एक्जिट पोलको विश्वास नगर्न भारतीय कांग्रेसको आह्वान, ४ जुनमा मोदी सत्ता ढल्ने दाबी
नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानलहरूबाट विभिन्न संस्थामार्फत आइरहेको एक्जिट पोल बिजेपी र नरेन्द्र मोदीको व्यवस्थापनमा भइरहेको भन्दै विपक्षी गठबन्धनले एक्जिट पोलको दाबीलाई खण्डन गरेको छ ।
भारतीय कांग्रेस पार्टीका महासचिव जयराम रमेशले एएनआइसँग कुरा गर्दै परिणाम जमिन र आकाशको फरक आउने भन्दै एक्जिट पोलको व्यवस्थापन मोदीले गरेको आरोप लगाएका छन् ।
इण्डिया गठबन्धनको मनोबल गिराउने र परिणाम तलमाथि पार्ने योजनाअनुरूप एक्जिट पोलको नाटक गरिएको भन्दै उनले विपक्षी गठबन्धनले कम्तीमा २९४ सीट जित्ने दाबी गरेका छन् ।
४ सीटमा चुनाव भएका राज्यमा एक्जिट पोलले बिजेपीलाई ६ सीट दिएको भन्दै यस्ता हावादारी पोलको विश्वास नगर्न आह्वान गरेका छन् ।
एक्जिट पोललाई कठपुतली भन्दै उनले यसको मास्टर नरेन्द्र मोदी र अमित शाह रहेको बताए । उनले मतगणनाको २ दिनअघि सरकारी संयन्त्रलाई दबाबमा राख्न केन्द्रीय गृहमन्त्री अमित शाहले डेढ सय जिल्ला अधिकारी र कलेक्टरलाई फोन गरेकोमा समेत आपत्ति जनाएका छन् ।
एनले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । निर्वाचन आयोगमा गएर आज आपत्ति जनाउने कार्यक्रम समेत उनले सुनाएका छन् ।