दिल्लीबाट फर्केर प्रधानमन्त्रीले भने- राजदूत फिर्ताको निर्णय गर्दा मेरो भारत भ्रमणबारे ध्यान गएन (भिडिओ) – Nepal Press

दिल्लीबाट फर्केर प्रधानमन्त्रीले भने- राजदूत फिर्ताको निर्णय गर्दा मेरो भारत भ्रमणबारे ध्यान गएन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ जना राजदूत फिर्ता बोलाउने समय ठीक नभएको घुमाउरो स्वीकारोक्ति गरेका छन् । मन्त्रीपरिषदले यो निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणको सम्मुखमा राजदूत फिर्ताको निर्णय हुनु संयोग मात्रै भएको बताए ।

‘राजदूतज्यू मेरो भ्रमणमा पनि सँगै हुनुहुन्थ्यो । उहाँले सक्रिय भूमिका खेल्नुभयो । मैले उहाँलाई धन्यवाद भनेर आएको छु । त्यही बेला पर्नु संयोग हो । यो कुरा त्यति ध्यान कसैको पनि गएन । क्याबिनेटमा यो कुरा प्रस्तुत त भयो । तर, दुई दिन रोक्न पनि सकिन्थ्यो । ध्यान नगएकै हो’, प्रचण्डले भने ।

प्रधानमन्त्रीले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि समस्या नआएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा गरेको टिप्पणीलाई सामान्य रुपमा लिएको उनले बताए ।

प्रधानमन्त्रीलाई पत्रकारले यो गठवन्धन टुट्ने चर्चा सुरु भएको बारे सोधेका थिए । जवाफमा प्रधानमन्त्रीले डेढ वर्षदेखि नै आफ्नो नेतृत्वको गठबन्धन टुट्ने चर्चा हुने गरेको उल्लेख गरे । ‘यो गठबन्धन टुट्दैन । पूरै कार्यकाल छल्छ, हेर्दै जानुस्’, उनले भने ।

एमाले अध्यक्ष ओलीले आफूले संसद विघटन सही थयो भनेर गरेको टिप्पणीका बारेमा उनलाई सोधिएको थियो ।

प्रधानमन्त्रीले भने, ‘उहाँले यो धारणा सँधै राख्दै आउनुभएको छ । यो उहाँको पार्टीमा राख्नुभएको धारणा हो । यसले हामीलाई कुनै असर गर्दैन । आफ्नो धारणा पार्टीमा राख्ने कुरालाई मैले असहज ठानेको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर