मध्यपुर थिमिको नगदेशमा वः फेस्टिभल र हरियो तरकारी एक्स्पो हुने
भक्तपुर । जिल्लाको मध्यपुर थिमि नगरपालिका- ७ स्थित नगदेशमा नेवारी खाजाको एक परिकार वः फेस्टिभलसँगै हरियो तरकारी एक्स्पो हुने भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर पर्यटन विकास काउन्सिलको आयोजनामा यही जेठ २६ गते शनिबार उक्त फेस्टिभल हुने भएको हो ।
काठमाडौं उपत्यकामै हरियो तरकारी उत्पादनमा ख्याति कमाएको मध्यपुर थिमिस्थित नगदेशको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न वः फेस्टिभलसमेत गर्न लागिएको काउन्सिलले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।
काउन्सिलका अध्यक्ष रमेश प्रजापतिले नेपालभाषी समुदायको सिथि नखःको सन्दर्भ पारेर नगदेशमा वः फेस्टिभल गरिएको बताए ।
यस वर्ष नेपालभाषी समुदायको सिथि नखः यही जेठ ३० गते परेको छ । यस पर्वमा नेपालभाषी समुदाय विभिन्न प्रकारका वः पकाएर आफू पनि खान्छन् र छोरीचेली बोलाएर नखत्याः मनाउने प्रचलन छ । नेपालभाषी समुदायले सिथि नखःमा विशेषतः मुगी र मासको वः पकाउँछ । वः नेपालभाषी समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा अनिवार्य छ । त्यसैले पर्व वा उत्सवअनुसार नेपालभाषी समुदायमा फरक फरक वः पकाएर खाने प्रचलन छ ।
‘अहिले बजारमा जस्तो पनि वः पाइन्छ’, काउन्सिल अध्यक्ष प्रजापतिले भने, ‘जसले मौलिक वः खतरामा पर्दै आएको छ । त्यसैले नयाँ पुस्तासँगै गैरनेपालभाषी समुदायलाई वःको प्रकार र परिकारबारे जानकारी दिने उद्देश्यले फेस्टिभल आयोजना गरेका हौं ।’
उनका अनुसार नगदेशमा पछिल्लो समय रैथानेसँगै अन्तर्राष्ट्रिय तरकारी खेती हुन थालेको छ । युनेस्कोमा सूचीकृत कोरियाली अचार बनाइने चाइनिज क्याबेजको उत्पादन नेपालभरमै नगदेशको उत्कृष्ट भएको उनी बताउँछन् ।
सोही तरकारीबारे जानकारी दिन नगदेशमा हरियो तरकारी एक्स्पो गर्न लागिएको अध्यक्ष प्रजापतिले बताए । एक्स्पो हेर्न कोरियाली पर्यटकहरुसमेत नगदेश पुग्ने उनी बताउँछन् । एक्स्पोमा तरकारी खरिद गर्नसमेत पाइने उनको भनाइ छ ।
फेस्टिभलमा वःको परिकारसँगै अन्य खाना पस्कने १८ र हरियो तरकारीका ७ वटा स्टल रहनेछन् । यसका साथै स्थानीय आमा तथा महिला समूहहरुको समेत छुट्टाछुट्टै स्टल हुने काउन्सिलका चन्द्र चक्रधरले जानकारी दिए ।
उनले स्थानीय परम्परागत एवं हस्तकलाका उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण हुने छुट्टै स्टल हुने जानकारी दिए ।
उनका अनुसार फेस्टिभल अवधिभर स्थानीय बाजागाजा समूहको प्रस्तुतिसँगै नेपालभाषी गीतसंगीतका अहिलेका चर्चित गायकगायिका जाेडी राजमान महर्जन र निशा देसारको सांगीतिक कार्यक्रम रहेको छ ।
फेस्टिभलमा गाँजरको वाइन, बिटरुटको जुस निःशुल्क वितरण गरिने आयोजक काउन्सिलले जनाएको छ ।