नेप्सको प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु – Nepal Press

नेप्सको प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरू बीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी प्रमुख आतिथि रहेका थिए । नेपाल राष्ट्र बैंकका उच्च पदस्थहरू, सरकारी निकायका पदस्थहरू, बैंक वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू लगायतका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वैशाख १३ गते दुवै संस्थाहरूले आ-आफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपछि उक्त प्राप्ति सम्बन्धीको कार्य सम्पन्न गरिएको थियो ।

भुक्तानी तथा फर्छ्यौट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समीक्षा सहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो ।

दुवै संस्थाहरू बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित भएकाले प्राप्ति पश्चात् पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।

दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ-आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् ।

नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ । एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्तिपछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड तथा कुल कोष १ अर्ब ४४ करोड कायम भएको छ । २०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्बभन्दा बढी रहेको छ । संयुक्त कारोबार संख्या १३ करोड भन्दा बढी रहेको छ । १३२ भन्दा बढी कर्मचारीहरूको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउन मद्दत पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर