वीरका सबै युनिटको सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन, स्वास्थ्यकर्मीको ओएनएमका लागि अनुरोध
काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आईसीयू, सीसीयू वेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले वीरका ती युनिटलाई सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । देशका संघीय अस्पतालमा रहेको आईसीयू, सीसीयूको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न पनि निर्देशन दिइएको छ । बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम सर्वेक्षण अगाडि बढाउन अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै थापाले भने, ‘स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भयो । वीर, पाटन, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको अनुगमन गर्ने निर्णय पनि गरियो । अपरेसन थिएटरहरुलाई २४सै घण्टा व्यवस्थापन गर्न समितिले निर्णय गरेर मन्त्रीलाई निर्देशन गरेका छौँ ।’
समितिले बयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाइ भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।