काठमाडौं महानगरबाट तालिम लिएकाहरू भन्छन्- सीप त सिक्यौं, जागिर पो कसले दिने हो ?
काठमाडौं । दिवाहाङ राई भोजपुरबाट महिना दिनअघि काठमाडौं आएका थिए । त्यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुकबाट महानगरले निःशुल्क सीपमूलक तालिम दिँदैछ भन्ने जानकारी पाए ।
मेसन (मिस्त्री)को काम गर्दै आएका उनले आफ्नो सीपलाई निर्खान मद्दत पुग्ने सोचेर मार्बल तथा टायल फिटिङसम्बन्धी तालिमको लागि अनलाइन फारम भरे । महानगरले बोलायो, उनी छनोट भए । बुधबार एक महिने तालिम पनि सकाए । मिस्त्रीसँगै मार्बल तथा टायलको काम जानेपछि थप काम पाइन्छ कि भनेर तालिम लिएको उनले बताए ।
तालिम सकिएपछि महानगरले रोजगारी सुनिश्चित गराउने उद्देश्यले रोजगारदातासँग दुई दिन अन्तरक्रियासमेत राख्यो । दिवाहाङ पनि उक्त अन्तरक्रियामा दुई दिन नै सहभागी भए । महानगरले भनेअनुसार काम दिने रोजगारदाता आउने उनमा पनि ठूलो आशा थियो ।
तर, दुई दिनमा एक जना पनि रोजगारदाता आएनन् । उनी निराश भए । बिहीबार नेपालप्रेसकर्मी पुग्दा उनी चर्को घाममा रोजगारदाता कुरेर बसेका थिए । ‘जागिर पाइन्छ कि भनेर रोजगादाताहरु कुरेर बसेको, तर उहाँहरु आउनुभएन’, उनले भने, ‘रोजगारदाता आउनुभएन भने त घर फर्कने त होला !’
उनले काठमाडौं महानगरले दिएको तालिम एकदमै राम्रो भएको र आफूहरुलाई थप तालिम दिनुपर्ने प्रतिक्रिया दिए । उनले यस्तो सीप स्कुलदेखि नै बच्चाहरुलाई सिकाए राम्रो हुने बताए ।
‘यस्तो सीपमूलक शिक्षा सानै कक्षामा सिकेको भए राम्रो हुन्छ, जसले हामी जस्तो बुढेसकालमा सिक्नुपर्दैन थियो होला । पहिल्यैदेखि गरेको भए सजिलो हुन्छ’, दिवाहाङ भन्छन् ।
उनले तालिम गराएपछि रोजगारी पनि दिए सुनमा सुगन्ध हुने सुनाए ।
हुम्लाका सञ्जय जुरेल प्लम्बिङसम्बन्धी मेन्टेनेन्स र रिपेरिङको काम गर्दै आएका छन् । उनी पनि महानगरको तालिम लिन सीप मेलामा पुगेका छन् । तालिममा प्रयोगात्मक र सैद्धान्तिक दुबै सिक्न पाएको उनले बताए ।
सञ्जयले पहिले गर्दै आएको काम र अहिले सिकेको प्लम्बिङको काम पूरै फरक पाएको सुनाए ।
उनी भन्छन्, ‘पहिले ठाउँ हेरेको भरमा काम गरिन्थ्यो । तालिममा ठाउँको नाप के कति हुन्छ, त्यही आधारमा काम गर्नुपर्ने जानकारी मिल्यो । अब नापअनुसार फिटिङ हेर्ने र कहाँ कस्तो फिटिङ हुन्छ, सोहीअनुसार सरलतापूर्वक काम गर्ने सीप सिक्यौं । अब यही कामलाई निरन्तरता दिने तयारीमा छु ।’
उनले पनि कामको लागि रोजगारदाताहरुसँग समन्वय गरिदिन महानगरलाई आग्रह गरे ।
यता प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले महानगरले दिएको प्लम्बिङ, मार्वल टायललगायतका सीप सिकेको प्रमाणपत्र मान्य नहुने बताएपछि तालिम लिएका युवाहरु दुःखी छन् । सीटीईभीटीका सहअध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीईभीटीबाट मान्यता पाउन कम्तीमा तीन महिना सीप सिकेको हुनुपर्ने बताएपछि उनीहरु दोधारमा परेका छन् । महानगरले एक महिनामात्रै तालिम दिएको थियो ।
सीप सिकेपछि दिएको प्रमाणपत्रको केही त काम हुनुपर्ने उनीहरुको साझा माग छ ।
‘कुनै पनि क्षेत्रमा सर्टिफिकेटको भ्यालु होस् भन्ने हो, तर यसको भ्यालु नै नभएपछि जाँगर नै मर्यो’, दिवाहाङ राई भन्छन्, ‘अहिले पनि त काम गरिराखेका छौं । यहाँ सीप बढाऔं भनेर आउने, केही कुरा त प्लस भयो नि ! त्यसैको आधारमा हामी परिक्षा दिन जाँदा सीटीईभीटीले इन्ट्रान्समा सहभागी नगराउने रे ! सरकारी निकायमा जागिर खान गयो भने लेभल वानको खोज्छ । त्यही लेभल वानको सर्टिफिकेट पाइन्छ कि भनेको तर, सीटीईभीटीले नदिने रे !’
उनका अनुसार मेसन, मार्वल, प्लम्बिङको तालिम गरेका अधिकांश यसअघि पनि काम गर्दै आइरहेका थिए । उनीहरुले आफूसँग भएको सीप निखार्न तालिम लिएका थिए ।
त्यतिमात्र होइन लेभल ४ गरिसकेकाहरु पनि काम नपाएपछि महानगरले दिएको सीप सिक्दा पो पाइन्छ कि भनेर आउनेहरु पनि धेरै रहेको उनको भनाइ छ । सीटीईभीटीले दिने लेभल वानको सर्टिफिकेटले अन्तर्राष्ट्रिय मान्यता पाउने भएकोले महानगरले दिएको सर्टिफिकेटको आधारमा सीटीईभीटीको परीक्षा दिन पाउनुपर्ने उनीहरुको माग छ ।
काठमाडौंको नरेफाँटकी रक्षा रुपाले महानगरबाटै फेसन डिजाइनिङको १५ दिने तालिम लिएकी छन् । उनले एक महिने सिकाइ थोरै भएको बताइन् । त्यसकारणले पनि जागिर पाइन्छ जस्तो नलागेको रक्षाले सुनाइन् । तैपनि उनले जागिरका लागि श्रम बैंकको फारम भरेकी छन् ।
‘दुई वटा कोर्स हुन्छ रे ! हामीले त एउटामात्र सिक्यौं, १५ दिनमा । त्यतिको भरमा त के काम पाइएला र, अझै सिकाएको भए पाइन्थ्यो कि’, उनले भनिन्, ‘खै के गर्ने हो ? त्यही नि फर्म त भरेको छु । जागिर पो पाउँछु कि पाउँदिनँ ?’
बिहीबार टुँडिखेलमा विभिन्न विधाका तालिम लिएका विद्यार्थीहरुलाई रोजगारदातासँग भेट गराएर जागिरको प्रवन्ध मिलाउने भनी महानगरले बोलाएको थियो । प्रशिक्षार्थीहरु आफूले सिकेको सीपको स्टलमा रोजगारदाताहरु आउने प्रतीक्षामा थिए ।
केही विद्यार्थी रोजगारदाताले लिएको अन्तर्वार्तामा सहभागी भइरहेका थिए भने कोही कसरी अन्तर्वार्ता दिने भनेर प्रशिक्षण लिइरहेका थिए । केही स्टलमा भने प्रशिक्षकले अन्तर्वार्ता फेस गर्ने विधि सिकाइरहेका थिए । दिनभरको चर्को घाममा सोचे जस्तो रोजगारदाता नआएपछि प्रशिक्षार्थीहरु निराश देखिन्थे । धेरैजसो रोजगारदाताकै पखाईमै थिए ।
सोही क्रमा कर्मकान्डी विद्यामा कुण्डलीबाट हात हेराउँदै थिए केही प्रशिक्षार्थी । त्यही भीडमा एक प्रशिक्षार्थीले रोजगारदाता आउनुहुन्छ कि हुँदैन, हात हेराउनुपर्यो भन्दै व्यंग्य गरेका थिए ।
मेलामा प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण गराउँदै थिए मेरो जब डट कमका मार्केटिङ म्यानेजर विज्ञान प्रजापति । उनले रोजगारको लागि बजारमा जाँदा के के कुरामा ध्यान दिनुपर्छ, के तयारी गर्नुपर्छ भनेर जानकारी गराएका थिए ।
महानगरको तालिमले प्रशिक्षार्थीहरुमा एक तहको आत्मविश्वास बढेको पाएको उनले बताए । ‘सीपको ग्यापलाई यो मेलाले एक स्टेप माथि पुर्याएको र उपलब्धिमूलक भएको महसुस गरेको प्रशिक्षार्थीले जानकारी गराएका छन्’, प्रजापति भन्छन्, ‘तर, तालिम सकियो । अब जबको लागि रेडी भएको हो कि होइन भनेर उनीहरुमा एक खालको दोधार पाइएको छ ।’
उनका अनुसार यहाँ डिजिटल मार्केटिङको १५ दिनको मात्रै तालिम दिइएको छ । कलेजमा ३ देखि ६ महिनाको कोर्स पढाइन्छ । जब मार्केटमा प्रतिस्पर्धामा जान १५ दिनको तालिमेले ६ महिने कोर्स लिएकासँग प्रतिस्पर्धा गर्न सकिँदैन कि भन्ने डर रहेको उनले बताए ।
‘हामीले उहाँहरुलाई यो तालिमले मात्र हुँदैन । घरमा पनि अभ्यास गर्नुपर्छ, सिक्ने कुरा कहिल्यै सकिँदैन, आफूले आफैंलाई निखार्ने कुरामा पछि नपर्नुस्, प्रतिस्पर्धा गर्न सकिएन भने बजारमा जब पाउन गाह्रो हुन्छ भनेर भनेका छौं’, प्रजापतिले भने ।
महानगरको तालिम लिएकाहरु इन्टनसीप र फेस जबको लागि मात्र तयार भएको उनी बताउँछन् । केही न केही ग्याप अझै रहेको प्रजापतिले बताए ।
काठमाडौं महानगरका मार्केटिङ अफिसर शिशिर भण्डारीले जागिरको खाँचो भएकाहरुमात्र अन्तरक्रियामा सहभागी भएको बताए ।
उनले भने, ‘रोजगारदाताहरु आउनुहुन्छ । आफैंले प्रशिक्षार्थीहरुसँग इन्टरभ्यु लिएर कतिको क्वालिफाइड छ, आफनो संस्थामा लिन योग्य छ कि छैन भनेर हेरेर उहाँहरुलाई मन परेमा छानेर रोजगारी दिन सक्नुहुन्छ । जसलाई जागिरको खाँचो छ, उहाँहरु आउनुभएको छ । स्वरोजगार गर्छु भन्नेहरु आउनुभएको छैन ।’
काठमाडौं महानगरले २ हजार ८२ जनालाई विभिन्न सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरेको थियो । ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । अटोमोबााइल्सभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (ईभी), इलेक्ट्रिकल कार रिपेयर (ईभी)लगायत छन् ।
निर्माण क्षेत्रमा सिकर्मी, टाइल एण्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधामा वारिस्ता, फुड एण्ड कुक, बेकरी, बार टेन्डिङ र वेटर तथा वेट्रेस प्रशिक्षण दिइएको थियो ।
सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी)अन्तर्गत डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटीभी क्यामरालगायत राखिएको थियो । मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम दिइएको थियो । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्सअन्तर्गत टेलरिङ, ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा सञ्चालन गरिएको थियो ।
व्युटिसियन (सौन्दर्य कला)मा नेल आर्ट, मेकअप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल र सैलुन प्रशिक्षण तथा डिजाइनिङअन्तर्गत साइन मेकिङ प्रशिक्षण गराइएको थियो । पुरोहिततर्फ सामान्य कर्मकाण्ड र ज्योतिषसम्बन्धी प्रशिक्षण गराइएको थियो ।