काठमाडौंका ४ ट्रायल सेन्टर खुल्ने अझै अनिश्चित, नयाँ मापदण्डले धेरै फेल हुने यातायातका कर्मचारीको जिकिर – Nepal Press

काठमाडौंका ४ ट्रायल सेन्टर खुल्ने अझै अनिश्चित, नयाँ मापदण्डले धेरै फेल हुने यातायातका कर्मचारीको जिकिर

काठमाडौं । काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टरमा २१ दिनदेखि ट्रायल बन्द छ । यसले हजारौं सेवाग्राही मर्कामा परेका छन् । राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहील, एकान्तकुनाका सेन्टरहरूमा अहिले ट्रायल बन्द छ । अहिले लाइसेन्सको अति अवाश्यक भएकाले काठमाडौंभन्दा बाहिर गएर ट्रायल दिरहेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टर मापदण्डअनुसार नभएको पाइएको र मनोनमानी रकम असुल्ने गरेको उजुरी आएको भन्दै बन्द गराउन निर्देशन दिएको थियो ।

ती ट्रायल सेन्टरमा तोकिएको लेआउटको क्रम नमिलेको, स्पीड ब्रेक्ररमा मेटल प्लेट राखी स्लोभ लामो बनाइएको, ट्राफिक लाइट मापदण्डअनुसार नभएको सतर्कता केन्द्रले औंल्याएको छ ।

एउटा निकायले अनुमति दिने र अर्को निकायले सञ्चालन भइरहेको ट्रायल सेन्टर मापदण्ड विपरीत भनेर पत्र काट्दा दु:ख पाएको सेवाग्राहीको गुनासो छ । अहिले ट्रायल सेन्टरले स्लोभ केही कम र लामो बनाएर सञ्चालन गरिरहेका छन् । बाइक र स्कुटरको ट्रायल एकै ठाउँबाट भइरहेको छ ।

सतर्कता केन्द्रले भने अनुसार स्लोभको उचाइ बढाउने र लम्बाई घटाउँदा ट्रायलमा फेल हुने यातायात कार्यालयका कर्मचारी नै बताउँछन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र राधेराधे भक्तपुरका सूचना अधिकारी जीवनकुमार बस्नेतले कार्यालयका प्राविधिक र मन्त्रालयको टीमले अध्ययन गरेर प्रतिवेदन तयार गरेको बताए ।

उनले भने, ‘सतर्कता केन्द्रले पत्र काट्नुभन्दा पहिले बाइक र स्कुटरको ट्रायल एउटै ट्रायल सेन्टरमा भइरहेको थियो । सतर्कता केन्द्रले काटेको पत्रमा स्लोभ कम भएको लगातका कुरा उठाएको छ । भने, धेरै परिक्षार्थी फेल भए भन्ने कुरा पनि केन्द्रले उठाएको छ । अब स्लोभ वृद्धि गर्दा ट्रायलमा धेरै फेल हुने समस्या आउन सक्छ ।’

अब मन्त्रालयले प्रतिवेदन अध्ययन गरेपछि त्यो प्रतिवेदनअुनसार नै सुधार गरेका ट्रायल सेन्टर केही दिनपछि सञ्चालन हुने उनले बताए । अहिले अनलाइन फर्म बन्द गरिएको भन्दै ट्रायल खुलेपछि पुन: भर्न सकिने बताए ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ४ वटा ट्रायल सेन्टरलाई सुधार गर्न समय दिएर सुधार भएपछिको प्राविधिक परिक्षणसहितको प्रतिवेदन मन्त्रालय आएको बताए ।

उनले भने, ‘राष्ट्रिय सतर्कता केन्द्र र यातायात व्यवस्था विभागले पत्र काटेर नै ट्रायल रोकिएको हो । ट्राफिक प्रहरीले पनि ट्रायल लिने ठाउँमा गएनन् । हामीले रोकिएको ट्रायल सकेसम्म छिट्टै खुलाउन भनेका थियौं । तर, काम गर्दै गर्दा २१ दिन भयो । अब मन्त्रालयले सुधारसहितको प्राविधिक प्रतिवेदन हेरेर सुधारपछि ट्रायल सेन्टर सञ्चालनमा आउने छन् ।’


प्रतिक्रिया

One thought on “काठमाडौंका ४ ट्रायल सेन्टर खुल्ने अझै अनिश्चित, नयाँ मापदण्डले धेरै फेल हुने यातायातका कर्मचारीको जिकिर

  1. ती ट्रायल सेन्टर सरकारले आफै संचालन गर्नुपर्छ त्य त सेटिङ्ग छ रे बजारमा व्यापक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *