कर्मचारीतर्फ ठट्टा गरेर राइफल ताक्ने बेलायती राजदूत बर्खास्त
काठमाडौं । ठट्टा गरेर कर्मचारीहरुतर्फ राइफल ताक्ने एक बेलायती राजदूत बर्खास्त भएका छन् । जर्मनीको विश्व च्यानल डीब्ल्यूका अनुसार मेक्सिकोको लागि राजदूत भएका बेलायती कूटनीतिज्ञ जोन बेन्जामिन बर्खास्त भएका हुन् ।
गत अप्रिलमा भएको घटना सामाजिक सञ्जालमा धेरै भाइरल भएको थियो । धेरै आलोचना पनि भएको थियो । करियर डिप्लोम्याट हुन् बेन्जामिन । उनको उत्तरी मेक्सिकोको प्रान्त दुराङ्गोको यात्राका क्रममा उक्त भिडियो खिचिएको बताइएको छ ।
बेलायत सरकारले उनलाई बर्खास्त गरेको सार्वजनिक गरेको छैन, तर सरकारी वेबसाइटमा उनी सन् २०२१ देखि २०२४ सम्म मेक्सिकोको राजदूत थिए भनेर लेखेपछि यो कुरा सतहमा आएको डीडब्ल्यूले उल्लेख गरेको छ ।
मेक्सिकोको राजदूत हुनुअगाडि उनले चिली, घाना, टर्किए, इण्डोनेसिया र अमेरिकामा काम गरेका थिए ।