प्यूठान एमालेको अध्यक्षका लागि तीन जनाको उम्मेद्वारी, मुख्य प्रतिस्पर्धा विष्ट र शर्माबीच
रुपन्देही । नेकपा एमाले प्यूठानको दशौं अधिवेशनबाट अध्यक्षका लागि तीन जनाको उम्मेद्वारीपरेको छ । यसअघि ५ जनाले अध्यक्षको रुपमा प्रचार गरेपनि सोमबार राती अन्तिम उम्मेदारीमा भने तीन जनाले मात्र अध्यक्षमा मनोनयन गरेका हुन् ।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष विजयविराज विष्ट, प्रदेश कमिटी सदस्य मधुर शर्मा, र नेता अजय सिंहले उम्मेद्वारी दिएका हुन् । सोमबार उम्मेदारी भएपनि नेताहरुले सहमतिको प्रयासका लागि निर्वाचन मंगलबार बिहानलाई सारेका छन् ।
त्यसैगरी उपाध्यक्षमा माधवराज पौडेल, मेघमसिंह कवर, श्याम थापाले उम्मेदारी दिएका छन् । सचिवमा भने इन्द्रमणि पौडेलको एकल उम्मेदारी परेको छ । यसअघि उनले अध्यक्षमा दावेदारी गरेका थिए ।
खुला उपसचिवमा हिरामणी भण्डारी, बालाजु श्रेष्ठ र रामचन्द्र रेग्मीको उम्मेदारी परेको छ महिला उपसचिवमा भने इश्वरा आचार्यको एकल उम्मेदारी परेको छ । ८९ सदस्य रहने जिल्ला कमिटीमा भूगोलबाट आउने सबै सदस्य निर्विरोध भइसकेका छन् ।
अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेपनि मुख्य प्रतिस्पर्धा भने विष्ट र शर्माबीच रहने स्थानीय नेताहरुको भनाइ छ । निवर्तमान अध्यक्ष रहेका विजयविराज विष्ट आफूले पूरा समय काम गर्न नपाएको भन्दै प्रचारमा छन् ।
अखिलमा लामो समय काम गरेका बिष्टले माओवादी द्वन्द्वकालमा प्यूठानको विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव छ । उनी पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको सचिवालयमा बसेर काम गरेका थिए । लुम्बिनी प्रदेश कमिटीको पूर्व सदस्य रहेका विष्टकै कार्यकालमा प्यूठानमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदा संघीय सांसद् र प्रदेससभा १ को सांसद् एमालेले जितेको छ ।
प्यूठानको राजनीति वृतमा एउटा चर्चा सँधै भइरहन्छ । त्यो हो, एमालेका लागि दाखाक्वाडी र कांग्रेसका लागि टिकुरी क्षेत्र । यही क्षेत्रबाटै दुई ठूला पार्टीका नेतृत्व पटकपटक चुनिने गरेका छन् । संयोगबस अहिले पनि विजयविराज विष्ट र मधुर शर्मा दाखाक्वाडीबाटै अध्यक्षका आकांक्षी छन् । विष्टले सर्वसम्मत नेतृत्व चयनका लागि जोडबल गरिरहेका छन् ।
अघिल्लो अधिवेशनमै अध्यक्षको आकांक्षी देखिएका नेता मधुर शर्मा यसपाली जसरी पनि पार्टी अध्यक्ष हुनेगरी लागिपरेका छन् । एमाले प्यूठानका पूर्व उपसचिव शर्मा बहालवाला प्रदेश कमिटी सदस्य हुन् । प्रदेश कमिटी सदस्य भएपनि उनको हुटहुटी जिल्ला अध्यक्ष भएर एक कार्यकाल प्यूठानमै काम गर्ने संकल्प बोकेर हिंडिरहेका छन् ।
जिल्लामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले पनि यसपाली अध्यक्षमा आकांक्षी हुनु स्वभाविक रहेको उनको प्रतिक्रिया छ । जनताका समस्यालाई आफ्नै समस्याजस्तै ठानेर काम गर्ने नेताको रुपमा उनलाई कार्यकर्ताले चिन्छन् । मनमा लागेको कुरा प्रष्टसँग राख्ने र जो कोहीसँग क्षणभरमै घुलमिल हुने उनको छ ।
युवा नेता शर्माले दलभित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी समग्र जिल्लाको नेतृत्व गर्न आफूलाई सहज हुने उनको बुझाई छ । उनी सहमतिका लागि यसपाली नेतृत्व अरुलाई सुम्पने मनशायमा देखिदैनन् ।
पुरानै आकांक्षीमध्ये अर्का पात्र हुन् अजय सिँह । नौवहिनी गाउँपालिका ६ लुङ निवासी सिँहको बसोवास अहिले काठमाण्डौँमा छ । चुनावको बेला मात्र जिल्लामा झुल्किने भनेर उनको बेलाबेला आलोचना समेत हुने गरेको केही कार्यकर्ता बताउँछन् । यसपाली नेतृत्वको लागि आफू पछि नपर्ने उनले बताएका छन् ।
सिंह पार्टीको पूर्व प्रदेश कमिटी सदस्यसमेत हुन् । उनी एमाले संस्थापक नेता विरबहादुर सिंहका छोरा हुन् । प्यूठान–काठमाण्डौँ सम्पर्क मंचका संस्थापक अध्यक्ष सिँह लामो समय पार्टीमा पुर्याएको योगदानले पनि आफ्नो बलियो दाबी अध्यक्षमा हुनु स्वभाविक रहेको प्रतिक्रिया दिन्छन् ।