एमाले रुपन्देही अधिवेशनको सन्देशः नेतृत्वको चलाखीपनले भत्कियो पौडेल–पोखरेल गुट – Nepal Press

एमाले रुपन्देही अधिवेशनको सन्देशः नेतृत्वको चलाखीपनले भत्कियो पौडेल–पोखरेल गुट

रूपन्देही । नेकपा एमाले रुपन्देहीको १० औं अधिवेशनमा यहाँबाट केन्द्रमा पुगेका मुख्य नेताहरुको चलाखीपनले यसअघि प्रचारमा ल्याइएको दुई गुटको राजनीति कमजोर बनेको छ ।

अधिवेशन पहिलेबाट नै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासंचिव शंकर पोखरेलको नाममा केही केन्द्र, प्रदेश, जिल्ला र पालिका तहका नेताहरुले गुट बनाउन खोजेपनि मुख्य नेताहरुको रणनीतिक जवाफले

त्यो चलखेल कमजोर मात्रै भएको छैन यसअघि जिल्ला तहमा रहेका नेताहरुको मतभेद सकाएर सामीप्यता बढाएको छ ।
अधिवेशनमा अध्यक्षमा ५ जना मुख्य नेताहरु दावेदार रहेका थिए तर उनीहरु सबैलाई चित्त बुझाएर सबै नेतृत्व सर्वसम्मत बनाउनु एमालेजनलाई नै आश्चर्य बनाएको छ ।

अध्यक्षमा दावेदार रहेका निवर्तमान अध्यक्ष तेजेन्द्र केसी र अर्को नेता खेम लुईटेल अहिलेको टीममा त अटाएनन् तर अन्तिम समयमा उनीहरु राजीखुसीका साथ सर्वसम्मत बनाउन तयार भए । उनीहरुलाई के आश्वासन दिइयो त्यो समयले बताउला तर उनीहरुको अनुहारमा देखिएको चमकले निराश नभएको संकेत गर्दथ्यो ।

०५६ सालदेखि जिल्ला कमिटीमा रहेका तेजेन्द्र केसीले साढे दुई दशकमा जिल्लाबाट बिदा भएको भन्दै खुसी व्यक्त गरेका थिए । अन्य तीन आकांक्षी अध्यक्ष, उपाध्यक्ष र सचिवमा व्यवस्थापन भएकाले पनि पहिले ती पदमा दावी गरेकाहरुले चित्त दुखाएका हुनसक्छन् ।

अहिलेको नेतृत्व छनौटमा गरिएको भूगोग छनौट, नेताहरुको पार्टीमा भएको लगानीअनुसारको जिम्मेवारीले अहिले विशेष चर्चा पाएको छ । रुपन्देही एमालेका सबै तहमा रहेका नेताहरुको गृहजिल्ला भएकोले पनि यहाँ धेरै आकांक्षी हुनु र नेताअनुसारका पात्र उम्मेदार बन्न तयार हुनु स्वभाविक हो । तर अहिलेको पदाधिकारीमा छानिएको भूगोल छनौटले अधिकांश क्षेत्रको प्रतिनिधित्व गरेको छ ।

अध्यक्ष बनेका यज्ञ गैरे तिलोत्तमा नगरपालिकाका हुन् । उनी लामो समय त्यहाँको भूगोलमा बसेर अन्य संघसंस्थामा जोडिएर काम गरेका छन् । उपाध्यक्ष बनेका हितराज पन्थी भैरहवाका हुन् । उनी पनि त्यो क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । सचिव बनेका चित्रबहादुर कार्की सैनामैनाका हुन् । त्यहाँका पूर्व मेयरसमेत रहेका उनी त्यहाँको सबै भूगोल बुझेका अनुभवी नेता हुन् ।

उपसचिव बनेका बाबुराम पन्थी बुटवलका हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिमा आधार बनाएका उनी युवा समूहको प्रतिनिधित्व गर्दछन् । अर्को सहसचिव सुनिता ठठेर दक्षिणी क्षेत्रबाट प्रतिनिधित्व गर्दछिन् । पूर्वप्रदेश सांसद रहेकी उनी आधारभूत तहको राजनीति बुझेकी नेतृ हुन् । यसरी सबै क्षेत्र समेटिएका पदाधिकारी छानेर नेतृत्वले अधिकांश प्रतिनिधिको मन जितेका छन् ।

त्यसो त पदाधिकारीको आकांक्षा राखेका केही उम्मेदारले मन कुँडिएको बताउँदै आफ्नो योगदानको कदर नभएको गुनासो पनि सुनाए तर अहिले जिम्मेवारी पाएका अधिकांशलाई न्याय भएको धेरै प्रतिनिधिले सुनाए । तर यो विषय सदस्यहरुका हकमा भने अलिक आलोचनाको विषय बन्यो अर्थात सदस्यहरु छनौटमा भूगोल, इतिहास र क्षेत्रगत तहका नेताहरु नसमेटिएको गुनासो छरपष्ट सुनियो ।

अधिवेशन पहिले जेठ १६ र १७ गते गर्ने भनिएको थियो । एमाले अध्यक्ष केपी ओलीको समय नमिलेर २३ र २४ गतेलाई सारियो तर त्यो समयमा पनि ओलीको समय मिलेन अर्थात उनी आएनन् । उद्घाटन गर्ने केही घन्टाअघिसम्म पनि उनी आउने चर्चा भइहरेको थियो तर अन्तिममा उनलाई स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी दिइयो । कार्यक्रममा प्रमुख अतिथि रहेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओली घाँटीमा एलर्जीको समस्या आएर नआएको सन्देश नेताकार्यकर्तालाई दिएका थिए ।

रुपन्देहीको नेतृत्वका लागि उपाध्यक्ष पौडेल र प्रदेशबाटै महासचिव रहेका शंकर पोखरेलको नाममा दुई समूह बनेर चुनावमा जाने धेरैलाई आंकलन थियो । उनीहरु निकट मानिने केही नेताहरुले त्यसको तयारी गरेर प्रतिनिधि छनौट गरेको पनि चर्चा बाहिर आयो तर पार्टी केन्द्रको मुख्य नेतृत्व ताकेका दुवै नेताहरुले यसलाई कमजोर बनाउने रणनैतिक तरिका अपनाए ।

अधिवेशनको दुई दिनअघि प्यूठान जान आएका महासचिव शंकर पोरलेललाई यहाँको अधिवेशनमा रोक्न र बोलाउन जिल्ला नेतृत्वले आग्रह गरेपनि महासचिव पोखरेलले पछि त्यो आरोप झेल्नुपर्ने संभावनालाई ख्याल गर्दै आफू अन्तै व्यस्त रहेर आउन नसक्ने खबर दिए । प्रदेशका अन्य धेरै जिल्लाको अधिवेशनमा पुगेका उनी यहाँ चाहेको भए सजिलै आउन र बस्न सक्थे तर गरेनन् ।

बुटवलमा भएको पार्टीको प्रदेश अधिवेशनमा उनी आफू चीनमा रहेको समयमा पनि नाम जोडेर समूहको नाममा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका थिए । जवाफमा भनेका थिए ‘विष्णु पौडेल र मेरो कुनै समस्या छैन तर नाम जोडेर गरिने यस्तो गतिविधिले पार्टीलाई कहाँ पुराउँछ रु प्रदेश अधिवेशनमा जे गरियो त्यो ठूलो भूल थियो, म नेपालमै थिएन, चीनबाट यहाँ कुनै फोनसम्पर्क हुने थिएन तर मेरो नाम जोडियो समूहका नाममा ।’

अधिवेशनको १ दिनअघि रुपन्देही आएका उपाध्यक्ष विष्णु पौडेल पनि उस्तै चलाखीपूर्वक अगाडि बढेका छन् । प्रदेशमा रहेका पार्टीका जिल्ला अधिवेशनमै नदेखिएका उनी रुपन्देही पनि दुई दिन मात्रै बसेर काठमाण्डौ फर्किए । आएको दुई दिनमै उनले अधिकांश आकांक्षीको सुक्ष्म अध्ययन गरे र सर्वसम्मतका लागि अभियान थाले । त्यसो त यसको तयारी उनले काठमाण्डौ बसेर गरेका थिए भने यहाँका नेताहरुलाई पनि त्यसैगरी जिम्मेवारी दिएका थिए ।

अहिलेको नेतृत्व छनौटमा पौडेलले निकालेको रणनीतिक बाटोले यहाँ बसेर गुटको चर्चा चलाउने केही नेताहरुलाई भने आश्चर्यमा पारेको छ । उनले दुवै पक्षमा रहेको भनेर चर्चामा आएका पात्रहरुलाई संयोजन मात्रै गरेनन् महासचिव पोखरेलको समेत मन जित्नेगरी नेताहरुसँग समझदारी गराएर अर्को दिनै काठमाण्डौं फर्केका थिए । महासचिव पोखरेलको गृहजिल्ला दाङ र प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको गृहजिल्ला पालपामा सर्वसम्मत भएपछि रुपन्देहीमा पनि त्यो प्रकृयामा जानुपर्ने दवावमा थिए उपाध्यक्ष पौडेल ।

तर अहिले निर्वतमान अध्यक्ष बनेका तेजेन्द्र केसीलाई मनाउनु सामान्य थिए । महासचिव पोखरेलको भावनालाई समेट्दै केन्द्रीय सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, दलबहादुर राना, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठसहित नेत्र पन्थी, भूमिश्वर ढकाल, सावित्रा अर्याल, गोमा आचार्यसहितका नेताहरुको रायमा अहिलेको नेतृत्व सर्वसम्मत बनाउन उपाध्यक्ष पौडेलले विशेष भूमिका खेले ।

त्यसो त आकांक्षीहरुलाई निर्वाचनमा लगेर लोकतान्त्रिक विधिमा गएको भए राम्रो हुने विषय पनि नउठेको होइन तर त्यसरी जाँदा पहिले प्रचारमा आएको दुई गुटका नाममा प्यानल बन्ने र पार्टीमा दुई धार बन्नसक्ने त्रासलाई अहिलेको सर्वसम्मत प्रकृयाले रोक्ने प्रयास गरेको छ ।

एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईका अनुसार पार्टीका शीर्ष नेताहरुको नाम जोडेर समूह बनाउने विषय उचित नहुने र त्यो टिक्न पनि नटिक्ने जनाएका छन् । रुपन्देही कपिलवस्तु लगायतका जिल्लामा त्यसरी प्रचार भएका समूहहरु आफै हराएको उनको विश्लेषण छ ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य शेरबहादुर केसीले पार्टीकै नेतृत्व गर्ने तयारीमा रहेका नेताहरुले जिल्ला तहमा समूह बनाउने गलत प्रचार भएको बताउँदै त्यो नेताहरुले नभएर यहीँ बसेर सानो झुण्डमा रमाउनेहरुको आत्मरती मात्रै भएको विश्लेषण गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर