राप्रपाका प्रदेश सांसद भेलाको निष्कर्ष- कार्यभार पूरा गर्न संगठन निर्माणमा जुट्नुको विकल्प छैन – Nepal Press

राप्रपाका प्रदेश सांसद भेलाको निष्कर्ष- कार्यभार पूरा गर्न संगठन निर्माणमा जुट्नुको विकल्प छैन

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सांसदहरूका लागि आयोजित विभिन्न विषयको तीनदिने प्रशिक्षण दिएको छ।

काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्ति विकास प्रशिक्षण २०८१ प्रशिक्षण कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्ति विकासका पक्षहरू, विकास, योजना छनौट, बजेट, कानुनी एवं संवैधानिक विषयहरूमा प्रशिक्षण प्रदान गरिएको छ।

कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्ति विकासका लागि र सांसदहरूको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताए।

त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिए । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको संविधान र संघीयताले पार्ने असरका विषयमा प्रदेश सांसदहरुलाई प्रशिक्षित गरे। ।

त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरूले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठ सालोक्यले प्रशिक्षण सञ्चालन गरे।

प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष सम्बोधन गरेका थिए। सो अवसरमा अध्यक्ष लिङ्देनले सैद्धान्तिक रूपमा राप्रपा संघीयताको विरोधमा रहेपनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण र निर्देशन दिए।

दोस्रो दिनको प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण प्रदान गरे ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्ति विकास र नेतृत्व विषयमा र नेपाल सरकारका नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले प्रदेश सभा सञ्चालन, विधि निर्माण र सदस्यहरूको भूमिकामा र नेपाल सरकारका पूर्वसचिव केवल प्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा सांसदहरुलाई प्रशिक्षित गरे।

प्रशिक्षणको तेस्रो दिन राप्रपाका मुख्यसचिव समेत रहनुभएका पूर्वसचिव केदार बहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सांसद सहभागी थिए। राप्रपाको सातै प्रदेशमा गरी २८ जना सांसद रहेका छन् । जसमध्ये २ जना सभामुख र १ जना उपसभामुख पदमा रहेकाले २५ जना सांसद प्रशिक्षार्थीका रूपमा सहभागी भएको केन्द्रीय प्रशिक्षण विभागकी उपप्रमुख खुस्बु ओलीले बताइन् ।

समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षा अनुरूप योजना छनौट, विकास निर्माणमा सक्रिय हुन सांसदहरुलाई निर्देशन दिए। उनले विगतमा अनेकन जोखिम उठाउॅदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बाँकी रहेकाले पार्टीको संगठन निर्माणमा जुट्न सांसदहरुलाई अनुरोध गरे।

पूर्व अध्यक्ष पशुपति शमशेर जबराले झिनामसिना कुरालाई बेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमै देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाऊँमा अहोरात्र खट्न सांसदहरुलाई अनुरोध गरे ।

सहभागी प्रशिक्षार्थी सांसदहरुलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र प्रदान गरे। भने विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानले प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरे।

सांसदहरुलाई प्रदान गरिएको तीनदिने प्रशिक्षण कार्यक्रमका लागि अमेरिका निवासी पार्टीका शुभचिन्तक आमोद कटुवालले र सिरिन वेलनेस, अर्ग्यानिक अनलाइनको समेत विभिन्न प्रायोजन गरेको गरेको उपप्रमुख ओलीले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर