बजेटको छलफलमा छैन चासो- संसद हापेर कहाँ गए सांसद ?
काठमाडौं । संसदमा अहिले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आइतबारदेखि छलफल सुरू गरिएको हो ।
बजेट प्रस्तुत गर्ने दिन बैठकमा सांसदहरू भरिभराउ देखिन्थे । देशको आगामी बजेट साथै समग्र आर्थिक विषयको छलफलमा सहभागिता जनाउन सांसदहरू नै उत्साही नदेखिएको सदनको उपस्थितिले जनाउँछ ।
सांसदहरूले उठाएका महत्वपूर्ण सवाल साथै महत्वपूर्ण छलफलमा मन्त्रीहरूसमेत अनुपस्थित भएको भनेर पटकपटक आलोचना भइरहेको छ । सांसदहरूको नगण्य उपस्थितिले सांसदहरू भत्ता पचाउन मात्र हाजिर गर्न जाने गरेको धेरैको आलोचनालाई बल पुगेको छ ।
२७५ सांसद रहेको प्रतिनिधिसभाका अधिकांश बैठक रचनात्मक बहसको सट्टा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूको जुहारीमै बित्ने गरेको छ ।