भने, ‘कुनै पनि कार्यक्रम गर्नुको पछाडी उदेश्य हुन्छ । त्यस्तै एउटा उदेश्य बोकेर श्रमाधान रोजगार मेला सुरु गरेका छौं । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो ।’

‘श्रमाधान मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी छैन्, उनले भने,‘मेलाले श्रमिक र रोजगारदाताका समस्यारआवश्यकताबारे बुझ्न सकिन्छ । त्यसपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न सहज हुन्छ भन्ने विश्वास छ ‌‌।’

सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरू गरेको मन्त्री अर्यालको भनाई छ ।

उनले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेशको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको बताए । मधेश प्रदेशका सबै नागरिकलाई यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार शिप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे ।

मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको पनि जानकारी गराए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालको भनाइ छ । मन्त्रालयले अझ उत्कृष्ठ काम गर्ने पनि विश्वास दिलाए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *