गण्डकीका मुख्यमन्त्रीलाई मनाङे र देवकोटाको भर, विश्वासको मत पाउनेमा ढुक्क
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।
नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपूर्व नै विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । पाण्डेलाई विश्वासको मत पाउन थप ४ सांसदको आवश्यक पर्छ । पाण्डेले दुई सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिन्ह्रबाट जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटाको समर्थन पाउने आसमा बजेटअगावै विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त देखिन्छ । समर्थन पुग्ने आधार देखेपछि नीति तथा कार्यक्रम र बजेट ल्याउनुपूर्व मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको धेरैको अनुमान छ ।
‘नियुक्त भएको १२ दिनमै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँसँग विश्वासको मत लिने समय १८ दिन बाँकी थियो,’ कांग्रेसका एक सांसदले भने, ‘विश्वासको मत नपाउने भएसी बजेट अगाडि कसले विश्वासको मतको रिस्क लिन्छ ? त्यस कारण उहाँले विश्वासको मत पाउनेमा कुनै शंका छैन ।’
राप्रपाले यसअघि नै पाण्डेलाई समर्थन जनाउने ग्रिन सिग्नल दिइसकेको छ । गण्डकीमा सरकारलाई समर्थन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका थिए । उक्त पत्रमा लिङ्देनले सकारात्मक प्रतिक्रिया दिएका हुन् । तसर्थ राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने करिब निश्चित छ ।
दीपक मनाङेले पनि बहुमत पुग्ने स्थितिमा विश्वासको मत दिने वचन दिएका छन् । अहिलेसम्म पनि मनाङे सरकारलाई विश्वासको मत दिन सकारात्मक रहेको कांग्रेस नेताहरू बताउँदै आएका छन् ।
‘मनाङेको हकमा पहिले नै ३० पुर्याए, ३१ पुर्याउन आउँछु भनेर भन्नुभएको हो । त्यसमा उहाँ सकारात्मक नै हुनुहुन्छ । उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुहुन्छ,’ कांग्रेस सांसदले भने ।
राप्रपा र मनाङेले मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा सरकार जोगाउन नेसपाका सांसद देवकोटा निर्णायक हुन्छन् । माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटा अहिले प्रदेशसभामा माओवादी संसदीय दलमा छन् । गोरखाका देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको विश्वास छ । यता नेकपा माओवादी केन्द्रले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको दाबी छ । देवकोटाले ‘फ्लोर क्रस’ गरे पार्टीले कारबाही गर्न मिल्ने उनीहरू दाबी गर्छन् । उता देवकोटाले भने आफूलाई माओवादीले कारबाही गर्न नमिल्ने बताउँछन् । तर, विश्वासको मत दिने नदिने विषयमा भने पार्टीभित्र छलफल भइरहेको देवकोटा बताउँछन् ।
यदि मुख्यमन्त्रीले विश्वासको मत नपाएको खण्डमा भने सरकार ढल्नेछ । त्यसपछि संविधानको धारा १६८ को उपाधारा ५ अनुसार सरकार बन्ने छ । उपधारा ५ मा कुनै पनि प्रदेशसभा सदस्य बहुमत सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ ।
विश्वासको मत लिनुअगावै मुख्यमन्त्री पाण्डेले मंगलबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने गरी कार्यसूची प्रदेशसभा सचिवालयमा पठाइसकेका छन् ।