ओलीलाई प्रधान सेनापतिको संज्ञा दिँदै गगनले भने- बजेट हामीले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्छ (भिडिओ) – Nepal Press

ओलीलाई प्रधान सेनापतिको संज्ञा दिँदै गगनले भने- बजेट हामीले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटबारे बोल्ने विषयमा आफू अलमलिएको टिप्पणी गरेका छन् । बजेटमाथि छलफलको क्रममा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा दिए ।

प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?’

उनले बजेटमाथि नराम्रो टिप्पणी गर्दा ६/८ महिनापछि आफैले काँध हाल्नुपर्ने अवस्था आउनसक्ने बताए । प्रधानमन्त्री र अर्थमन्त्रीले आफूहरूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीले असन्तुष्टि जनाएको सन्दर्भमा गगनले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तो छ गगनको भनाइ

एक वर्षअघि पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटको बाचन गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले बजेट उत्कृष्ट रहेको टिप्पणी गर्नुभएको थियो । मैले त्यो बेलामा पनि भनेको थिएँ- एकवर्षपछि नयाँ बजेट ल्याउँदै गर्दा आजकै अर्थमन्त्रीलाई एक वर्षभित्र तपाईंले गरेको अनुमान मिल्यो कि मिलेन, प्रक्षेपण ठीक भयो भएन भनेर सोध्न पाउँछु कि पाउँदिन होला भनेको सम्झन्छु । मैले सोध्न पाइनँ ।

२०८०/८१ को बजेटमा गरिएको घोषणाको जिम्मा कसले लिन्छ थाहा छैन । अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ? सत्ता घटकको मुख्य दलले जिम्मा नलिएपछि अन्य दलमाथि टिप्पणी गर्नु छैन ।

कुनै दल सर्वोच्चमा उभिनुपर्ने अवस्था आएको छ, कुनै दल संसदीय समितिमा उभिनुपर्ने अवस्था आएको छ । तर, म बोल्ने कसरी भनेर अलमलिएको छु । यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं यतिधेरै उथलपुथल भएको छ संसदमा ६/८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर