जसपा नेपालको एकताको महाधिवेशन : बन्दसत्रमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै – Nepal Press

जसपा नेपालको एकताको महाधिवेशन : बन्दसत्रमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा जारी छ । आज दोस्रो दिन सुरु बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादव राजनीतिक प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दैछन् ।

बन्द सत्रमा १३ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि छलफल प्रारम्भ हुन्छ । त्यसपछि प्रतिवेदन पारित गरेर नयाँ नेतृत्व चयनमा केन्द्रित हुने सो पार्टीका नेता अर्जुन थापाले जानकारी दिए ।

प्रतिवेदनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपाको मात्रै चर्चा गरिएको छ । यी दलहरू आफ्नो लक्ष्य र उद्देश्यमा केन्द्रित नभएको प्रतिवेदनको विश्लेषण छ ।

मधेशमा छरिएर रहेका पहिचान, समावेशिता, संघीयता, सामाजिक न्यायका पक्षधर दलहरूबीच सहकार्य अथवा कार्यगत एकता गरी अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले मन र विचार मिल्ने गरेकाले उपेन्द्र यादवलाई मिलेर अगाडी बढ्न प्रस्ताव गरेका थिए । तर उपेन्द्रले राजनीतिक प्रतिवेदनमा नेकपा एसलाई नेकपा एमालेकै उपग्रही भनेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘एकीकृत समाजवादी, नेकपा (मसाल), नेकपा (विप्लव), नेमकिपा, माले आदि । यी दलहरू या त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् या त नेकपा (एमाले) कै उपग्रही विचार बोक्दछन् ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दै आए पनि एजेन्डा नै प्रष्ट नरहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षा गर्न संघर्ष जारी राख्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानद्वारा स्थापित सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिका विरूद्ध प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्र विरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेका छन् । यस्ता शक्तिहरूबाट मुलुकलाई जोगाउन हामीले एक्लै वा लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू, पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आंधीवेरी सिर्जना गर्नुपर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर