एमाले प्यूठानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा पाँच जना प्रत्यासी – Nepal Press

एमाले प्यूठानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा पाँच जना प्रत्यासी

रुपन्देही । नेकपा एमाले प्यूठानको दशाैं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन प्रकृया सुरु भएको छ । आइतबार सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि सकिएसँगै निर्वाचन प्रकृया सुरु भएको हो । यो अधिवेशनबाट नयाँ नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् ।

अहिले अध्यक्ष रहेका विजयविराज विष्ट दोहोरिने तयारीमा छन् । अखिलमा लामो समय काम गरेका बिष्टले माओवादी द्वन्द्वकालमा प्यूठानको विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव छ ।

उनी पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको सचिवालयमा बसेर काम गरेका थिए । लुम्बिनी प्रदेश कमिटीको पूर्व सदस्य समेत रहेका विष्टकै कार्यकालमा प्यूठानमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदा संघीय सांसद् र प्रदेससभा १ को सांसद् एमालेले जितेको छ ।

प्यूठानको राजनीति वृतमा एउटा चर्चा सँधै भइरहन्छ । त्यो हो, एमालेका लागि दाखाक्वाडी र कांग्रेसका लागि टिकुरी क्षेत्र । यही क्षेत्रबाटै दुई ठूला पार्टीका नेतृत्व पटकपटक चुनिने गरेका छन् । संयोगबस अहिले पनि विजयविराज विष्ट र मधुर शर्मा दाखाक्वाडीबाटै अध्यक्षका आकांक्षी छन् । विष्टले सर्वसम्मत नेतृत्व चयनका लागि जोडबल गरिरहेका छन् ।

अघिल्लो अधिवेशनमै अध्यक्षको आकांक्षी देखिएका नेता मधुर शर्मा यसपाली जसरी पनि पार्टी अध्यक्ष हुनेगरी लागिपरेका छन् । एमाले प्यूठानका पूर्व उपसचिव शर्मा बहालवाला प्रदेश कमिटी सदस्य हुन् । प्रदेश कमिटी सदस्य भएपनि उनको हुटहुटी जिल्ला अध्यक्ष भएर एक कार्यकाल प्यूठानमै काम गर्ने संकल्प बोकेर हिडिरहेका छन् । जिल्लामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले पनि यसपाली अध्यक्षमा आंकाक्षी हुनु स्वभाविक रहेको उनको प्रतिक्रिया छ ।

जनताका समस्यालाई आफ्नै समस्याजस्तै ठानेर काम गर्ने नेताको रुपमा उनलाई कार्यकर्ताले चिन्छन् । मनमा लागेको कुरा प्रष्टसँग राख्ने र जो कोहीसँग क्षणभरमै घुलमिल हुने उनको छ ।

युवा नेता शर्माले दलभित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी समग्र जिल्लाको नेतृत्व गर्न आफूलाई सहज हुने उनको बुझाई छ । उनी सहमतिका लागि यसपाली नेतृत्व अरुलाई सुम्पने मनशायमा देखिदैनन् ।

पुरानै आकांक्षीमध्ये अर्का पात्र हुन् अजय सिँह । नौवहिनी गाउँपालिका ६ लुङ निवासी सिँहको बसोवास अहिले काठमाण्डौँमा छ । चुनावको बेला मात्र जिल्लामा झुल्किने भनेर उनको बेलाबेला आलोचना समेत हुने गरेको केही कार्यकर्ता बताउँछन् । यसपाली नेतृत्वको लागि आफू पछि नपर्ने उनले बताएका छन् ।

सिंह पार्टीको पूर्व प्रदेश कमिटी सदस्यसमेत हुन् । उनी एमाले संस्थापक नेता विरबहादुर सिंहका छोरा हुन् । प्यूठान–काठमाण्डौँ सम्पर्क मंचका संस्थापक अध्यक्ष सिँह लामो समय पार्टीमा पुर्याएको योगदानले पनि आफ्नो बोलियो दाबी अध्यक्षमा हुनु स्वभाविक रहेको प्रतिक्रिया दिन्छन् ।

त्यसैगरी विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका झिमरुक गाउँपालिका ७ का इन्द्रमणी पोख्रेल पार्टीको जिल्ला कमिटी अध्यक्षका लागि नयाँ प्रत्यासी हुन् ।

नवौँ जिल्ला अधिवेशनबाट उनी एमाले झिमरुक गाउँपालिकाको अध्यक्षको नेतृत्व सम्हालिरहेका छन् । ०५१ सालदेखि पार्टीमा निरन्तर क्रियाशिल पोख्रेल अखिलको सातौँ सम्मेलनबाट जिल्ला अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

पाएको जिम्मेवारीलाई मसिनो गरी पुरा गर्ने उनको कार्यशैली धेरैका लागि अनुकरणीय मानिन्छ । पार्टीको जिल्ला अध्यक्षमा सर्वसम्मत नेतृत्वका लागि आफू बाधक नरहेको पोख्रेलले प्रतिक्रिया दिएका छन् । तर, सहमती नभएर दुई जनाको उम्मेदवारी परेमा आफूले फिर्ता नगर्ने गरी उम्मेदवारी दिने समेत उनको अडान छ ।

त्यसैगरी, अर्का दावेदार नेहरसिँह केसी प्यूठान नगरपालिका ९ निवासी हुन् । प्यूठान नगरपालिका ९ को निवर्तमान वडाअध्यक्ष केसी यसअघि जिल्ला कमिटी अध्यक्षमा पराजित भएका थिए ।

केसी र वर्तमान पार्टी अध्यक्ष विजयविराज विष्टबीच चुनावी प्रतिस्पर्धा भएको थियो । केसीले पार्टीको पूर्व सचिवालय सदस्य र पूर्व कार्यालय सचिवको रुपमा समेत काम गरे थिए ।

अहिले ५ जना आकांक्षी भएपनि अन्तिममा विष्ट र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने एमाले नेताहरुको भनाइ छ । अहिले नेताहरु सहमतिका लागि जुटिरहेका छन् ।

चुनौतीको बेलामा पनि जनताको लोकप्रिय पार्टी एमाले : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक अराजकता फैलाएर मुलुकलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

नेकपा एमाले प्युठानको दशौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाएर जनतालाई निराश बनाउने काम भइरहेको बताए । ‘समाजमा जसले अराजक कुरा गर्दछ त्यसका वरिपरि मानिसहरू झुम्मिने परिस्थिति बनिहरेको छ’, पोखरेलले भने ।

जसको सामाजिक जीवन सबैभन्दा विवादित छ त्यसैको पछाडि जनता लागेर मुलुक बन्न नसक्ने पोखरेलले बताए। त्यो कुरा जनतालाई बुझाउन सक्नु पर्ने उनको धारणा छ ।

नेपाललाई नयाँ विकल्पको खोजिएका नाममा देशलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको पोखरेलले बताए । जनताले आफ्नो संविधान आफै निर्माण गरेर संविधानतः सार्वभौमसत्ता सम्पन्न भएकाले अब नेपाली जनता राष्ट्रका निर्माता बन्नु पर्ने पोखरेलले बताए ।

पोखरेलले नेकपा एमाले चुनौतीको बेलामा पनि जनताको लोकप्रिय पार्टी बनेको बताए । उनले शक्ति सन्तुलनमा एमाले कमजोर भए पनि मुलुकको भविष्यका लागि समीकरण बनाएर अघि बढेको उनले बताए ।

अहिले बनेको नयाँ समीकरण मिसन २०८४ सम्म लैजानुपर्ने उनको जोड थियो । एमालेले आजको होइन भविष्य हेरेर नयाँ समीकरणलाई अघि बढाएको हो त्यसैले ०८४ सम्म समीकरण कायम रहनुपर्छ पोखरेलले भने ।

मुलुकलाई थप बिग्रन नदिन गठबन्धन भत्काएर नयाँ समीकरण बनाइएको बताउदै उनले मुलुकलाई सङ्कटबाट निकाल्न र ओरालो यात्राबाट रोक्न सकिन्छ कि भनेर गठबन्धन भत्काएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर