सवा दुई अर्ब बढी बदमासीको आरोपमा सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ – Nepal Press

सवा दुई अर्ब बढी बदमासीको आरोपमा सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ

काठमाडौं । दुई अर्बभन्दा बढी रकम बदमासी गरेको आरोपमा सेन्चुरी कमर्सियल बैंकका तत्कालीन संचालक समितिका अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ परेका छन् ।

दुई अर्ब ३० करोड ८१ लाख बदमासीमा बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष राजेशकुमार श्रेष्ठ समेतको संलग्नता देखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सोमबार उनीसहित नौ जना सञ्चालकलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका सञ्चालक समिति सदस्य सुनिलकुमार न्यौपाने, प्रा.डा.गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र बैंकका कर्मचारी शिबगोपाल रिसाल रहेका छन् । उनीहरुलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति समेत लिएर नियन्त्रणमा लिई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भइरहेको व्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिन भन्दा बाहिर गई उनीहरुले आफु अनुकुलको अवस्था सृजना गरी कम्पनीको वास्तविक कारोवार रकम भन्दा बढी कारोवार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाएका थिए ।

साथै मुल्य अभिबृद्धी करको कागज बनाएर नभएको कारोबारको स्टक तथा रिसिभेबल देखाई गलत वित्तीय विवरण तयार गरेका थिए । व्यूरोका अनुसार नक्कली लेखा परिक्षण समेत बनाई नक्कली कागजात समेतको आडमा गैरकानूनी रुपमा आ–आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरी विभिन्न शिर्षकमा धितोले खाम्ने भन्दा अत्यधिक बढी रकम जम्मा दुई अर्व ३० करोड ८१ लाख प्रवाह गरेका थिए ।

बैकिङ कसूरमा संलग्न तत्कालिन सेन्चुरी कमर्सियल बैंकका तत्कालिन सिईओ मनौज न्यौपाने समेतलाई गत फागुन १४ गते बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरि अनुसन्धानको क्रममा रहेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष, तथा पुजा ग्रुप अन्तर्गतका पुजा ट्रेडिङ एण्ड मार्केटीङ प्राली, पुजा मार्केटिङ प्राली, थ्री ब्रदर्स मार्केटिङ प्राली र अन्नपुर्ण डिष्टिलरी प्राली समेतको संचालक रहेका प्रतिवादी रबिन्द्र चौलागाईले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारी समेतका ब्यक्तिसँग मिलेमतो गरी आपराधिक मनासायका साथ नियोजित रुपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उद्देश्य राखेर प्रतिवादी रबिन्द्र चौलागाईले उनको परिवार भित्रका नातेदार समेतको नाममा माथी उल्लेखित कम्पनी संचालन गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर