गठबन्धन दलको साझा संकल्पसँग बजेटको तालमेल मिलेन : ठाकुर गैरे (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले बजेटमा साझा न्यूनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प, कार्यक्रम, समझदारी, नीति सिद्धान्तसँग तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे । बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको सांसद गैरेको भनाइ थियो ।
प्रतिपक्षले बजेटलाई निहुँ बनाएर सरकार ढाल्न सकिन्छ कि भनेर विरोधका लागि विरोध गर्ने, सत्तापक्षमा रहेकाले अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको गैरेले बताए ।
उनले भने, ‘आलोचनात्मक ढङ्गले प्रस्तुत हुँदा सही सुझावहरू दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ । बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ ।’
बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौती रहेको उनले औंल्याए ।