मूल्यवृद्धि ३.०१ प्रतिशतले घट्यो: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि १० महिनामा ३.०१ प्रतिशतले घटेको दाबी गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार २०८१ वैशाखमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।
यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ ।
२०८१ वैशाखसम्म काठमाडौं उपत्यकाको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएके छ ।
अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत रहेको थियो ।