क्यानडाबाट आदिवासी र आप्रवासी एकसाथ किन हुँदैछन् पलायन ? – Nepal Press

क्यानडाबाट आदिवासी र आप्रवासी एकसाथ किन हुँदैछन् पलायन ?

काठमाडौं । क्यानडाबाट पलायनको निर्णय गरेका एक नागरिकले सामाजिक सञ्जालमा भिडिओ राख्दै भनेका थिए, ‘क्यानडा पाँचतारे होटलको शुल्क लिने तीनतारे होटल हो ।’

क्यानडाले नागरिकलाई दिने सुविधाभन्दा धेरै कर लिएकोमा उनले गरेको यो टिप्पणी भाइरल बन्यो । गत मार्चमा हङकङको चर्चित अखबार साउथ चाइना मर्निङ पोस्टले यसलाई साभार गरेर क्यानेडेलीको देश छोड्ने कथाको उठान गरेको थियो ।

उसो त क्यानडाको गुप्तचर निकाय आरसीएमबीले समेत देशको बिजोग अवस्थाको चित्रण गरेकै देखिएको छ । उसको गोप्य रिपोर्ट (जुन अहिले सार्वजनिक भइसकेको छ)ले ३५ वर्षभन्दा मुनिका क्यानेडेलीलाई आफ्नो आवास किन्न सकस भएको लेखेको छ । विकसित देशहरुमा क्यानडाको यो पुस्ताले आफ्ना कैयौं पुस्ताले नपाएको तनाव पाएको उक्त रिपोर्टमा उल्लेख छ ।

देश छोड्ने क्यानेडेली नागरिकदेखि सरकारको गुप्तचरी रिपोर्टको साझा निष्कर्ष हो- क्यानडा महँगो छ । क्यानडाको बसाइ धान्न नसकिने छ ।

क्यानडाको ब्रोडसिट अंग्रेजी दैनिक नेशनल पोस्टले डेढ महिना अगाडि बनाएको एक समाचारमा क्यानडामा बस्नै नसकिने अवस्थाको चित्रण गरिएको छ । समाचारमा अमेरिकी जनसंख्याको तुलनामा पाँच गुणा बढी क्यानेडेलीले देश छोडिरहेको उल्लेख छ ।

म्याकगिल इन्स्टिच्युटको एक अध्ययन प्रतिवेदन साभार गरेर बनाइएको रिपोर्टले सन् २०१६ मा क्यानडाको ११ प्रतिशत नागरिकले देश छोडेको आँकडा दिएको छ । सो साल ४० लाख क्यानेडेलीले देश छोडेका थिए । सन् १९९० को तथ्यांकको तुलनामा यो ३६ प्रतिशत बढी हो ।

क्यानडाको सीटीभी न्यूजअनुसार क्यानडा छोड्नेहरुले धेरै रोज्ने देशहरुमा अमेरिका एक नम्बरमा छ । हङकङ चाइना, बेलायत र अस्ट्रेलिया क्रमशः दुई, तीन र चार नम्बरमा पर्छन् ।

यस्तै शीर्ष १० गन्तव्यमा दक्षिण कोरिया, चीन, जापान जस्ता एसियाली देश अटाएका छन् । अमेरिकामा १० लाख बढी क्यानेडेली पुग्दा हङकङमा तीन लाख छन् । अरु देशमा भने लाख नभएर हजारको संख्यामा छन् । उदाहरणको लागि तेस्रो ठूलो गन्तव्य बेलायतमा ७३ हजार भएको देखिएको छ ।

सन् २०१७ देखि २०१९ को समयमा नागरिकता लिएकाहरुमा क्यानडा छोड्नेको संख्या ३१ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख छ । क्यानेडेली नागरिकता लिएकाहरुले ४ देखि ७ वर्षको समयमा देश छोड्ने चलन देखिएको छ । नेशनल पोस्टले क्यानडामा जीवन धान्ने रकम धेरै महँगो भएकाले देश छोड्ने बढेको उल्लेख गरेको छ ।

क्यानडाको ब्रडकास्टर सीटीभी न्यूजसँग एक महिना अगाडि कुरा गरेकी पाकिस्तानबाट क्यानडा पुगेकी आप्रवासी नादिया बिलालले क्यानडा धैरै महँगो भएको गुनासो गरेकी थिइन् । उनले आफ्ना घरबेटीले घर भाडा २ हजार ७०० क्यानेडेली डलरबाट ३ हजार पुर्‍याएको भन्दै आफूले कोठा छोडेको बताएकी छन् ।

उनले कोठामात्रै होइन क्यानडा पनि छोड्न सकिने संकेत गरेकी छन् । आफ्ना श्रीमानको वार्षिक आय १ लाख २० हजार डलर भए पनि क्यानडा धान्न सकिने नभएको उनको दुःखेसो छ । सात वर्ष अगाडि क्यानडा बसाइ सरेर आएकी नादियाले भनेकी छिन्, ‘हामी आफ्नै घर बनाउने ल्याकत राख्दैनौं । हामीले भाडा तिर्न नै संघर्ष गर्न परिरहेको छ ।’

आप्रवासीहरुले क्यानडा छोड्ने ९ कारण

क्यानेडेली वंशज नागरिकमात्रै होइन आप्रवासीहरु पनि क्यानडा छोड्ने लहरमा उभिएको देखिन्छ । क्यानडाको आप्रवासी समाचार लेख्ने पोर्टल इमिग्रेसन न्यूज क्यानडाले सात महिना अगाडि क्यानडा छोड्नेहरुको ताँती लाग्ने कारण खुलाएर एक समाचार प्रकाशन गरेको थियो । समाचारले आप्रवासीले क्यानडा छोड्ने ९ कारण देखाएको छः

  • १. उच्च र अस्वाभाविक आकांक्षा
  • २. चाहेको इलम नपाइने
  • ३. कठ्याङ्ग्रिने चिसो
  • ४. आर्थिक सकस
  • ५. घरेलु न्यास्रो
  • ६. सुरुवात गर्नका सकस
  • ७. स्वास्थ्य समस्या
  • ८. अचाक्ली महँगो घर तथा भाडा
  • ९. महँगो स्वास्थ्य सेवा

लागुऔषध, रंगभेद तथा बेरोजगारी जस्ता समस्या पनि क्यानडाका देखिने समस्या भएको क्यानडा छोड्ने कारणहरुमा प्रमुख भएको धेरैले भन्दै आएका छन् ।

उत्तिकै सकस झेल्दै विदेशी विद्यार्थी

विदेशी विद्यार्थीहरु पुग्ने प्रमुख गन्तव्यमा क्यानडा पनि एक हो । सन् २०२४ मा विदेशी विद्यार्थीको आँकडा घटाएर ३५ प्रतिशतमात्रै पु¥याउँदा पनि क्यानडामा ३ लाख ६० हजार विदेशी विद्यार्थी पुगेको क्यानडेली सरकारको तथ्यांक छ ।

गत वैशाख २१ मा क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर सात बुँदे सूचना सार्वजनिक गरेको थियो । दूतावासले सूचनामार्फत क्यानडामा विश्वविद्यालयको वेबसाइटबाटै सूचना लिएर बुझ्न, क्यानडा आउँदा खान, बस्न र पढ्न पुग्ने खर्चबर्च जोहो गरेर आउन र क्यानडामा परिवर्तन भइरहने नियम तथा कानूनहरुको बारेमा जानकार हुन सचेत गराएको थियो ।

क्यानडामा पुगेका नेपाली विद्यार्थीहरुमा अरु अन्तर्राष्ट्रिय अज्य विद्यार्थीहरुमा जस्तै मानसिक समस्या बढेको, कोठाबाट सडकमा आएका दुःखान्त आर्थिक कथाहरु आइरहेको समयमा दूतावासले यो सूचना जारी गरेको थियो ।

क्यानडाका मूलधारका मिडियाहरुले पनि विदेशी विद्यार्थीका समस्याका बारेमा समाचार बनाएका छन् । तीन महिना अगााडि क्यानडाको सीटीभी न्यूजले भाडा तथा विश्वविद्यालय शुल्क तिर्ने पैसा नहुँदा विद्यार्थीहरु सडकमा आएको, फूड बैंकबाट खाना लिने तनाव भएको भन्दै त्यस्ता विद्यार्थीहरुमा मानसिक समस्या बढेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर