गोलकिपर विशालका बुवा सन्त भन्छन्- भाग्यको खेल भनौं या अर्कै, छोराले पनि मेरै ट्र्याक समात्यो (भिडिओ)
दम्माम । साउदी अरबको दम्माममा केही दिनअघि नेपाली समुदायले आयोजना गरेको सम्मान कार्यक्रमबाट बिदा भएर नेपाली राष्ट्रिय फुटबल टोली होटल फर्किँदै थियो । गोलकिपर विशाल सुनार भर्खरै भेट भएका बुवा सन्तसँग गफ गरिरहेका थिए ।
अधिकांश खेलाडीले बस चढिसकेका थिए । गाडी हिँड्न लाग्दा ओर्लिएर नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले विशाललाई भने, ‘तिमी अहिले बुबासँगै बस, ५ बजे ट्रेनिङमा आउनू ।’
नेपाली टोली विश्वकप छनोट खेल्न साउदी अरब आउने खबर पाएपछि उत्साही थिए सन्त । ‘भगवान खेल टाढा नभइदिए हुन्थ्यो, नजिकै भइदिए हुन्थ्यो भने लागिरहेको थियो । मेरो मनोकामना पूरा भयो । म काम गर्ने ठाउँको नजिकै रहेको रंगशालामा खेल हुने भयो’, छोरालाई झन्डै १ वर्षपछि भेट्न पाएका सन्तले खुशी साटे ।
विशाल केवल ९ महिनाका थिए जब सन्त खाडी छिरे । ‘यही छोराको लागि सोचेर विदेश लागियो । उसकै सपना पूरा गर्न भनेर अरु सन्तान पनि जन्माइएन’, सन्तले भने ।
सन्त भारतको मध्य प्रदेशमा हुर्किएका हुन् । बुबाले उतै काम गर्ने भएका कारण परिवार नै मध्य प्रदेशमा बसेको थियो । सन्त स्कुल पढ्दा खेलकुदमा सक्रिय थिए । सबैभन्दा बढी फुटबल खेल्थे । उनी गोलपोस्टमा बसेर बल रोक्थे । सन्तको चाहना थियो- नेपालको जर्सी लगाउने । ‘मेरो परिश्रम पुगेन या घरको परिस्थिति त्यस्तै भयो ! मेरो सपना अधुरै रह्यो’, उनी भन्छन् ।
सन्तले प्लस टुको पढाइ भारतमै पूरा गरे । विवाह गरेपछि पारिवारिक दायित्व थपियो । उनलाई विदेश जानु नै उत्तम लाग्यो । अर्कोतर्फ अन्तरजातीय विवाहका कारण सन्त र उनकी श्रीमतीलाई परिवारको गतिलो साथ थिएन । ससुरालीले उनीहरुलाई बोलाएको थिएन ।
उनकी श्रीमतीका लागि सन्त नै सबै थिए। विशालले बालकै छँदा एक दिन आफूलाई भनेको कुरा सम्झँदै सन्त भन्छन्, ‘बाबा एक दिन म नाम राखेर देखाउँछु । बाटामा हिँड्दा पनि ऊ विशालको बाबा जाँदैछ भनेर मान्छेहरुले भन्छन् भनेको थियो । त्यो बालकको दिमागमा त्यो कुरा कसरी आयो भनेर छक्क परेको थिएँ ।’
सन्तले विदेशमा आएर रोजगारी गरिरहँदा श्रीमतीले करिब १२ वर्ष छोरालाई भारतमै राखेर हुर्काइन् । विशाल सन् २०१३ मा नेपाल नै बस्ने गरी आमासँग रुपन्देही फर्किए । फुटबलमा उनको लगाव अनायासै बढेको थियो । बुबा जस्तै उनी पनि गोलकिपर बनेर खेल्थे ।
‘भाग्यको खेल भनौं या अर्कै, बाबुले पनि त्यही ट्र्याक समात्यो । अब चाहिँ मेरो सपना पूरा हुन्छ कि भन्ने आशा लाग्यो । बहुत खुशी छु’, सन्तले भने । हुन पनि विशालले फुटबलमा दिनदिनै आफ्नो सम्भावना बढाइरहेका छन् । १६-१७ वर्षपछि विशाल आफूलाई चाहिने जर्सी र बुटहरुका लागि परिवारसँग भरपर्न छाडेको सन्त बताउँछन् ।
तीन वर्षअघि सन्त कामकै सिलसिलामा गाडी कुदाइरहेका थिए, विशालको फोन आयो । ‘बाबा म राष्ट्रिय टोलीमा परें नि’ भनेर विशालले के सुनाएका थिए, सन्तलाई के गरौं, कसो गरौं भयो । ‘पार्किङ पनि वरिपरि देखिनँ । केही पर पुगेपछि पार्किङ भेटें र छाेरासँग मनभरिको खुशी साटें’, सन्तले सुनाए ।
त्यसयता सन्त नेपालले खेल्ने खेलहरु हत्तपत्ती छुटाउँदैनन् । छोराले खेल्ला कि भन्ने आशले उनी ९० मिनेट बितेको पत्तै पाउँदैनन्, तर उनी विशालले जति दिइसकेका छन्, त्यसैबाट तृप्त छन्।
‘म जति खुशी हुनुपर्ने हो, छोराले जति खुशी दिनुपर्ने हो, दिइसक्यो’, सन्त भन्छन् । हरेक साँझ छोरालाई सम्झँदा दिनभरिको दुःख मेटिने गरेको उनी बताउँछन् । उनलाई लाग्छ, सन्तानले राम्रो गरिदिए अभिभावकले गरेका सबै दुःखहरु भुलिदिन्छन् ।