एघार देशका राजदूत फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गर्‍यो : उपेन्द्र यादव – Nepal Press

एघार देशका राजदूत फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गर्‍यो : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

पार्टीको महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरे ।

उनले सरकारले देशको अन्तर्राष्ट्रिय छविसमेत बिगार्ने काम गरेको बताए ।

अध्यक्ष यादवले भने, ‘कतिपय मुलुकमा लाजमर्दो अवस्था छ । जस्तो भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो ।’

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने काम भएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’

दलीय भागबन्डामा राजदूत नियुक्त गर्न नै पहिलेका फिर्ता बोलाएको अध्यक्ष यादवको भनाइ छ ।


प्रतिक्रिया

One thought on “एघार देशका राजदूत फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गर्‍यो : उपेन्द्र यादव

  1. कतिपयले पैसा खाएर पठाएका राजदुत फिर्ता भएकाले पैसा फिर्ता माग्लान भन्ने डर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर