फेरियो अमरसिंहको सालिक, ओलीले ६ महिना पहिल्यै भनेका थिए– अनुहार मिलेन
कैलाली । डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पुरानो सालिक हटाएर नयाँ पूर्ण कदको अनावरण गरिएको छ ।
अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्ण कदको नयाँ सालिक अनावरण गर्दै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्ण कदको सालिक राखिएको बताएका थिए ।
‘धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका छन् ’ उनले भने,‘एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौँ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा ६ महिना पहिले नै नगर प्रमुख जोशीसहितका प्रतिनिधीहरुलाई अमरसिंह थापाको अनुहार अनुसारको सालिक नभएको बताएका थिए । ओलीले तत्काल सालिक फेर्न पनि उनीहरूलाई सुझाव दिएका थिए ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा डडेल्धुरा पुगेका ओलीले मङ्सिर १५ गते अमरगढी किल्लाको अवलोकन गर्दै राष्ट्रिय विभूति थापाको अनुहार नमिलेको भन्दै तत्काल सालिक फेर्न सुझाव दिए ।
‘ यो किल्लाले त्यसबेला महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लामध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिस इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइ थियो ’ ओलीले त्यो बेला भनेका थिए, त्यति महत्त्वपूर्ण भूमिका खेलेका राष्ट्रिय विभूतिको अनुहार नै नमिल्ने सालिक राख्ने कुरा राम्रो होइन । तत्काल यो फेर्नु होला ।’
ओलीले दिएको सुझावको ६ महिनापछि नयाँ सालिक अनावरण गरिएको हो । अङ्ग्रेजहरूसँगको लडाइ लड्न यहि किल्लामा अमरसिंहको सेनाको फौज लामो समयसम्म बसेको इतिहासकार बताउँछन् ।
नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् ।
युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण १८औँ शताब्दीमा गरेको बताइन्छ ।
विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनःनेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ ।
ओलिले भनेको सही रहेछ । अनि देशको ससानो कुराको पनि ख्याल गरेको हेर त ओलिले । देशको माया भनेको त यो हो नि । अरू त नक्कली हुन् । ओलि र एमाले हुन यो देशको सच्चा विकास गर्ने ।