जसपा नेपालको हातबाट मधेशको सत्ता पनि गुम्ने निश्चित, आज विश्वासकाे मत लिने तयारीमा मुख्यमन्त्री – Nepal Press

जसपा नेपालको हातबाट मधेशको सत्ता पनि गुम्ने निश्चित, आज विश्वासकाे मत लिने तयारीमा मुख्यमन्त्री

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)नेपालको हातबाट साढे ६ वर्षपछि मधेशको सत्ता गुम्ने निश्चित भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँछन् । त्यसका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएको छ ।

सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । सोही कारण संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने निर्णय लिइसकेको बेला हिजोमात्रै नेकपा एस पनि साथ छाड्यो ।

नेकपा एसबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका गोबिन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री रहेकी बेची लुङ्गेलीले राजिनामा दिइन् । लगत्तै नेकपा एसले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझायो ।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । उनी आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिए सरकार जोगाउन सकिदैन् । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन् ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा हत्या अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकाले निलम्बित छन् । अहिले सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन छैन् ।

विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार आजै बहिर्गमन हुनेछ । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलले दावी पेश गर्नेछन् ।

गठबन्धनमा आवद्ध तीन दल एमाले, माओवादी र जनमत पार्टीले जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेको छ । सरकारबाट बाहिरिएको नेकपा एस तथा १/१ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि सरकारमा हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर