मधेशका मुख्यमन्त्री यादवलाई लोसपाले पनि विश्वासको मत दिने – Nepal Press

मधेशका मुख्यमन्त्री यादवलाई लोसपाले पनि विश्वासको मत दिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादव जसपा नेपाल संसदीय दलका नेता पनि हुन् । पार्टी विभाजन भएको तथा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने अवस्था देखेपछि बिरामी परेको भन्दै विश्वासको मत सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर आग्रह अस्वीकार गरेपछि उनी विश्वासको मत लिन तयार भएका हुन् ।

नेपाली कांग्रेस विश्वासको मत दिने निर्णय पहिले नै गरिसकेको छ । लोसपा पनि विश्वासको मत दिने निर्णय गरे पनि उनी विश्वासको मत पाउने देखिँदैन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् । लोसपाका एक सांसद निलम्बित छन् ।

जसपा नेपाल, कांग्रेस र लोसपा विश्वासको मत दिएपछि मात्र ४९ सांसद पुग्छ । तर विश्वासको मत पाउन अर्थात् सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर