तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुने सम्भावना बढ्यो, अध्ययन गर्न युनेस्कोको टोली नेपाल आउने
रुपन्देही । सरकारले प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्र विश्व सम्पदामा सूचीकृत हुने सम्भावना बढेको छ । सरकारको आर्थिक वर्ष २०८१।२०८२ को नीति तथा कार्यक्रममै तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदामा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरेसँगै यो सम्भावना बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।
युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो । त्यसको २८ वर्षपछि लुम्बिनी विकास कोषको पहलअनुसार विश्व सम्पदामा सूचीकृत गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारले नीति तथा कार्यक्रममै समावेश गरेको छ ।
कोषले माघ महिनामै यो प्रक्रियामा अघि बढाएको थियो, जसलाई सरकारले नीति तथा कार्यक्रममै समेटेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को)को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका थिए । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।
माघ १७ गते फ्रान्सका लागि भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्तावेज पेश गरेका थिए ।
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक पर्ने प्रमाण र आधारहरु अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनीतिक दस्तावेजमा सामेल गरेका छन् ।
प्राचीन कपिलवस्तुलाई विश्व सम्पदामा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्टमा नेपाल आउने कोषले जनाएको छ । स्थलगत अध्ययनपछि सेप्टेम्बर तथा नोभेम्बरसम्ममा कपिलवस्तु विश्वसम्पदामा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताए ।
‘हामीले सबै प्रक्रिया पूरा गरेर पठाएका छौं, तर उताबाट केही खबर आएको छैन’, उनले भने ।
युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खनन्बाट तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाणहरू जुटाइएको थियो । तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायबाट आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चितता, सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो ।
विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो । प्राचीन शाक्यहरूको राजधानी रहेको कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने पुरातत्व विभागको योजनामा लुम्बिनी विकास कोष र स्थानीय सरकारले साथ दिएका छन् । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा कपिलवस्तु दरबार त्यागेका थिए ।
तिलौराकोटलाई संरक्षित क्षेत्र घोषणा तयारीका विषयमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले सहकार्य गरेका छन् । तिनीहरुले तिलौराकोट क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक प्रमुख शर्तका रुपमा रहेको संरक्षित क्षेत्र स्मारक घोषणा कार्यक्रम अघि बढाएका थिए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यका अनुसार तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सन् १९९६ मै प्रस्ताव गरिएको थियो, तर त्यसले लामो समयसम्म सार्थकता पाउन सकेको थिएन ।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले तिलौराकोट क्षेत्रका लागि १४० बिघा जमिन अधिग्रहण गर्ने योजना रहेको बताएका थिए । संरक्षित क्षेत्र घोषणाका लागि त्यस भेगमा बसोबास गर्नेहरुसँग लिखित प्रतिबद्धता र पालिकाको निर्णय, पर्यटन प्रवर्द्धन र संरक्षणको खाकालगातयका कुराहरु पालना गर्नुपर्ने प्रावधान छ । त्यही क्षेत्रलाई नै संरक्षित स्मारक क्षेत्र घोषणा गरिनेछ । अहिलेसम्म ६२ बिघा अधिग्रहण गरिएको छ । यसवर्ष थप ५ बिघा अधिग्रहणका लागि १४ करोड बजेट विनियोजन भएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न संरक्षण स्मारक क्षेत्र घोषणाका लागि आफ्नो पूरा साथ रहेको बताए ।
‘करोडौंको आस्थाको केन्द्र रहेको तिलौराकोट क्षेत्र विश्व सम्पदामा सूचीकृत भए यसले देश र समग्र जिल्लाकै नाम चल्नेछ, यसले आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान दिनेछ’, उनले भने ।
तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद रहेको क्षेत्र तथा बुद्धको क्रीडास्थल रहेको मानिन्छ । यो स्थलमा प्राचीन पोखरी, दरबारको भग्नावशेष पर्खाललगातयका संरचना फेला परेका छन् ।
तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने बताइएको छ । पाँचौं शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्वेन साङले तिलौराकोटको भ्रमण गरेका थिए ।
सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन् गरेपछि यसको महत्व अझै बढेको हो । तिलौराकोटमा प्रसिद्ध पुरातत्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रविन कनिङ्गघमले पनि उत्खनन् गरेका छन् ।
नेपालका ८ वटा सम्पदा विश्व सम्पदामा सुचीकृत छन् । त्यसमध्ये ७ वटा काठमाडौं उपत्यकाका र एउटा लुम्बिनी रहेका छन् ।