नलेखिने प्रेमकथा- ४ – Nepal Press
कथा

नलेखिने प्रेमकथा- ४

विचारहरु आँधीहुरीपछिका समुन्द्री छाल जस्तै शान्त हुँदै थियाे । रात जति गहिरिँदै गयो, विचार पनि त्यत्ति नै सरल र सुसुप्त । कुनै विद्वानले भनेका छन्, ‘विचार नै मानव जीवनको ज्योति हो । यदि तिमीसँग विचार छैन भने तिमी जीवित पनि छैनौ । कतै म पनि निर्जीव हुँदै त छैन ? ‘सुत्नलाई ढुंगाको सिरानी र पल्टने जमिन भए पुग्छ, बस निन्द्रा हुनुपर्‍याे’, गाउँका बुढाबुढीले भनेको सुनेको थिएँ । साँच्ची हो रहेछ । मध्यरातमा कति खेर निदाएछु थाहै भएन ।

भोलिपल्ट अन्दाजी साढे दशतिर समा आइपुगी एउटा वकिल लिएर । उनीहरुले इन्स्पेक्टरसँग केहीबेर कुरा गरे र वकिलले एउटा लिखत तयार गरे । प्रहरी हवल्दार म भएको ठाउँमा निमन्त्रणा लिएर आए । इन्स्पेक्टरले मलाई कुर्सीमा बस्न इसारा गर्दै भने, रमणजी एक पटक पढेर यो कागजमा दस्तखत गरी दिनुहोला । मैले लिखत पढ्ने कोसिस गरें, तर दिमागले के लेखेको थियो, टिप्न सकिरहेको थिएन । एक पटक बीचतिर मेरा आँखा अड्किएका थिए । देखें, ‘रमन मेरो ब्वाइफ्रेन्ड हो, उसले मलाई एक्कासि सार्वजनिक ठाउँमै किस गर्‍याे । मलाई लाज र रिस एकै पटक चढ्यो, फेरि म निकै हतारिएको मूडमा पनि थिएँ । त्यसैले मैले उत्तेजित हुँदै उसलाई चड्कन हानें, तर त्यसलाई भीडले गलत अर्थले बुझ्यो र रमणलाई सबैले आक्रमण गरे ।’

समाले मलाई प्रहरीबाट बचाउन त्यसो भनेकी थिई वा साँच्चै उसको मनमा मप्रति केही थियो पनि । हिजो अस्तिसम्म यो मेरो ठूलै चासोको विषय हुन सक्थ्यो, तर अब मलाई यस विषयमा धेरै बुझ्न मन थिएन । यो वसियतनामापछि कुनै कानूनी कारबाहीविना नै मलाई छाडिदिए १२ बजेतिर ।

समा सरी भन्दै थिई । ऊ मेरो शरीरको अवस्था देखेर रुँला झैं गर्दै थिई । किनकि शरीरभरि चोटपटक त थियो नै कपडामा पनि रगतका खाटा र दाग निकै थियो । म केही बोल्न सक्ने अवस्थामा थिइनँ र न मलाई केही बोल्ने चाहना नै थियो । थ्याङ्स फर कमिङ, यही नै मैले बोलेको पहिलो र अन्तिम वाक्य थियो । म बाहिर निस्किएँ र ट्याक्सी रोकें । समा मेरो पछि पछि आएकी हुँदी हो सायद, तर मैले वास्ता गरिनँ । मैले ट्याक्सी चढ्नुअघि अब कहिले डिउटी जोइन गर्छौ भनेर समा चिच्याई । पाँचदश सेकेन्डसम्म पनि उत्तर नपाएपछि, फेरि चिच्याई, म फोन गरौंला है । उसका आँखा रसाएका कुरा र गला अवरुद्ध हुन खोजेको कुरा सहजै अनुमान लगाउन सकिन्थ्यो ।

समालाई थाहै थिएन, मसँग हिजैबाट फोन छैन भन्ने कुरा र अब म सायद फोन बोक्ने पनि छैन होला । म ट्याक्सी चढें र हात हल्लाएँ समातिर । मलाई थाहा थियो म अन्तिम पटक बाई गर्दै थिएँ समासँग, तर मलाई किन हो कुन्नि कुनै नरमाइलो वा रमाइलो केही लागेको थिएन । म भावनात्मक रुपमा शून्य नै थिएँ भन्नुपर्छ ।

खाना नखाएको झन्डै २४ घण्टा भैसकेको थियो । आरामको सख्त महसुस हुनुपर्ने थियो मलाई, तर त्यस्तो भएको थिएन । शरीर त बिजुली झैं फुर्तिलो छ झैं लाग्दै थियो । मामालाई तुरुन्तै मेरो घरमा आउनु भनें । मामा आधा घण्टाभित्रैमा आइपुग्नु भयो । मैले मामालाई अनौठो बहाना बनाइदिएँ- ‘मामा, पुलिस लागेको छ मेरो पछाडि । त्यसैले अब मैले तुरुन्तै यो ठाउँ छोड्नुपर्छ । त्यसैले मेरो हरहिसाब गरिदिनु होस् । म तपाईंलाई भोलिसम्मको समय दिन्छु, तबसम्म म कतै लुकेर बस्छु र पर्सि बिहानै म यो शहर छोड्नेछु ।’

‘अरे भाञ्जा के भयो त्यस्तो ? मलाई सब भन, मैले डीएसपी चिनेको छु, मन्त्री चिनेको …… ।’ मैले मामाको कुरा काट्दै भनें, ‘मामा मसँग यो सब सुन्न र सुनाउन समय छैन । यदि तपाईंलाई अप्ठेरो छ भने हिसाब नगरे पनि हुन्छ ।’

‘त्यस्तो कुरा नगर भाञ्जा, मलाई भाञ्जाको धन खाएर पापी बन्नु छैन ।’

मामाले आधा घण्टामै हिसाब निकाले । मैले त उनको हिसाबमा ध्यान पनि दिएको थिइनँ ।

‘भाञ्जा, बैंकमा ऋण ३१ लाख जति छ र हाम्रा तीन वटा गाडीको मूल्य जोडेर ऋण घटाउँदा तिम्रो भागमा २० लाख जति पर्न जान्छ ।’

‘मामा मलाई १५ लाखमात्रै दिनू किनकि ५ लाख त तपाईंले मेरो कवाडी जीवनमा आर्थिक टेवा दिएर र विश्वास गरेर भनौं वा बाटो देखाइदिएर, (मनमनै रिपुसँग भेटाइदिएर भन्ने पनि लाग्यो) जुन गुण लगाउनु भएको छ, त्यसको मूल्य करोडौंको छ, फेरि तपाईंका बच्चाबच्चीलाई पनि पढाउन धेरै पैसा चाहिने बेला आएको छ नि ! यदि भाञ्जाको साँच्चै माया लाग्छ भने जानुहोस् नाङ्लेभारे भन्ने गाउँमा र ल्याउनुहोस् एक वृद्धलाई वृद्धाश्रममा, तर तपाईंलाई पाल्न मन छ भने आफैं पाल्दा पनि हुन्छ ।’

बालखकालमा नै बाआमा गुमाएका मामाको मुख उज्यालो देखियो ।

‘भाञ्जा ती वृद्धलाई म आफैं ल्याएर पाल्छु । ठेगाना राम्रोसँग लेखिदिनुहोस् ।’

मामाले पूरै पैसा नै दिन्छु भनेर जिद्दी गर्दै थिए, तर मसँग धेरै कुरा गर्ने समय छैन मलाई पैसा भोलिसम्म चाहिन्छ, बरु भोलिको पहिलो सत्रमै सम्पत्ति हस्तान्तरण गर्ने कानूनी प्रक्रिया पूरा गरौं भन्ने प्रस्ताव गरें । अनि अहिलेलाई भने मलाई एक्लै छोडिदिन अनुरोध गरें ।

भोलिपल्ट मामालाई भेटेर सबै काम गरिसकेपछि मामाले एउटा पैसाको थैली मेरो हातमा थमाइदिए । मैले त्यस थैलीबाट हजारका दुइटा बिटा निकालें र समाको मोबाइल नम्बर तथा नाम भएको चिट हातमा राखिदिँदै भनें मामा यो केटीलाई फोन गरेर उसको सामाजिक काम गर्ने कोषलाई यो दान दिनुहोला है ! अनि मेरो नाम चाहिँ कुनै हालतमा नभन्न मामालाई बाचा गराएँ । मामा छुट्टिने बेलामा आँसु झार्न खोज्दै थिए, तर मैले त्यसको पर्वाह गरिनँ । त्यसपछि म सीधै किष्ट बैंकमा गएँ र बाँकी पैसा बाबाको बैंक एकाउन्टमा जम्मा गरें । घरमा पनि केही पैसा थियो नै जुन घरभाडा तिर्न, सपिङ गर्न, बाटा खर्चको लागि पर्याप्त थियो ।

त्यसपछि मैले आमाबाबालाई एउटा चिठी लेखें ।

मेरा प्यारा आमाबाबा,
सादर ढोग नमस्कार,

तपाईंहरुले दिएको जन्म, माया, प्रेम, शिक्षा र ज्ञानप्रति म सधैँ कृतज्ञ छु । मेरो जीवन तपाईंहरुकै देन हो वा अंश हो भनेर यहाँ भनिराख्नु परेन, तर के चाहिँ भन्न जरुरी छ भने तपाईंहरुले मप्रति जुन आशा र भरोषा राख्नुभएको थियो, जुन राम्रो भविष्यको कल्पना गरेर आफूले खाइ नखाइ गरेर मलाई शहर पढ्न पठाउनुभएको थियो, आजबाट म त्यसलाई लत्याउँदै तपाईंहरुको जीवनबाट टाढा जाँदैछु । त्यसो त अब हाम्रो भेटै हुँदैन भन्ने होइन, तर म हाललाई कुनै टाढाको देश जाँदैछु । त्यस देशमा म पैसा कमाउन, पढ्न, सुखभोग गर्न वा नाम कमाउन, केही पनि गर्न जाँदै छैन । म त जीवनलाई जिउने कला सिक्न जाँदैछु, जसबाट म सन्तुष्ट चाहिँ हुनसक्छु, तर कुनै निश्चितता भने छैन । मैले बाबाको बैंक एकाउन्टमा केही पैसा राखिदिएको छु, फारो गरेर अप्ठेरोमा मात्र चलाउनु होला । किनकि मैले अघि नै भनिसकें म पैसा कमाउने देशमा जाँदै छैन । मलाई के थाहा छ भने म हरेक दिन तपाईंहरुलाई सम्झनेछु ।

उही छोरा

रमण

● ● ● ● ●

रमण निस्केपछि केही राहत मिलेको महसुस त भयो, तर उसको शरीर र मुखमण्डलमा देखिएका चोटपटक र रगतका टाटाहरु देख्दा समा विह्वल हुन पुगी । रमणका शरीरका घाउहरु आफ्नै शरीरका घाउ दुखे झैं महसुस हुँदा कतै यो प्रेमको लक्षण त होइन ? उसले पीडाको बीचैमा एउटा सानो झड्का रोमाञ्चकता देखी आफैंभित्र । मानिस कति असंवेदनशील र क्षणिक विचारमा बाँच्दोरहेछ, आफैंलाई गाली गरी र आफ्नो रोमाञ्चकतासँग रिसाइ पनि । हुन त पीडा र रोमाञ्चकताको प्रवाह एकै पटक हुनु संवेदनशीलता हो कि संवेदनहीनता ? यसमा पनि ऊ अन्योल नै देखिई । रमणको अवस्थाले ऊ दुखित त देखिएकै थिई, त्यसमा पनि रमण बोल्न नसकेर हो वा बोल्न नचाहेर हो थ्याङस् फर कमिङबाहेक एक शब्द पनि नबोली हिँडेकोमा ऊ निकै प्रताडित भई । रमणलाई बोलाउन नै अब डिउटी कहिले जोइन गर्छौ भनेर सोधी र फेरि पनि रमण बोलेन ।

समा गह्राैं खुट्टा लिएर घर पुगी । उसलाई आज पहिलो पटक संसार यतिबिध्न नरमाइलो लागेको थियो कि यो क्षण त हिजोको रातभन्दा पनि निर्दयी थियो । हिजो दिउँसोबाट आज २ बजिसक्दा पनि उसले केही खाएकी थिइन, तर भोकको कुनै गुञ्जायस थिएन । उसको दिमागमा पछिल्ला २०-२२ घण्टाका घटनामात्र दोहोर्‍याएर हेरेको चलचित्र झैं छाइरहेका थिए, मानौं उसलाई छोटो स्मरणशक्तिको कुनै रोग लागेको होस् । दिदीले खाना खान तारन्तार बोलाइरहनु भएको थियो, तर उसको छुद्यले खाना रुच्ने क्षमता दिएको थिएन । दिदीको किचकिचले विश्राम नलिने थाहा पाएपछि ४ बजेतिर पसी भान्छातिर र केही दालभात पेटतिर पठाएपछि लागी वीरअस्पतालतिर, सायद मनमा केही शान्ति मिल्ला कि भनेर ।

घर पुग्दा बेलुकाको आठ बजिसकेको थियो । शरीर थकान र भोकले लथ्रक्क भैसकेको थियो भने मनलाई रमण र अस्पतालको केसले बिछिप्त बनाइराखेका थिए । दिमागले केही सोच्न नसके पनि शरीरले खाना र आराम खोजेको बुझ्न कठिन थिएन । आज पनि उसले खाना पकाउने छाँट नबुझेको भेनाले खाना पकाइसकेका थिए र जानासाथ निमन्त्रणा पनि आइहाल्यो । आज खाना खान र छिटो धन्दा सक्न ऊसँग पर्याप्त कारण थियो । किनकि ऊ फोन गर्न चाहन्थी रमणलाई सब कुरा गर्न । धन्दा सक्नासाथ चिसै हात ऊ आफ्नो ओछ्यानमा पसी र थाली रमणलाई फोन लगाउन । रमणसँग स्वास्थ्य र दुखाइको बारेमा पहिला कुरा शुरु गर्ने जुन उसलाई कतिखेर थाहा पाऔं जस्तो भएको थियो, त्यसपछि अस्पतालमा आएको समस्याको कुरा गर्ने र बिस्तारै प्रेमसम्बन्धी कुरामा प्रवेश गर्ने अनि आफूले प्रेमको नजरले नहेरेको तर अत्यन्त असल र भरोसायोग्य साथीको रुपमा पाएको भनेर बताउने उसको योजना थियो । किन किन उसको मनले रमणलाई साथीको रुपबाट समेत गुमाउने कुरा कसैगरी पनि मानिरहेको थिएन ।

तर, पहिलो घण्टी जान नपाइ उताबाट एउटी केटीको आवाज आउँछ, माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ । बीसौं पटकसम्म फोन गर्दा पनि सोही उत्तर आएपछि भने उसलाई त्यो ध्वनि यति धेरै कर्कश लाग्न लाग्यो कि थप डायल गर्ने आँट आएन । अब भने उसलाई रमणभन्दा पनि अस्पतालको समस्या कसरी सुल्झाउने भन्ने कुराले बढी सताउन लाग्यो र यही कुराले आधा रात चट पारिदियो, पृष्ठभूमिमा रमण त छँदै थियो । आधारातपछि दिमागले निदाउने यौटा जुक्ति निकाल्यो, आज रमणको फोनमा कुनै प्राविधिक गडबडी (ब्याट्री डाउन भएर पनि हुनसक्छ) भएर फोन नलागेको हुनसक्छ, भोलि रमणलाई पनि फोन गर्ने र अरु साथीलाई पनि फोन गर्ने, भेट्ने अनि सबै समस्याको समाधान निकाल्ने ।

बिहान ७ बज्दासमाको निद्रा खुलेकै थिएन, फोनको घण्टी भने बज्न लागिसकेको थियो । रमणको फोन हो कि भनेर फोन सेटतिर झम्टेर जाइलागी, तर नम्बर भने अपरिचित थियो । निद्रा पुगेकै थिएन, फोन उठाउने कि नउठाउने असमञ्जस्यमा पर्दै हरियो बटन थिची र भनी, ‘हेलो ।’

‘हेल्लो हेल्लो, तपाईं हस्पिटलमा काम गर्ने समा नानी हो ?’

‘हो, कसलाई के भयो र ? हजुर को बोल्नुभाको ?’

‘कसैलाई केही भएको छैन, तपाई‌ले अस्पतालमा खुब राम्रो काम गर्नु भा’छ रे ! मलाई पनि तपाईंको अभियानलाई केही रकम सहयोग गर्न मन लागेको थियो । कसरी हात लाउन सकिन्छ होला ?’

‘कति राम्रो विचार ! तर, तपाईंलाई हाम्रो अभियानको बारेमा कसले भन्यो अनि मेरो नम्बर कसले दियो ?’

‘अस्पतालतिरबाटै थाहा पाएको हो । नम्बर पनि त्यतैबाट मिलेको हो ।’

‘त्यसो भए ठिकै छ । हामीलाई पनि यतिखेर निकै पैसा चाहिएको छ । तपाईं अस्पतालमा नै आएर पनि मलाई दिन सक्नुहुन्छ । कि त हाम्रो बैंक एकाउन्टमा जम्मा गरिदिए पनि हुन्छ ।’

‘हुन्छ नानी, म बैंकमै जम्मा गरिदिन्छु । मलाई यै नम्बरमा बैंक एकाउन्ट पठाइदिनु है, म आजै पैसा जम्मा गरिदिन्छु ।’

‘हस हजुर म पठाइदिन्छु । धन्यवाद !’

यसरी नै धेरै मनकारी मिलेको भए सायद त्यो मानिसको जीवन बचाउन सकिन्थ्यो होला, उसले मनमनै भनी । त्यो फोनले समामा एक प्रकारले शक्तिको सञ्चार नै गराइदियो । किनकि यो राम्रो दिनको शुरुवात थियो । त्यसपछि उसले आफ्ना साथीहरुलाई भटाभट फोन गर्न लागी । दीया र शिला त उसका जिग्री नै भैहाले, दुबैले आफ्ना परिवार तथा आफन्तहरुमा आर्थिक सहयोगको लागि अभियान नै चलाउने बचन दिए । यसो हेर्दा राम्रै रकम जम्मा गर्न सकिन्छ भन्ने उसलाई आभाष भयो, तर जति राम्रो संकलन भए पनि त्यो ४०-५० हजारभन्दा माथि हुन सक्दैनथ्यो भन्नेमा ऊ प्रष्ट थिई । यसैले उसले अन्तमा तासमा मास्टर कार्ड झैं जोगाएर राखेको व्यक्ति रमणलाई फोन गर्ने विचार गरी ।

फोन लगाई, तर आज पनि फोन स्वीच अफ नै थियो । अब भने उसको मुटुमा एकखाले डरले ढ्याङ्ग्रो ठोक्न थाल्यो । कतै रमण पिटाइको कारणले निकै बिमार त परेन वा शहरका स्वार्थी मानिसहरुसँग व्यवहार गर्दा दिक्क भएर आफ्नै गाउँ त गएन वा उसँग रिसाएर फोन अफ वा फोन नम्बर नै परिवर्तन गरेर बसेको त छैन ? यस्तै तर्कना गर्दागर्दै ओछ्यानमै ११ बजिसकेछ । दिदीले खान बोलाउँदा पो झसंग भई । दिदीले कोठामै आएर सोधिन्, ‘के भो हो तलाई हिजोआज ? चाला निको छैन त ? कि कसैले चोर्‍याे तेरो मन ?’

‘त्यस्तो केही होइन दि (ऊ दिदीलाई दि मात्रै भन्थी), अस्पतालमा एउटा नयाँ बिरामी आएको छ, तुरुन्तै अपरेशन गर्नुपर्ने, पैसा धेरै चाहिने, सहयोग जुटाउन डाक्टरले अनुरोध गरेकाले त्यसैमा लागिराखेकी छु ।’

‘ए, त्यसो भए ठिकै छ, १-२ हजारले हुने भए म पनि दिउँला’, दिदीले थपिन् ।

‘एकदुई हजार रे ! एकदुई रुपैयाँ भए पनि ठूलो सहयोग हुन्छ दि’, समाको उत्तर थियो ।

‘ल ल खान हिंड, मेरी प्यारी समाजसेवी बहिनी ।’

समाले दिलाई अगालो मारी र भान्छातिर लागी ।

दिउँसो १ बजेतिर ऊ अस्पतालमा सोही बिरामीलाई भेटेर कुरा गर्दै थिई, त्यतिकैमा त्यही बिहान फोन गर्ने मानिसको फोन आयो ।

‘समा नानी मैले २ लाख रुपैयाँ जम्मा गरिदिएको छु । पैसाको अभाव भयो भने मलाई पछि पनि फोन गर्नु है यही नम्बरमा । म सकेसम्म अवश्यै सहयोग गर्नेछु ।’

ऊ त यति खुसी भइछ कि धन्यवाद पनि सहजै फर्काउन सकिन, त्यत्तिकैमा उताबाट फोन काटियो ।

दिदीले दिएको ५ हजार, दीया र शिलाको अभियानबाट जुटेको ४० हजार, अन्य साथीबाट जम्मा भएको ९ हजार र संस्थाको अकाउन्टमा भएको २२-२३ हजारसहित २ लाख ७७ हजार पर्सिपल्ट वीर अस्पतालको काउन्टरमा सोही बिरामीको नाममा जम्मा गरिदिई । थप २३ हजार पनि सर्जनको सामाजिक कोषबाट दिन अस्पताल व्यवस्थापन तयार भयो र सोही दिन बेलुका अपरेशन शुरु भयो । समालाई लाग्यो आज जीवनमा उसले सबैभन्दा महत्वपूर्ण काम गरेकी छे । त्यसमाथि डाक्टरको टीम नै आएर उसको तारिफ गर्दा खुट्टाले भुईं नटेक्लान् झैं गरे । मान्छे कति छिट्टै बिछट्ट खुसी र कति छिट्टै बिछट्ट दुःखी हुनसक्छ भन्ने कुरा कसैले पनि बुझ्न सक्थ्यो यदि उसले पछिल्ला ३ दिन लगातार समालाई निहारेको छ भने ।

याे पनि पढ्नुस् : नलेखिने प्रेम कथा-३

थप याे पनि पढ्नुस् : नलेखिने प्रेमकथा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *