भारत चुनावको रुझान- एक्जिट पोलले हावा खाएको टिप्पणी, दुवै गठबन्धनको कडा टक्कर – Nepal Press

भारत चुनावको रुझान- एक्जिट पोलले हावा खाएको टिप्पणी, दुवै गठबन्धनको कडा टक्कर

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा त्यहाँका टेलिभिजन च्यानलहरुमार्फत गरिएको एक्जिट पोलले हावा खाएको टिप्पणी शुरु भएको छ । एक्जिट पोललाई राहुल गान्धीले मोदी मिडिया पोल भनेका थिए ।

एक्जिट पोलले भाजपालाई ४ सय सीट कटाएका थिए । तर मतगणना जारी रहदा एक्जिट पोलको दावी कमजोर देखिएको छ । एक्जिट पोलले दावी गरेभन्दा दोब्बर सीटमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले अग्रता लिइरहेको छ । बिजेपी गठबन्धनले एक्जिट पोलको दावी अनुसार अग्रता लिन सकेको छैन ।

भाजपा एक्लैले वहुमत ल्याउने दावी गरिएकोमा उसले एकल वहुमत ल्याउने सम्भावना कमजोर बनेको छ । मुस्किलले एनडीए गठबन्धनले बहुमत ल्याउन सके पनि नरेन्द्र मोदीका लागि यो नतिजा सन्तोषजनक होइन । विपक्षी गठबन्धनले २९५ सीट ल्याउने दावी गरे पनि एक्जिट पोलले १४० भन्दा तल देखाएको थियो ।

तर प्रारम्भिक रुझानमा विपक्षी गठबन्धनले २२६ सीटले अग्रता लिइरहेको छ । उत्तर प्रदेश,विहार,महाराष्ट्रजस्ता धेरै सीट भएका प्रदेशमा भाजपालाई विपक्षी गठबन्धनले कमजोर बनाइदिएको छ । भाजपाले क्लिनस्वीप गर्ने आँकलन गरिएका मध्यप्रदेश,राजस्थान,गुजरातजस्ता गढमा उसले अपेक्षित अग्रता लिन सकेको छैन ।

भाजपाले धेरै अपेक्षा गरेको पश्चिम बंगालमा पनि त्रिणमुल कांग्रेसले अग्रता लिएको छ । केही घण्टा अघिसम्म भाजपा गठबन्धनले ४ सय पार गर्ने भनेर उत्साह जनाइरहेका भारतीय टेलिभिजन च्यानलका एंकरहरुले समेत स्वर परिवर्तन गर्न थालेका छन् । इण्डिया गठबन्धनले नसोचेको अग्रता पाइरहेको र भाजपाको आँकलन कमजोर बनेको भन्दै उनीहरु एक्जिट पोलको दावीबाट पछि हट्दैछन् ।

कांग्रेस प्रवक्ता सुप्रिया सिन्धेले एक्जिट पोलका नाममा गरिएको तिकडमबाजीले हावा खाएको टिप्पणी गरेकी छन् । भाजपाको प्रायोजनमा पाँचौ चरणको मतदानलगत्तै २१ मे मै एक्जिट पोलको रिपोर्ट तयार पारिएको दावी गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर