देश विकासका लागि दुई राजनीतिक शक्ति जरुरी: पद्मा अर्याल – Nepal Press

देश विकासका लागि दुई राजनीतिक शक्ति जरुरी: पद्मा अर्याल

रुपन्देही । नेकपा एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले विकासका लागि देशमा दुई पार्टी भए जनताले चाहेअनुसारको विकास हुनसक्ने बताएकी छन् ।

एमाले अर्घाखाँचीका नवौँ जिल्ला अधिवेशनको शनिवार सन्धिखर्कमा उद्घाटन गर्दै नेतृ अर्यालले विकास र समृद्धिका लागि देशमा दुई राजनैतिक शक्ति मात्र हुनुपर्ने भन्दै त्यसका लागि वामपन्थी र काँग्रेसको दुई लाइनको पार्टी भए देशमा राजनैतिक स्थिरता हुने बताइन् ।

नेतृ अर्यालले भनिन् ‘मुलुुकको विकासका लागि मुख्य ३ कुरा चाहिन्छ, दुरदर्शी नेतृत्व, शक्तिशाली पार्टी, राजनैतिक स्थायित्व यो सवै कुरा एमाले पार्टीभित्र छन्, केही समय एमालेमाथि घेराबन्दी भएपनि एमाले अगाडि बढ्यो,पछिल्लो समय राजनैतिक अराजकता मौलाएको छ,त्यसकारण पनि विदेशी शक्तिहरुले चलखेल गरेका छन्।’

नेकपा एमाले जनताको आकर्षणको पार्टी भए पनि आन्तरिक कारणले पार्टीले केही ठाउँमा हार ब्यहोर्नु परेको भन्दै अहिले पार्टीको आन्तरिक जीवनलाई सुढृढ बनाउनका विभिन्न कार्यक्रमहरु अगाडि बढाएको नेतृ अर्यालले बताइन् ।

पूर्व मन्त्री अर्यालले भनिन्–‘समृद्धिको गीत गायर मात्र हुँदैन्,गाउँ खाली हुन थालिसक्यो, दक्ष जनशक्ति दैनिकजसो विदेश पलायन भएका छन्, वाटो, बिजुली,स्वास्थ्य,शिक्षा गाउँमा त पुग्यो तर मान्छे छैनन् गम्भीर बन्ने बेला भएको छ,बिकासले केही गति लिए पनि जनताको जीवन स्तरमा समृद्धि ल्याउन सकिएको छैन्, हामीहरुले परिवर्तन गरेको समाज लक्ष्य नभई सुधार मात्र हो, बलियो पार्टी र राजनैतिक स्थिरताले मात्र लक्ष्य उद्दश्यमा पुग्न सकिन्छ,अहिले मुलुकको अवस्था थप बिग्रन नदिन आजको मुलुकको भबिस्यका लागि हामीहरु सरकारमा सहभागी भई यसरी अगाडि बढेको अवस्था हो ।’

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले अब सिद्धान्तलाई ब्यवहारमा जोडी सवै नेता कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने भन्दै कृषि र पर्यटनबाट नै समृद्धि खोज्नुपर्ने बताए ।

अर्का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सफल बनाउनका लागि पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको बीचमा समन्वय र सहकार्य गरी निर्वाचनमा घोषणा गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने भन्दै जनताको जीवनस्तरमा परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अधिवशनले बिगतको कामको समीक्षा,आगामी कार्ययोजना साथै राजनैतिक,बैचारिक सवालसंगै जिल्लाको विकास निर्र्माण सन्दर्भमा पार्टीभित्र छलफल हुनुपर्ने बताए । उनले पार्टी केन्द्रले तयार गरेका योजना प्रदेश हुँदै जिल्लाले टोलटोलमा पुराएर कार्यान्वयन बनाउनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, केन्द्रीय सदस्य बोमबहादुर बिकलगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला अध्यक्ष पिताम्वर भुसालले विगतमा ठूलो मेहनत गरी पार्टीलाई यो अवस्थामा पुराएको बताए ।

अधिवेशनमा भूगोल तथा विशेष इलाका शाखा,जनवर्गीय संगठन,आयोजकसहित ५ सय ६२ जना प्रतिनिधि रहेको कार्यालय सचिव एवम् प्रतिनिधि ब्यवस्थापन समितिका संयोजक लिलबहादुर बिकले जानकारी दिए । कार्यक्रममा भूकम्पको बेला राहत उद्धारमा पार्टीका तर्फबाट खट्ने पार्टी उपसचिव शम्भुप्रसाद पोख्रेल,लिल बहादुर बिक लगायतका १४ जनालाई सम्मान गरिएको थियो । २ दिनसम्म चल्ने अधिवशनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।

 


प्रतिक्रिया

One thought on “देश विकासका लागि दुई राजनीतिक शक्ति जरुरी: पद्मा अर्याल

  1. अबको प्रमुख राजनीतिक पार्टी रास्वपा हुनेछ भनेर पुराना भ्रष्ट पार्टीहरुले हेक्का राखुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर