लिङ्देन-उपसभामुखको सवाल जवाफपछि सदनमा एमाले र राप्रपाका दुई शाहीबीच घोचपेच (भिडिओ) – Nepal Press

लिङ्देन-उपसभामुखको सवाल जवाफपछि सदनमा एमाले र राप्रपाका दुई शाहीबीच घोचपेच (भिडिओ)

काठमाडौं । बजेटको छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोज्दै उपसभामुख इन्दिरा रानासँग सवाल जवाफ गरेपछि एमालेका सांसद दयालबहादुर शाहीले आपत्ति जनाएका छन्।

बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री नभई आफू नबोल्ने अडान लिङ्देनले लिएपछि उपसभामुखसँग सवाल जवाफ भएको थियो।

सदनको रोष्ट्रममा उभिएर उपसभामुखसँग सवाल जवाफ भएपछि सांसद शाहीले उठेर सदन दोहोरी खेल्ने ठाउँ नभएको टिप्पणी गरे।

उनले भने, ‘सभामुखज्यू यो दोहोरी हो कि सदन हो हामीले संसदीय व्यवस्था विशेष गरी सदन, सभामुखको, केही समयअघि माननीय रामहरि खतिवडाबाट पनि त्यस्तै त्यस्तै भयो। कम्तीमा सदनको मर्यादा राख्नुपर्छ बोल्न गएपछि सरासर बोल्नुपर्छ। सभामुखसँग दोहोरी खेल्न हुँदैन ।’

उनले त्यति बोलेपछि राप्रपाका सांसदहरूले आपत्ति जनाए। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद कसैको पेवा नभएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘राष्ट्रिय पार्टीको संसदीय दलको नेता बोलिराख्नुभएको छ। अर्थमन्त्री खोजिराख्नुभएको छ। अर्थमन्त्री खोजेको कुरा दोहोरी हुन्छ। नियमावली पढेर आउनुपर्‍यो बजेटमाथिको छलफल हुँदा अर्थमन्त्री हुनुपर्छ। यो कसैको पेवा होइन ।’

शाहीले बोलेपछि सभामुख देवराज घिमिरे आएर राजेन्द्र लिङ्देनलाई आसन गर्न गर्न आग्रह गरे। उनले अर्थमन्त्री राष्ट्रियसभामा बजेटमाथि उठेको प्रश्नको जवाफ दिन गएको जानकारी गराउँदै आएपछि बस्ने गरी बैठक १५ मिनेटका लागि स्थगित गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर