जसपा नेपालको महाधिवेशन: राष्ट्रिय दल सबैलाई निम्ता, छुटाइयो अशोक नेतृत्वको जसपा – Nepal Press

जसपा नेपालको महाधिवेशन: राष्ट्रिय दल सबैलाई निम्ता, छुटाइयो अशोक नेतृत्वको जसपा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन यही जेठ २८ गते जनकपुरमा उद्घाटन हुँदैछ । अहिले महाधिवेशनका लागि प्रतिनिधि जाने क्रम जारी छ ।

उद्घाटन सत्रमा विदेशीसहित देशका सबै दलका अध्यक्षहरुलाई बोलाइएको छ, तर एक महिनाअघि मात्रै पार्टी फोडेर हिँडेका अशोक राई नेतृत्वको जसपालाई भने बोलाइएको छैन ।

नेता प्रकाश अधिकारीले भने, ‘हामीले सबै राष्ट्रिय दलका अध्यक्षहरुलाई बोलाएका छौं, तर अशोकजीहरुलाई बोलाएका छैनौं । उहाँहरुको पार्टी हो कि के हो अहिलेसम्म निश्चित भएको छैन । केका आधारमा बोलाउने ?’

अहिले जनकपुरमा प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य जारी रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी ५ बजेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २८ गते बेलुकी ५ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् ।

जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क एक हजार ५०० तोकेको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटोसमेत माग गरिएको छ ।


प्रतिक्रिया

One thought on “जसपा नेपालको महाधिवेशन: राष्ट्रिय दल सबैलाई निम्ता, छुटाइयो अशोक नेतृत्वको जसपा

  1. अशोक राई र उनीसहितको एउटा स्वार्थ समूह जसपा नेपालबाट बाहिरिएको सत्य हो । तर, उनीहरुले नेपालको संविधान र प्रचलित ऐन अनुसार फरक दल दर्ता गरेका होइनन् । दल विभाजन सम्बन्धी ऐन नै निस्कृय रहेका बेला चोरबाटोबाट गरिएको दल दर्ता सर्वोच्चको आदेशले यथास्थितिमा छ । अर्थात त्यो दल हो भन्ने मान्यता नै भुत्तो सावित भइसकेको छ । यस्तो परिस्थिति जानेर पनि यस किसिमले पूर्वाग्रही समाचार लेख्न तपाईहरुलाई लाज लाग्नु पर्ने हैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर