समानान्तर कमिटी घोषणापछि माधव नेपालका भान्जा युवा संघबाट निष्कासित, अरु पनि कारबाहीमा – Nepal Press

समानान्तर कमिटी घोषणापछि माधव नेपालका भान्जा युवा संघबाट निष्कासित, अरु पनि कारबाहीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघको विवाद उत्कर्षमा पुगेको छ । युवा संघका सहसंयोजक नितेश पौडेलले शनिबार काठमाडौंमा भेला गरेर समानान्तर अभ्यास थालेपछि विवाद चर्किएको हो ।

मातृपार्टी महाधिवेशनमा होमिएको बेलामा युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक पौडेल नेतृत्वका विषयमा विवाद हुँदा समानान्तर कमिटीको अभ्यास गर्ने तहमा पुगेको हो । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् भने विक सम्मानित नेता झलनाथ खनालनिकट हुन् ।

पौडेल पक्षले भेला राखेपछि संयोजक विकले कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेका थिए । विकले अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ जानकारी गराएका थिए।

तर, पौडेल पक्ष रोकिएन । पौडेल पक्षको भेलामा विकको नेतृत्वलाई अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । विकले महाधिवेशन नचाहेकाले आफूले समानान्तर कमिटी घोषणा गर्नुपरेको उनीहरूको भनाइ छ ।

समानान्तर कमिटीमा पौडेलले आफैं संयोजक तोकेका छन् सहसंयोजक फुर्वा तामाङ छन् । समानान्तर कमिटीले आगामी असोज पहिलो साता महाधिवेशन गर्ने जनाएको छ ।

तर, आफ्नो पक्षमा मान्छे कोही नभएपछि विधि र पद्धतिभन्दा बाहिर गएर पौडेलले अराजकता देखाएको संयोजक कृष्ण विकले बताए । उनी पौडेल पक्षको भेलालाई समानान्तर कमिटी स्वीकार्न पनि तयार छैनन् । पौडेलले आफूपछि अध्यक्षको ग्यारेन्टी मागेको तर त्यो सम्भव नभएपछि विधानविपरीत चलेको उनको आरोप छ ।

उनले भने, ‘विद्रोहपछि नरेशजीलाई अध्यक्ष मानेर हामी पदाधिकारीमा आएका हौं । तर, कमिटीभित्र कसैले उहाँलाई स्वीकार्ने अवस्था नबनेपछि म आएको हुँ । उहाँले अहिले होइन पहिला पनि अध्यक्ष र महासचिवले जारी गरेको सर्कुलरको हस्ताक्षर कपी गरेर अर्को सकुर्लर पठाउँदै किचलो झिक्दै आउनुभएको थियो ।’

उनले पार्टीभित्र दबाब सिर्जना गरेर अध्यक्ष भइन्छ भन्ने सोचेर अघि बढेपछि सफल नहुने देखिएपछि बखेडा झिकेको तर्क गरे ।

उनले थपे, ‘उहाँलाई कमिटीमा कसैले स्वीकार्ने अवस्था छैन । मलाई पार्टी नेतृत्वले नै निर्णय गरेर जिम्मेवारी दिएको हो । उहाँले पार्टीको निर्णय अस्वीकार गरेपछि अर्याल होटलमा भेला गर्नुभएको थियो । पहिला पनि पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो तर, अहिलाई स्पष्टीकरणमात्रै सोधेर आत्मालोचना गर्न लागेर छाडेका थियौं ।’

उनले पार्टी र संगठनको निर्णयविपरीत अघि बढेपछि साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको बताए । युवा संघले पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ । प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको कार्यालय सदस्य सुशील भट्टराईले बताए ।

यसअघि पनि पौडेलले दीपक मनाङेको उपस्थितिमा समानान्तर भेला गरेका थिए ।

विकले थपे, ‘अस्ति पनि पार्टी र हामीले पनि रोक्न निर्देशन मान्नुभएन । उहाँले संगठनलाई च्यालेञ्ज गर्न थालेपछि साधारण सदस्य पनि नरहनेगरी कारबाही गरिसकेका छौं । त्यसको जानकारी गराएका छौं । पार्टीमा पनि छलफल भइरहेको छ । केही दिनमै निर्णय गर्छ ।’

माधव नेपालको निर्देशनमै यो गतिविधि भएको चर्चा छ नि ! भन्ने जिज्ञासामा उनले भने, ‘माधव नेपालले त्यतिधेरै तल झरेर विधि र पद्धतिबाहिर जान भन्नुभएको छ जस्तो लाग्दैन । त्यो सत्य रहेछ भने उहाँले भन्दै आएको विधि, पद्धति, विधान, प्रक्रिया सबै लत्याउएर जाँदा मौन हुनुहुन्छ भने यो त हाम्रो लाई अनौठो कुरा हुन्छ ।’

उनले यसअघि पनि पार्टीको निर्देशनविना पहिला पटक-पटक अराजनीतिक गतिविधि गर्दै आइरहेको दोहोर्‍याए । युवा संघका पूर्वपदाधिकारी दीपक दवाडी अध्यक्ष नेपालकै निर्देशनमा समानान्तर गतिविधि भएको संकेत गरे ।

उनले भने, ‘उहाँहरूले अध्यक्षकै निर्देशनमा गरेका हौं भनिराख्नुभएको छ । विधि र पद्धतिभन्दा बाहिर गएर भेला गर्नुभएको छ । यो विषय अहिलेमात्रै होइन हामीले सबै पार्टीका नेताहरूलाई जानकारी गराइसकेका छौं । नेताहरूलाई हामीमाथि अन्थाय भयो भनेर जाँदा अन्यायको विषयमा नेता कार्यकर्तालाई झलनाथ खनालले बोल्दा माधव र झलनाथको विषयमात्रै भएन । पार्टीलाई विधि र पद्धतिअनुसार चलाउने कुरा नै मुख्य कुरा हो ।’

उनले माथि नेताहरूको चाहना र स्वार्थको कुरा भन्दा पनि संगठनलाई चलाउनु प्रमुख भएको बताए ।

उनले थपे, ‘यो विषयलाई लिएर साथीहरू पार्टी अध्यक्षकहाँ पनि जानुभएको छ । झलनाथ कहाँ पनि जानुभएको छ । तर, झलनाथले चाहिँ यो युवा संघको विवाद कृतिम विवाद हो । यसमा यो पक्षलाई नेतृत्वले वायस तरिकाले हेर्दिन हुँदैन भनेर नेतृत्व गरिराख्नुभएको छ । त्यही आधार मानेको होला ।’

उनले पार्टी महाधिवेशनको तयारीमा हुँदै गर्दा नेतृत्वमा माधव र झलनाथको बढ्दो टकराबलाई संकेत गर्दै भने, ‘महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वमा पनि हामी सबैले देखेकै हौं । यो विवादको सुरूआत पार्टी अध्यक्ष नै हो ।’

युवा संघमा नियोजित र योजनाबद्ध तरिकाले विवाद गराइएको उनको जिकिर छ ।

‘माधव कमरेडकै नेतृत्वमा बसेको पार्टीको बैठकले नै संयोजक र सहसंयोजक तोक्नुभएको थियो । तर, नितेशजीले पार्टीको निर्णय कहिले पनि मान्नुभएन’, दवाडीले भने, ‘महाधिवेशनको मुखमा आएर जुन गतिविधि भयो त्यो कहीँबाट नियोजित, प्रायोजित र योजनाबद्ध तरिकाले गरिएको भन्ने बुझिन्छ । यसलाई सच्याउन पार्टीको निकायले ध्यान दिनुपर्ने हो । यो विवादलाई पार्टी नेतृत्वले प्रयोग गरिरहेको छ त्यो राम्रो हुँदैन ।’

युवा संघको विवादको विषयमा पार्टीभित्र छलफल भइरहेको सचिव जीवनराम श्रेष्ठले बताए ।

उनले भने, ‘यो विषयमा पार्टीभित्र छलफल चलिरहेको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । केही दिनमा यसको निकास निस्केला ।’

तर, अध्यक्ष नेपालकै निर्देशनमा भेला राखिएको भनिन्छ नि ! भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘बाहिर चर्चा धेरै विषयमा हुन्छन् । यो विषयमा छलफल भइरहेको छ । बाँकी अरु केही निर्णय भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर