नयाँ बजेटले कति बढायो विद्युतीय गाडीको मूल्य ? – Nepal Press

नयाँ बजेटले कति बढायो विद्युतीय गाडीको मूल्य ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क घटबढ गरेको छ । किलोवाटअनुसार विद्युतीय गाडीमा अन्तःशुल्क र भन्सार बढेको छ ।

बजेटले ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत अन्तःशुल्क बढाएको छ । यसअघि ५० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क लाग्दैन थियो । १० प्रतिशत भन्सारमात्रै लाग्थ्यो । अब भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कायम भएको छ ।

५१ देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५-५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइएको छ । चालू आर्थिक वर्षको बजेटमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो । नयाँ बजेटअनुसार अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

१०१ देखि २०० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । यसअघि २० प्रतिशतको भन्सारलाई अहिले ३० प्रतिशत पु¥याइएको छ । अन्तःशुल्कभने पहिलेकै २० प्रतिशत कायम गरिएको छ ।

२०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीको भन्सार ४० बाट ६० प्रतिशत पुर्‍याइएको छ, तर अन्तशुल्क घटाइएको छ । पहिले ४५ प्रतिशत रहेको अन्तःशुल्क १० प्रतिशत घटाएर ३५ पुर्‍याइएको छ ।

३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्कमा २० प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको छ । अन्तःशुल्क भने १० प्रतिशत घटाएर ६० बाट ५० गरिएको छ ।

भन्सार र अन्तःशुल्क बढ्ने चाल पाएरै आयातकर्ताहरुले बजेट आउनु अगाडि धेरै मात्रामा विद्युतीय गाडी आयात गरेका थिए । जुन भन्सार विभागको तथ्यांकबाट पुष्टि हुन्छ । भन्सारदर बढेपछि गाडीको मूल्य बढ्ने निश्चित थियो ।

नयाँ बजेटपछि विद्युतीय गाडीको मूल्य ३ देखि ६ लाखसम्म बढ्ने गाडी आयातकर्ताहरु बताउँछन् । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ बजेटमार्फत भन्सार र अन्तःशुल्क बढाइएपछि विद्युतीय गाडीमा ३ देखि ६ लाखसम्म मूल्यवृद्धि हुने बताइन् ।

साइमेक्स इंक बीवाईडी गाडीको नेपालको आधिकारिक वितरक हो । श्रेष्ठले थपिन्, ‘सरकारले कर बढाउने विषयमा अध्ययन गर्नुपर्थ्यो, तर विनाअध्ययन नै विद्युतीय गाडीको कर बढाइयो ।’

कति भित्रियो विद्युतीय गाडी ?

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिनामा ८ हजार ४९७ विद्युतीय कार, भ्यान र जीप आयात भएको छ । जसअनुसार वैशाखमा मात्रै १ हजार ४०४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको थियो । जुन चैतको तुलनामा दोब्बरभन्दा बढी हो । चैतमा ६५८ वटामात्रै विद्युतीय गाडी भित्रिएको थियो । अझ फागुनमा चैतभन्दा कम जम्मा २९१ वटा चार पांग्रे विद्युतीय गाडी आयात भएको थियो ।

विभागका अनुसार वैशाखसम्म २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको छ । जसमा ५० किलोवाटसम्मका ३ हजार ४७२ वटा कार, भ्यान र जीप छन् ।

त्यस्तै ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ९६, १०१ देखि २०० किलोवाटसम्मका १०५ र २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी आयातबापत सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर